अब भारत घुम्न जाने नेपालीले नागरिकताकै आधारमा भारतीय सीमाकार्ड पाउने « Arthapath.com
८ फाल्गुन २०८०, मंगलवार

अब भारत घुम्न जाने नेपालीले नागरिकताकै आधारमा भारतीय सीमाकार्ड पाउने



काठमाडौं । अब नेपालीले भारतमा जाँदा भारतीय सीमकार्ड प्राप्त गर्न सक्ने भएका छन् । यो सुविधा भारतमै रहिरहेका नेपालीका हकमा पनि लागू हुने छ । यसका लागि भारतीय आधार कार्ड बनाउनु आवस्यक हुने छैन ।

यसअघि भारतीय आधारकार्ड भएका नेपालीले मात्रै सीमकार्ड लिन पाउँथे । कानूनतः भारतमा मताधिकारबाहेक नेपालीले भारतीय नागरिककै सरह सुविधा प्राप्त गर्न सक्छन् । तर यसै व्यवस्थाका कारण नेपाली र भुटानीले सीमकार्ड प्राप्त गर्न सकिरहेका थिएनन् ।

नेपाली र भुटानी नागरिकका लागि भारत जान प्रवेशाज्ञा (भिसा) लिनु पर्दैन । यी देशका नागरिक आफ्नो राहदानीका साथसाथै नागरिकताको प्रमाणपत्र वा मतदाता प्रमाणपत्र देखाएर पनि भारत जान सक्छन् । स्थलमार्गबाट भारत पुग्नका लागि त यस्ता कुनै प्रमाणहरु देखाइरहनै पर्दैन ।

तर दूरसञ्चार कम्पनीहरुले भिसाका आधारमा मात्रै सीमकार्ड दिने भएकाले नेपाली र भुटानी नागरिकका लागि यो एक असहजता बनेको थियो । आफ्नो प्रयत्नपछि भारत सरकार अतिशीघ्र नेपाली र भुटानी नागरिकलाई सीमकार्ड उपलब्ध गराउन सहमत भएको भारतका लागि नेपाली राजदूर डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

खुला सीमा, सस्तो बजार, कयौं तीर्थस्थल र स्तरीय उपचारका लागि नेपालीहरु भारत आउजाउ गरिरहन्छन् । त्यहाँ काम वा अध्ययन वा अन्य प्रयोजनका लागि जानेहरुलाई पनि सुरुवाति समयमा असहजता भोग्नु पर्ने हुन्छ । तर आधार कार्ड बनाइसकेपछि उनीहरुले सीमकार्ड लिन पाउँथे । छोटो समयका लागि पुग्नेहरुले भने त्यहाँ सीमकार्ड प्राप्त गर्न नसकेपछि थुप्रै अप्ठेरो अवस्थाहरु सामना गर्दै आएका थिए ।

भारतको सञ्चार मन्त्रालयले पनि सोमबार एक सूचना जारी गरेर नेपाली र भुटानी नागरिकलाई सीमकार्ड उपलब्ध गराउने निर्णय गरेको भनेको छ । उक्त सूचनामा नेपाल र भुटानका नागरिकले आफ्नो नागरिकताको प्रमाणपत्र वा सम्बन्धित देशका निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र वा भारत स्थिति नेपाल र भुटानका राजदूतावासले जारी गरेको तस्वीरसहितको प्रमाणपत्रका आधारमा सीमकार्ड उपलब्ध गराउने उल्लेख छ ।

तर यदी नेपाल वा भुटानका नागरिकले आफ्नो मूल देशभन्दा बाहेकका अन्य स्थानबाट भारत प्रवेश गरेमा उसले बैधानिक भिसा टिकटसहितको राहदानी उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । यस्ता सीमहरु बढीमा तीन महिनाका लागि उपलब्ध गराउने र ती सीमकार्डबाट कुनै पनि अन्तरराष्ट्रिय रोमिङ कल गर्न नपाइने भनिएको छ ।

यसको मतलव, इन्टरनेटबाटमात्रै नेपालीहरुले आफ्नो परिवारसँग सम्पर्क गर्न पाउने छन् । भारतभित्र फोन गर्न भने पाइने छ ।

तीन महिनाभन्दा बढी समय बस्न चाहने नेपालीले भने आधार कार्ड बनाएर त्यसमार्फत् सीम निकाल्न सक्छन् । यस्ता सीम भने भारतको स्थायी बासिन्दाकै लागि प्राप्त भएजस्तो लामो समय चलाउन र अन्तरराष्ट्रिय कल गर्न उपयोग हुने छ ।

नेपाल र भुटान बाहेकका देशका नागरिकले भने यसअघि पनि विमानस्थलमा ओर्लने वित्तिकै त्यहाँको सीमकार्ड प्राप्त गर्न सन्ने व्यवसथा थियो । उनीहरुले बैध भिसा टिकटका आधारमा सीमकार्ड प्राप्त गर्दै आएका छन् ।

भारतले सन् २०१२ को अगस्टमा एक निर्देशन जारी गरेर नेपाली र भुटानी नागरिकलाई यहाँको राहदानी वा अन्य कागजातको आधारमा सीमकार्ड उपलब्ध नगराउने निर्णय गरेको थियो । करीब १४ वर्षपछि यो व्यवस्था उल्टिएको भारतस्थित नेपाली दूताबासका अधिकारीहरुले जनाकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्