५ महिनामा १ हजारभन्दा धेरैले विजनेश भिसामा नेपाल घुमे, लगानी भने घटेको घट्यै « Arthapath.com
१ पुष २०७९, शुक्रबार

५ महिनामा १ हजारभन्दा धेरैले विजनेश भिसामा नेपाल घुमे, लगानी भने घटेको घट्यै



काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा १ हजार भन्दा धेरै विदेशी लगानीकर्ताले नेपाल घुम्ने प्रयास गरेका छन् । उद्योग विभागका अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म १ हजार ३२ जनाले विजनेश भिसा र गैर पर्यटक भिसाका लागि सिफारिस लगेका थिए । नेपालमा लगानी गर्ने उद्देश्यले भ्रमण गर्ने विदेशीहरु विजनेश भिसामा आउने गर्छन् । यसका लागि उद्योग विभागबाट सिफारिस लिनुपर्छ ।

गत विहीबारसम्म ७ सय ५३ लगानीकर्ताले विजनेश भिसाका लागि सिफारिस लिएका छन् । लगानीकर्ताको प्रतिनिधी बनेर आउने ८० जनाले पनि यस खाले सिफारिस पाएका छन् । लगानीकर्ता वा तिनका प्रतिनिधीसँग आश्रित रहनेगरी नेपाल घुम्न आउनेले पनि यसखाले सिफारिस लिनुपर्छ । हालसम्म १९७ जनालाई यस खाले सिफारिस दिइएको विभागको विदेशी लगानी तथा प्रविधी हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताए ।

विभागका अनुसार गैर पर्यटक भिसाका लागि पनि २ जनाले सिफारिस लिएका छन् । विज्ञापनमार्फत् नेपालमा रोजगारी गर्न आउने एक जना र प्रविधी हस्तान्तरण सम्झौता गर्न आउने एक जनाले यस्तो सिफारिस लिएका हुन् ।

विजनेश भिसा लिएर नेपाल घुम्नेको संख्या उल्लेख्य भए पनि लगानी भने बढ्न सकेको छैन । उद्योग विभागका अनुसार गत साल साउनदेखि मंसिरसम्म १२२ आयोजनामा २९ अर्ब ९५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको थियो । तर यो वर्ष यही अवधिमा १११ वटा आयोजनामा केवल १२ अर्ब ४५ करोडभन्दा कममात्रै लगानी प्रतिबद्धता आएको छ । यसरी लगानी प्रतिबद्धता झण्डै दुई तिहाईले घट्नुमा केही आन्तरिक र केही बाह्य कारण छन् ।

गएको साउनदेखि असोज मसान्तसम्ममा जम्मा १ करोड ४७ लाख अमेरिकी डलर विदेशी लगानी नेपाल भित्रिएको र यहीबीचमा लाभांश एवम् लगानी फिर्ताको नाममा १ करोड ४२ लाख अमेरिकी डलर बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । यसको मतलव यो वर्ष नेपालमा खुद ५ लाख डलरमात्रै विदेशी लगानी थपिएको छ । यो गत वर्षको तुलनामा ९८ प्रतिशत कम हो ।

गाडी, मोटरसाइकल, मोबाइल र मदिरामा लगाइएको आयात प्रतिबन्ध हट्यो, तर छैन अपेक्षित सुधार
काठमाडौं । केही विलासी वस्तुको आयातमा सरकारले गत वैशाखदेखि लगाएको प्रतिबन्ध शुक्रबारबाट हटेको छ । सबै प्रकारका विदेशी मदिरा, निजी गाडी तथा कार, जीप र भ्यान, ३ सय अमेरिकी डलरमाथिका स्मार्ट फोन एवम् १ सय ५० सीसीमाथिका मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध हटाइएको हो । सरकारले केही दिनअघिमात्रै पुस १ बाट त्यस्ता सबै प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

विदेशी मुद्राको सञ्चिति घटेर अर्थतन्त्रमै समस्या पर्ने स्थिति आएपछि नेपाल राष्ट्र बैंकको सुझावमा सरकारले विलासी वस्तुको आयातमा वैशाख १३ देखि प्रतिबन्ध लगाएको थियो । रंगीन टीभी, सबै प्रकारका खेलौना, कुरमुरे, कुरकुरे, लेज लगायत वस्तुको आयातमा लगाइएको प्रतिबन्ध भने भदौ १४ मा फुकुवा गरिएको थियो ।

यद्यपि, प्रतिबन्ध लगाउनु अघिको अवस्थासँग तुलना गर्दा अहिले पनि अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छैन । गत चैत मसान्तमा ९ अर्ब ६१ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा गत कात्तिक मसान्तसम्म आउँदा ९ अर्ब ६३ करोड डलर पुगेको छ । राष्ट्र बैंक स्थापना भएको ५५ वर्षमा जति विदेशी मुद्रा सञ्चिति भएको थियो, त्यति नै बराबरको विदेशी मुद्रा १ वर्षमै रित्तिएको नेपालमा २ करोड डलर बढ्नुले कुनै अर्थ राख्दैन ।


प्रतिक्रिया दिनुहोस्