न्यासिम खोला जलविद्युत आयोजनामा आगजनी तथा तोडफोड: १२ करोडको क्षति, लगानीको वातावरण बनाउन ईप्पानको माग
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित सीता हाइड्रोपावरले निर्माण गरिरहेका न्यासिम खोला जलविद्युत आयोजनामा आगजनी तथा तोडफोड भएको छ ।
सोमबार सो आयोजनाको निर्माणस्थलमा एक समूहले आगजनी, तोडफोड तथा कर्मचारीमाथि सांघातिक आक्रमण भएको हो । सोही दिन अर्थात फागुन १५ गते बिहान ११ बजे गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको दुखद निधन भएको छ । सोही घटनालाई आधार बनाएर करिब ६० जनाको समूहले योजनाबद्धरुपमा हाइड्रोपावर निर्माणस्थलमा आएर तोडफोड, आगजनी र कर्मचारीहरुमाथि आक्रमण भएको सीता हाइड्रोपावरका अध्यक्ष सीताराम तिमल्सिनाले बताए ।
स्वतन्त्र उर्जा उत्पादक संस्था, नेपाल (इप्पान) र सीता हाइड्रोपावरद्वारा बुधवार काठमाडौंमा आयोजित संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै सो घटनाप्रति घोर भर्त्सना तथा निन्दा गरेका छन् । अध्यक्ष तिमल्सिनाका अनुसार आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत गृह, सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ । सो समूहको आक्रमणवाट इन्जिनियरसहित ७ जना घाइते भएको । घाइतेमध्ये एक इन्जिनियरको मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको बताइएको छ । उनले भने,–‘सो समूहले क्रसरमा आगजनी गर्नुका साथै ट्रिपर, स्काईभेटर समेत तोडफोड गरेको छ । आक्रमणबाट करिब १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।’
आक्रमण सुनियोजित र योजनाबद्ध भएको उनको आरोप छ । उनले भने,–‘ विद्युत प्राधिकरणको वितरण लाईनसँग आयोजनाको कुनै सम्बन्ध नरहेको बारेमा आक्रमणमा संलग्न वडाध्यक्ष र वडासदस्यसहितको उक्त समूहलाई जानकारी नहुने कुरै थिएन । तिनीहरुको नियत र उद्देश्य आयोजना प्रवर्द्धकलाई मानसिक भय र त्रास उत्पन्न गराएर आगामी दिनमा अनुचित लाभ प्राप्त गर्नु रहेको स्पष्टै देखिन्छ ।’
क्षतिको पुर्नस्थापना गरी आयोजना सुचारु गर्न एक वर्ष कम्तीमा लाग्ने र यसको कारणले उत्पादनको वर्ष कम्तीमा एक वर्ष धकेलिने अवस्थाको सिर्जना भएको अध्यक्ष तिमल्सिनाले बताए । करेन्ट लागेर निधन भएकी बालिकाको परिवारलाई विद्युत प्राधिकरणबाट उचित क्षतिपूर्ती हुनेमा उनको विश्वास छ ।
उनले भने,–‘विद्युत ऊर्जा उत्पादनमा निजी क्षेत्रले ठूलो योगदान नगरेको भए यतिबेला मुलुकले चर्को लोडसेडिङको मार झेलिरहरको हुने थियो । निजी क्षेत्रले ऊर्जामा गरेको लगानीकै कारण आज मुलुक विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ भने ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ ।’
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विद्युत ऊर्जाको क्षेत्रलाई यस्ता आपराधिक, उदण्ड र अराजक गतिबिधिले निरुत्साहित गर्नुको साथै मुलुकमा लगानीको वातावरण नभएको उनको ठहर छ । ‘आयोजनास्थलमा हुने यस्ता आपराधिक क्रियाकलाप हुन नदिन सरकारले सुरक्षाको उचित प्रबन्ध गर्न र त्यस्ता क्रियाकलापमा संलग्न आपराधिक जमातलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायराभित्र ल्याउएर उनीहरुबाटै पीडक पक्षलाई उचित क्षतिपूर्ती भराउने व्यवस्था गर्न जोडदार माग गर्दछौं’–अध्यक्षले तिमल्सिनाले भने ।
यता, सो घटनाप्रति स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले घोर भर्त्सना गर्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । इप्पानका उपाध्यक्ष आशिष गर्गले भने,–‘आयोजनालाई उचित क्षतिपूर्ती लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण गराउँदछौं । यसका साथै घाईते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत ईप्पान सरकारसँग जोडदार माग गर्दछ ।’
विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको उपाध्यक्ष गर्गले बताए । उनका अनुसार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा यस्ता आपराधिक घटनाले नकारात्मक सन्देश प्रवाह र निरुत्साहित हुने बताए । उनले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कडा कानुनी कारवाही गर्नुपर्ने उनको माग छ । ‘परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरूमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभूती गराउन र घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडा कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने व्यवस्था मिलाउन इप्पान सरकारसँग जोडदार माग गर्दछ’–उनले भने ।
न्यासिम जलविद्युत आयोजना २०७७ साल मंसीर ८ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७५ साल जेठदेखि निर्माण भईरहेको छ । हालसम्म आयोजनामा करिब ८० करोड लगानी भएको अध्यक्ष तिमल्सिनाले बताए । आयोजनाले आगामी २०८१ असार १५ गते व्यापारिक उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाले हाल श्रमिकको आवास गृह र शसस्त्र प्रहरीको आवासीय भवन निर्माण गरिसकेको छ भने बंकर र कसर मेशिनको कार्य पनि सकिएको छ ।
विद्युत गृहदेखि आउटलेट हुँदै इन्टेकसम्मको १२ किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको २.३ किलोमिटरको सुरुङ, विद्युत गृह तथा प्रोटेक्सन वालको निर्माण पनि जारी छ । हालसम्म आयोजनाको २५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने आयोजनाको निर्माणमा करिब ३ सय दक्ष तथा अर्धदक्ष जनशक्तिले रोजगारी पाएका छन् ।













