विद्युतीय गाडी आयातको आँकडामा बदलाव, कर बढ्ने हल्ला कि मार्केट डिमान्ड ? « Arthapath.com
८ माघ २०८०, सोमबार

विद्युतीय गाडी आयातको आँकडामा बदलाव, कर बढ्ने हल्ला कि मार्केट डिमान्ड ?



काठमाडौँ । विद्युतीय सवारी आयातको तथ्याङ्कमा ठुलो बदलाव देखिएको छ । एकै महिना १४०० भन्दा धेरै विद्युतीय गाडी (कार, जिप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको व्यापार तथ्याङ्कले यस्तो देखाएको हो । 

विभागका अनुसार पछिल्लो एक महिनामै ३ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ बराबरको १ हजार ४२१ वटा विद्युतीय सवारी नेपाल भित्रिएका हुन् । यो गत मङ्सिरको तुलनामा ३८.५५ प्रतिशत बढेको हो । गत मङ्सिरमा ८९९ वटा मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका थिए । सरकारले विद्युतीय सवारीमा कर बढाउने हल्लाले नै पुसमा औसत बढी इभि आयात भएको कतिपयको बुझाई छ । सरकारले राजश्वमा ठुलो धक्का पुगेको भन्दै विद्युतीय सवारीमा कर बढाउने हल्ला चलिरहेको छ, त्यसले बिक्रेताहरूमा दबाब सृजना बढेको कतिपयले बताउँछन् । 

तर, पुसमा आयात भएको सवारी कर बढाउने हल्लाले नभई बजार माग अनुसार आयात भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्र उप्रेतीले बताए । नेपाली बजारमा विद्युतीय सवारी माग अनुसार नै आयात बढ्दै गएको महासचिव उप्रेतीको भनाई छ । ‘सरकारले विद्युतीय सवारीमा कर बढाउने भन्ने हल्ला पनि छैन । यसको कुनै पनि आधिकारिक जानकारी पनि छैन। तर, नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी छ । डिमान्डअनुसार नै आयात भएको हो । त्यसलाई कर बढाउने हल्लाले भन्न मिल्दैन’, उप्रेतीले भने । 

नाडा अटो शो, दसैँ तिहार जस्ता ठुला चाडपर्वमा बुकिङ भएका इभिहरुले गर्दा नै आयात बढी देखिएको उनको भनाई छ । बिस्तारै आर्थिक गतिविधि बढ्दै गएकाले इभिप्रति आम मानिसको आकर्षण पनि उत्तिकै बढ्दै गएको उप्रेतीले  बताए । यता, बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि सहज फाइनान्सिङ्ग लगायतका सुविधा दिएकाले पनि गाडीको माग बढी रहेको उनको तर्क छ । ‘कोरोना महामारी, मन्दीपछि बिस्तारै आर्थिक गतिविधि बढ्दै गएको छ । अघिल्लो वर्षदेखि नै गाडी किन्ने सोच बनाएका व्यक्तिहरूले पनि यो वर्ष खरिद गर्ने माहौल बनेको छ । बैङ्क, फाइनान्स लगायतको सहज सुविधा छ, यसले नै बढी माग बढेको हो । कर बढाउने हल्ला कसैले अतिरञ्जित गरेको मात्रै हो’, महासचिव उप्रेतीले भने । 

अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि केही दिन अघि नाडाको ४७ औँ साधारण सभामा विद्युतीय गाडीको कर बढाउने सङ्केतसहितको अभिव्यक्ति दिएका थिए । व्यवसायी कर बढाउन नहुने उल्टै घटाउनुपर्ने माग गर्दा अर्थमन्त्री डा. महतले व्यवसायीलाई यसबारे नबोल्न आग्रह गरेका थिए । अर्थमन्त्रीको अभिव्यक्तिपछि इभिमा कर बढ्ने भन्दै व्यवसायीहरू पनि एक किसिमको सशङ्कित भएका थिए । नेपालमा विद्युतीय सवारीसाधनको आयातमा दिइएको राजस्व छुटको लाभ आयातकर्ता व्यापारीहरूले मात्रै लिएको आरोप लाग्दै आएको छ । स्वयम् अर्थमन्त्री डा.महतले राजस्व सहुलियतको लाभ उपभोक्तामा हस्तान्तरण हुन नसकेको भनेर सार्वजनिक मञ्चबाटै आलोचना गरिरहेका छन् । तर, तत्काल इभिमा कर बनाउने कुरा हल्ला मात्रै भएको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । इभिमा कर बढाउने कुरा बजारको हल्ला मात्रै रहेको उनको तर्क छ । 

पछिल्लो समय विद्युतीय गाडीको आयात निरन्तर बढेको छ । इभिमा कर बढाउने हल्ला चले पनि पुसमा भएको आयातको तथ्याङ्कलाई मान्न नसकिने व्यवसायीहरू बताउँछन् । एक व्यवसायीले भने,‘सरकारले इभिमा कर बढाउने तयारी गरेको हल्ला त बजारमा सुनिएको छ । तर, पुसको आयात करको हल्लाले होइन, मार्केट डिमान्ड नै हो ।’ गत वर्षहरुदेखिकै बजारमा माग अनुसार नै विद्युतीय गाडी आयात भइरहेको उनको भनाई छ । विशेषगरि नाडा अटो शोमा बुकिङ भएका इभिहरुनै नेपाल भित्रने थालेकाले आयात बढेको देखिएको उनले बताए । ‘कर बढाउने हल्ला चलेको धेरै भएको छैन, १५/१६ दिनमै यति धेरै गाडी कसरी आयात हुन्छ ? त्यसको प्रभाव देखिने भनेको आगामी २/४ महिनापछि हो, अहिले नै त्यसो भन्न मिल्दैन’, उनले भने । 

६ महिनामा १२ अर्ब ७३ करोडका इभि नेपाल भित्रिए, कुन देशबाट कस्ता क्षमताका इभि आए ?

चालु आवको ६ महिनामा मात्रै १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ बराबरको ५ हजार १०७ वटा इभि नेपाल भित्रिएका छन् । नेपालमा चीन, भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट विद्युतीय सवारी आयात हुने गरेको छ । 

समीक्षा अवधिमा ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताक विद्युतीय गाडी नेपाल भित्रिएका छन् । नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू नेपालमा उपलब्ध छन् । बिवाइडी, महिन्द्रा, किया, टाटा, एमजी र हुण्डाइ ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् । 

हाल सरकारले चालु आवको बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको सङ्ख्या वृद्धिमा थप योगदान गरेको छ । पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । 

चालु आवको सुरुवात देखि नै विद्युतीय सवारी आयात बढ्दै गएको छ । हाल औसतमा ८५१ वटा इभि नेपाल भित्रने गरेका छन् । चालु आवको पहिलो अर्थात् गत साउनमा ११० वटा मात्रै इभि नेपाल भित्रिएका थिए । भन्सार विभागका अनुसार भदौमा ७८८ र असोजमा १ हजार २३७ वटा इभि गाडी आयात भएको थियो । तर, गत कात्तिकमा भने औसत भन्दा कम अर्थात् ६५२ वटा इभि आयात घटेको देखिएको छ । 

नेपालमा १०० किलोवाटका इभि बढी आयात हुने गरेको छ । विभागका अनुसार ६ महिनामा ५१ देखि १०० किलोवाटका २ हजार ९७० युनिट इभि नेपाल भित्रिएका हुन् । यस्तै, ५० किलोवाटका २ हजार ५६ वटा, १०० देखि २०० किलोवाट तौल क्षमताका ६८ वटा र त्यसभन्दा माथि अर्थात् ३०० किलोवाटसम्मका १३ वटा गाडी नेपाल भित्रिएका छन् । 

नेपालमा धेरै इभि चीनबाट आउने गरेको छ । चालु आवको ६ महिनामा चीनबाट ६ महिनामा ३ हजार १२१ वटा इभि नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख छ। यस्तै, भारतबाट १ हजार ९२२ वटा, कोरियाबाट ३९, इन्डोनेसियाबाट १७, जर्मनबाट ५ र अमेरिकाबाट १ युनिट इभि आयात भएको तथ्याङ्क छ । 


प्रतिक्रिया दिनुहोस्