विश्वको जनसंख्या ८ अर्ब नाघ्यो, यसरी बदलिँदै छ संसारको जनसांख्यिक मानचित्र « Arthapath.com
२९ कार्तिक २०७९, मंगलवार

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो, यसरी बदलिँदै छ संसारको जनसांख्यिक मानचित्र



काठमाडौं । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले मंगलबार पृथ्वीको जनसंख्या ८ अर्ब पुगेको अुनमान गरिएको घोषणा गर्यो । सन् २०११ मा संसारको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा अर्को १ अर्ब थपिएको हो । पछिल्लो २०० वर्षमा संसारको जनसंख्या ७ गुणा बढिसकेको राष्ट्र संघले बताएको छ ।

लामो समयदेखि संसारको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकको पहिचान बनाएको चीन अब आउँदो वर्षदेखि नै दोस्रोमा झर्ने छ । २०२३ मै भारतले चीनलाई जनसंख्यामा उछिन्ने अनुमान राष्ट्रसंघीय निकायको छ । उक्त प्रतिवेदनले आउँदो दशक संसारमा जति जनसंख्या बृद्धि हुन्छ, त्यसको आधा जनसंख्या केवल ८ देशमा केन्द्रित हुने अनुमान गरेको छ ।

अवको दशक कंगो, इजिप्ट, इथिओपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र ताञ्जानियामा जनसंख्या उच्च दरले बढ्ने अनुमान गरिएको छ । बाँकी विश्वमा यी ८ देशकै हाराहारीमात्रै जनसंख्या बढ्ने छ ।

नेपालको स्थिति

क्षेत्रफलको हिसाबले संसारको ९५ औं (भू–क्षेत्रफलको हिसाबले ९४ औं) स्थानमा रहेको नेपाल जनसंख्याको हिसाबले भने संसारको ४९ औं ठूलो देश हो । तर जनघनत्वका हिसाबले मापन गर्ने हो भने नेपालको स्थान ७४ औं हुन्छ । यति सानो भूगोल र न्यून जनसंख्या भएकाले नेपाल आफैंमा जनसंख्या बृद्धिको यो रफ्तारमा सहभागि हुने देखिन्न । तर हाम्रो देशको जनसंख्या पनि संसारका धेरै मुलुकको तुलनामा तीव्र दरमा बढ्ने छ ।

अहिले नै ३० देशको जनसंख्या घट्दो क्रममा देखिएका छन्, जसमा पोल्याण्ड, इटली, पोर्चुगल, जापान, ग्रीसजस्ता विकसित मुलुकहरु पर्छन् । रुस, स्पेन र दक्षिण कोरियाजस्ता मुलुकको जनसंख्या बृद्धिदर ०.१ प्रतिशतभन्दा कम भइसकेको छ । यी देश पनि ऋणात्मक बृद्धितर्फ अघि बढेका छन् । वल्डोमिटरले नेपाललाई संसारमा उच्च दरमा जनसंख्या बढिरहेका मुलुकहरुको सूचिमा ५९ औं स्थानमा राखेको छ । यो पृथ्वीका स्वतन्त्र देश र कयौं स्वशासित क्षेत्र एवम् टापुहरु समेटेर संसारभर २३५ वटा देश रहेको भन्ने तथ्यांकका आधारमा तय गरिएको हो ।

उथलपुथल हुँदै संसारको मानचित्र

राष्ट्र संघकै आर्थिक तथा सामाजिक मामिला विभागले सन् १९५० यता संसारको जनसंख्या बृद्धिदर सबैभन्दा सुस्त भएको बताएको छ । अब सन् २०५८ मा जनसंख्या १० अर्ब पुग्ने र २०८० सम्म १० अर्ब ४० करोड पुग्ने अनुमान गरिएको छ । यसले भविष्यमा पृथ्वीलाई मानिसको भार त बढ्ने छ, तर बृद्धिको दर भने सुस्ताउने प्रक्षेपण छ ।

सन् २०१ देखि सन् २१०० सम्मको जनसंख्या (प्रक्षेपितसहित) ।
स्रोतः वल्डोमिटर।

सन् १९५० मा पृथ्वीको जनसंख्याको ३६.७ प्रतिशत चीन र भारतमा थियो । अहिले पनि यो हिस्सा खासै बदलिएको त छैन, तर ३६.२ प्रतिशतमा झरेको छ । रुस, जापान, जर्मनीजस्ता मुलुकहरु शीर्षस्थानबाट पछाडी धकेलिएका छन् । इण्डोनेसिया, पाकिस्तान, ब्राजिल, नाइजेरिया र बंगलादेशजस्ता मुलुक निकै अघि आएका छन् । सन् २०५० सम्म पुग्दा भारत संसारको झण्डै १७ प्रतिशत आवादी बोकेर सर्वाधिक जनसंख्या भएको मुलुक बनिसक्ने छ । अमेरिकालाई उछिनेर नाइजेरिया (जो अहिले सातौं नम्बरमा छ) जनसंख्यिक हैसियतमा संसारको तेस्रो ठूलो मुलुक बनिसक्ने छ ।

यस्तो छ इतिहास

संसारमा मानिसहरुले खेतिपाति गर्न थाल्दाताका अर्थात् आजभन्दा १० हजार वर्षअघि पृथ्वीको जनसंख्या ५० लाख हाराहारी रहेको अनुमान छ । इस्वीसम्बत् सुरुहुँदासम्मको ८ हजार वर्षमा जनसंख्या बढेर कम्तिमा २० करोड पुगेको हुनसक्ने अनुमान पश्चिमा विद्वानहरुले गरेका छन् । यद्यपि, कतिपयले ईश्वी सम्वत् १ को जनसंख्या ३० करोडदेखि ६० करोडसम्म पनि हुन सक्ने अनुमान गरेका छन् ।

मान्छेले भरिएको संसार ।

सन् १८०० तिर आएर संसारको जनसंख्या १ अर्ब पुगेको अनुमान छ । त्यसको १३० वर्षपछि सन् १९३० मा विश्व जनसंख्या २ अर्ब पुग्यो । अर्को १ अर्ब थपिन केवल ३० वर्ष (सन् १९६० सम्म)मात्रै लाग्यो । त्यस पछिको १५ वर्ष (सन् १९७४)मा अर्को अर्ब पनि थपियो । पाँचौं पटक अर्ब थपिन जम्मा १३ वर्ष (सन् १९८७) लाग्यो ।

१२ अक्टोबर १९९९ मा विश्व जनसंख्या ६ अर्ब पुगेपछि राष्ट्र संघले नै २०१३ मा ७ अर्ब, २०२८ मा ८ अर्ब, २०५४ मा ९ अर्ब र यो शताब्दी सकिनुअघि नै १० अर्ब नाघ्ने अनुमान गरेको थियो । तर यो प्रक्ष्येपणभन्दा ६ वर्षअघि नै विश्वको जनसंख्या ८ अर्ब नाघिसकेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्