व्यापक रुपमा सुधारिँदै अनलाइन भुक्तानीको प्रचलन, मोबाइल बैंकिङ्ग र क्यूआर कोडमा आकर्षण « Arthapath.com
२७ चैत्र २०८०, मंगलवार

व्यापक रुपमा सुधारिँदै अनलाइन भुक्तानीको प्रचलन, मोबाइल बैंकिङ्ग र क्यूआर कोडमा आकर्षण



काठमाडौं । डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण थप चुलिँदो छ। पछिल्लो समय डिजिटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रूपमा अघि बढेको हो । 

दैनिक रूपमा बैंकिङ्ग कारोबारमा डिजिटल उपकरणहरू पनि थपिँदै गएका छन् । उपकरणसँगै प्रयोगकर्ताहरूको सङ्ख्या पनि उत्तिकै बाक्लो बन्दै गएका छन् । स्मार्ट मोबाइल फोन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल कारोबारमा पनि बढोत्तरी देखिएको छ । 

राष्ट्र बैङ्कका अनुसार नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, वालेट, क्युआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेका पाइन्छ । राष्ट्र बैङ्कका अनुसार क्विक रेस्पोन्स (क्युआर), मोबाइल बैङ्किङ, वालेट लगायतका उपकरणमा सर्वसाधारणको बढी नै आकर्षण बढेको हो । 

चालु आर्थिक वर्षको आठ महिना अर्थात् साउनदेखि फागुनसम्म मोबाइल बैंकिङ्ग मार्फत झन्डै ३ खर्ब बराबरको कारोबार भएको छ । समीक्षा अवधिमा २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन गत असार मसान्तसम्मको तुलनामा भने २५.०६ प्रतिशत बढी हो । गत असार मसान्तसम्ममा मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ  बराबरको कारोबार भएको थियो ।

गत माघ मसान्तसम्ममा पनि कुल २ खर्ब ८९ अर्ब ३८ करोड ७० लाख बराबरको कारोबार भएको थियो । गत वर्षको फागुन मसान्तसम्मको तुलनामा भने ५२.१९ प्रतिशत बढी हो । आठ महिनाको अवधिमा मोबाइल बैंकिङ्ग ३ करोड २४ लाख ६२ हजार ९५४ पटक कारोबार भएको राष्ट्र बैङ्कले जनाएको छ । हाल नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या  कुल २ करोड ३७ लाख ८३ हजार ३८९ रहेको छ । 

यस्तो डिजीटल कारोबारको आँकडा

डिजिटल कारोबार मार्फत एक बैङ्कबाट अर्को बैङ्कको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरूको किनमेल, टेलिफोन, विद्युत्, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । 

राष्ट्र बैङ्कका अनुसार साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्युआर कोडमा आधारित भुक्तानी पनि ह्वात्तै बढेको छ । एक वर्षको अवधिमा क्युआर कोड मार्फत हुने कारोबार शतप्रतिशत बढेको छ । गत वर्षको फागुन मसान्तसम्ममा २० अर्ब ७७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तर, चालु आवको सोही अवधिमा भने दोब्बरले बढेर ४२ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा १ करोड ४२ लाख ९१ हजार ८७७ पटक क्युआर कोड मार्फत कारोबार भएको छ । 

सरकारले पनि डिजिटल पेमेन्टलाई बढवा दिन विभिन्न पेमेन्ट कम्पनीहरूलाई आफ्नो पेमेन्ट सिस्टममा जोडेको छ । ई सेवा, खल्ती, फोन पे, आइएमई पे जस्ता माध्यमबाट सरकारी सेवाको शुल्क तिर्न सकिने व्यवस्था समेत गरेको छ । 

राष्ट्र बैङ्कका अनुसार वालेट मार्फत हुने कारोबार पनि व्यापक मात्रामा सुधार भएको छ । चालु आवको आठ महिनामा २४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  जुन गत वर्षको फागुन मसान्तसम्मको तुलनामा भने ३२.२९ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा वालेट मार्फत १८ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आवको फागुन मसान्तसम्ममा कुल २ करोड २४ लाख १० हजार ३२१ पटक वालेट मार्फत कारोबार भएको छ । 

वालेट मार्फत बैङ्क खातामा पैसा जम्मा गर्ने, इन्टरनेट, पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्ज लगायत थुप्रै सेवा सुविधा यसमा हुन्छन् । हाल नेपालमा ई सेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेट जस्ता अन्य वालेट कम्पनीले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । यसको दायरा बढेसँगै प्रयोगकर्ता र कारोबार रकम पनि बढ्दै गएको हो । हाल यसको प्रयोगकर्ता २ करोड १६ लाख ३३ हजार ६०१ पुगेको छ । 

वालेट कारोबार प्रचलनमा आएको केही वर्ष मात्रै भएको छ । तर, प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको राष्ट्र बैङ्कले जनाएको छ। वालेटको व्यावसायिक विकास हुँदै गएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक रूपमा सुरक्षित पनि रहेकोले यसको प्रयोगकर्ता र कारोबार रकम बढेको बताइन्छ ।

कुन उपकरणको प्रयोगकर्ता कति ?


प्रतिक्रिया दिनुहोस्