नेपाली पर्यटनमा बाउन्स ब्याकसंगै जुरमुरायो होटेल व्यवसाय: साढे ३ अर्ब बढीको व्यापार, १७.३१ गुणाले बढ्यो नाफा « Arthapath.com
२ जेष्ठ २०८०, मंगलवार

नेपाली पर्यटनमा बाउन्स ब्याकसंगै जुरमुरायो होटेल व्यवसाय: साढे ३ अर्ब बढीको व्यापार, १७.३१ गुणाले बढ्यो नाफा



काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य मात्रामा बढदै गएको छ ।

पर्यटक आगमन बाक्लिन थालेसंगै नेपाल संचालित होटेलहरुको व्यापारले पनि गति लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार औसतमा झण्डै १ लाख विदेशी पर्यटक मासिक रुपमा आउने गरेका छन् ।

कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय पछिल्लो समय गति लिन थालेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन निकै प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

बोर्डको तथ्याङ्क अनुसार नेपालमा पर्यटन ९०.२८ प्रतिशतले पुनरुत्थान भएको हो । यो २०१९ को तुलनामा हो । २०१९ मा १ लाख ९ हजार ३९९ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । पछिल्लो समय फेरि पर्यटन व्यवसाय लयमा फर्किन लागेको तथ्याङ्कले नै देखाउँछ । कोरोना महामारी अघिकै अवस्थामा आउन सक्ने देखिएको छ । बोर्डका अनुसार सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना विदेशी पर्यटक हवाई मार्ग मार्फत नेपाल आएका छन् । जुन गत वर्ष (सन् २०२२, अप्रिल) को तुलनामा ६०.४० प्रतिशतले बढी हो । गत वर्षको समिक्षा महिनामा कुल ६१ हजार ५८९ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटकको चहलपहलमा बढोत्तरीले नेपाली होटेलहरुको व्यापार पनि फस्टाउँदै गएको छ । कोभिड महामारीको नियन्त्रणसंगै पर्यटकी गतिविधि विस्तारै चलायमान हुँदै गएको छ ।

होटेल तथा पर्यटन क्षेत्रका पाँच वटा कम्पनी हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् । नेप्सेमा सोल्टी होटेल, तारागाँउ रेजेन्सी, कालिञ्चोक दर्शन, चन्द्रागिरी हिल्स् र ओरियण्टल होटेल सूचीकृत छन् । यी पाँचै वटा कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार कम्पनीहरुमा नाफामा उल्लेख्य वृद्धि भएको छ । चालु आवको ९ महिनामा यी कम्पनीहरुले ७७ करोड ४ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा १६३१.२२ प्रतिशत अर्थात १७.३१ गुणाले बढी हो । गत आवको समिक्षा अवधिमा कम्पनीले ४ करोड ४५ लाख ५ हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।

यी पाँच वटा होटेलले ९ महिनामा ३ अर्ब ७९ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ९६ प्रतिशतले बढेको छ । गत आवको समिक्षा अवधिमा भने यी होटेलहरुले १ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।

अब हेरौ सूचीकृत पाँच होटेलको प्रगति कस्तो ?

गत वर्ष नोक्सानी व्यहोरेको चन्द्रागिरी हिल्सका नाफामा उल्लेख्य सुधार

चन्द्रागिरी हिल्सले ९ महिनामा ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको चैत मसान्तसम्ममा ऋणात्मक रहेको यस कम्पनीले यस वर्ष भने उल्लेख्य सुधार गरेको छ ।

गत आवको समिक्षा अवधिमा कम्पनी १ करोड ५८ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको सञ्चालन आम्दानी वृद्धि भएपछि नाफा पनि बढ्न पुगेको हो । पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले कम्पनीको सञ्चालन आम्दानीमा आएका बढोत्तरीले नाफा वृद्धि भएको हो । चालु आव ९ महिनामा कम्पनीले ६२ करोड ९० लाख २२ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । तर, कम्पनीको जगेडा कोष भने ३० करोड ७८ लाख ९८ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९३ पैसा रहेको छ ।

५.५६ गुणाले बढ्यो तारागाँउ रिजेन्सी नाफा, ६१ करोड ७६ लाखको व्यापार

तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । होटल्सले चालु आर्थिक वर्षको ९ महिनामा साढे १९ करोड बढी रुपैयाँले नाफा बढाएको छ ।

समिक्षा अवधिमा कम्पनीले २३ करोड ८८ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आवको समिक्षा अवधिका तुलनामा भने ४७६.५१ प्रतिशत अर्थात ५.७६ गुणाले बढी हो । तर, गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड १४ लाख २९ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

पछिल्लो समय पर्यटन गतिविधि र आर्थिक क्रियाकलाप वृद्धिसंगै होटेल्सको नाफा बढेको हो । समिक्षा अवधिमा कम्पनीले ९० करोड ६१ लाख ७६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन, गत आवको समिक्षा अवधिको तुलनामा भने ४८ करोड ७८ लाख बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४१ करोड ८२ लाख ९५ हजार रुपैयाँको मात्रै व्यापार गरेको थियो । सो अवधिमा कम्पनीको अन्य आम्दानी पनि बढेर १० करोड ९३ लाख ७० हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी भने १ अर्ब १ करोड ५५ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

होटेल्सको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५ हजार रुपैयाँ पुगेको छ । जगेडा तथा कोषमा भने ५१ करोड ३९ लाख ४० हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६९ पैसा छ ।

सोल्टी होटेलको नाफामा छलाङ, ३७ करोड ११ लाख नाफा कमायो

सोल्टीले होटेलको खुद नाफामा उल्लेख्य मात्रामा वृद्धि भएको छ । चालु आवको ९ महिनामा होटेलको नाफा २४१.७९ प्रतिशतले वृद्धि भई ३७ करोड ११ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आवको चैत मसान्तसम्ममा भने कम्पनीको यस्तो नाफा १० करोड ८५ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

पर्यटन व्यवसायमा आएको सुधारले नै होटेलको संचालन नाफा बढेको छ, जसले खुद नाफा वृद्धिमा टेवा पुगेको छ । ९ महिनामा होटेलले १ अर्ब ५० करोड ९२ लाख ८४ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन गत वर्षको भन्दा १०२.८९ प्रतिशतले बढी हो । गत आवको होटलले ७४ करोड ३८ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सोल्टीको चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष पनि ४८.४० प्रतिशतले बढेर १ अर्ब ३ करोड ६१ लाख ९२ हजार रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर आम्दानी ४ रुप्ैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ भने २१ रुपैयाँ ७१ पैसा रहेको छ ।

१५७ प्रतिशतले बढायो ओरियण्टल होटेलले नाफा, साढे ६९ करोडको व्यापार

ओरियण्टल होटेलको नाफामा पनि बढोत्तरी देखिएको छ । कम्पनीको नाफा खुद नाफामा १५७ प्रतिशतको बढोत्तरी देखिएको छ । गत वर्षको चैत मसान्तसम्ममा १० करोड ५२ लाख ९१ हजार रुपैयाँ घाटामा रहेको थियो । तर, यस वर्षको सोही अवधिमा आईपुग्दा कम्पनीले ६ करोड बढी खुद नाफा गर्न सफल भएको छ ।

सो अवधिमा कम्पनीले ६९ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, गत आवको चैत मसान्तसम्ममा कम्पनीको व्यापार २८ करोड ३० लाख रुपैयाँ मात्र थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ कायम भएको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९३ करोड १५ लाख रुपैयाँ राखेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १७.७९ प्रतिशतले बढी हो । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ५७ पैसा देखिएको छ ।

४५.७९ प्रतिशतले बढ्यो कालिञ्चोक दर्शनको नाफा

कालिञ्चोक दर्शनले ९महिनमा २ करोड २७ लाख रुपैयाँ बढी नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ४५.७९ प्रतिशतले मात्र बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ बढी नाफा कमाउन सफल भएको थियो ।

चालु आवको ९ महिनामा कम्पनीले ५ करोड ३७ लाख रुपैयाँ बढीको व्यापार गरेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा १७ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ४ करोड ८२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यसका साथै कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि १ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहको छ । कम्पनीको जगेडा तथा कोष भने १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्