८ श्रावण २०८३, शुक्रबार

४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा



काठमाडौं । दार्चूला जिल्लाको अपि हिमाल तथा मार्मा गाउँपालिका भएर बहने चमेलिया नदीमा ४० मेगावाट क्षमताको मथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्ध वार्षिक प्रतिवेदन अनुसार निर्माणको अन्तिम चरणमा पुगेको जनाएको हो ।

करिब ५ कि.मि लामो र ३.२ डायमिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिका घट्टेगाढमा विद्युत गृह निर्माण गरिएको हो । कुल लागत ७ अर्ब ४० करोड रुपैया मध्ये ३० प्रतिशत अर्थात् दुई अर्ब २२ करोड रुपैया शेयर धनीहरुलाई हकप्रद शेयर जारी गरी जुटाईएको छ । बाँकी ७० प्रतिशतले हुने रकम कम्पनीले हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमश: कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेन्चुरी कमर्सियल बैंक लिमिटेडवाट सहवित्तीयकरण मार्फत वित्तीय व्यवस्थापन गरेको छ ।

उक्त आयोजनको निर्माण कार्य २०७७ साल कार्तिक १ गतेबाट सुरु भएको हो भने २०७९ फागुन भित्र सम्पन्न गर्ने लक्ष्य लिईएकोमा हाल आयोजना निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । आयोजना स्थलमा कर्मचारी आवास गृह, लेवर हाउस, विद्युत लाइन विस्तार, क्रसर प्लान्ट जडान, हाइड्रो मेकानिकल वर्कशप निर्माण कार्य सम्पन्न भईसकेको छ ।

त्यसै गरी विद्युत गृह, सर्ज ट्याड्ढ र सब स्टेसनको निर्माण कार्य शत प्रतिशत सम्पन्न भईसकेको छ । एलाइनमेन्ट तर्फ ८०० मिटर पाइप जडान र बाँधस्थलको अन्तिम सिभिल कार्य चलिरहेको छ ।

आयोजनाको सिभिल तर्फको निर्माण कार्य ग्वाल्लेक निर्माण सेवा प्रा.लि.,जे.भि तथा अग्रतोष निर्माण सेवाले गरेको हो भने हाइड्रो मेकानिकल तर्फको निर्माण कार्य अपि हाडड्रो मेकानिकल प्रा.लि ले र इलेक्ट्रो मेकानिकल तर्फको निर्माण कार्य अष्ट्रिया स्थित कम्पनी गेप्पर्ट हाइड्रोले गरेको हो ।

आयोजनाबाट उत्पादित विद्युत १६ कि.मि. लामो १३२ के.भि.डबल ट्रान्समिसन लाईन मार्फत्नेपाल विद्युत प्राधिकरणको वलाँच स्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जडान गरिनेछ । पाँच वर्षको लाभांश वितरण इतिहासलाई हेर्दा अपिले ११.०५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

आयोजनाबाट वार्षिक २६ करोड ४१ लख यूनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । सो मध्ये ३० प्रतिशत सुख्खा यामका ५ महिनामा र बाँकी ७० प्रतिशत वर्षायामका ७ महिनामा उत्पादन हुने आँकलन छ । आयोजनाले विद्युत विक्रीबाट पहिलो वर्षमा एक अर्ब ६२ करोड रुपैया आम्दानी हुने र आठ बर्षमा तिन प्रतिशतका दरले वृद्धि हुँदै जाने अनुमान गरेको छ ।

आयोजना निर्माणबाट पर्न सक्ने नकरात्मक प्रभावहरु
१) वातावरणमा पर्ने प्रतिकुल असर
२) वन क्षेत्र तथा वन सम्पदामा पर्ने चाप
३) वन्यजन्तुमा पर्ने असर
४) मानव स्वस्थ्यमा पर्ने असरहरु

आयोजना निर्माण तथा सञ्चालनको क्रममा १८९ हे. वन क्षेत्र क्षति हुने र १५,०५७ वटा विभिन्न जातका रुख विरुवा कटान गर्नुपर्ने देखिएको छ । यसका साथै यस आयोजनाले वन्यजन्तुको वासस्थान खण्डिकरण तथा वन्यजन्तुलाई आवतजावतमा असर पुर्‍याउने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्