कसले किन्दै छ एनबी बैंकको ४१ प्रतिशत शेयर ? « Arthapath.com
२९ असार २०७८, मंगलवार

कसले किन्दै छ एनबी बैंकको ४१ प्रतिशत शेयर ?



बंगलादेश सरकारको बहुमत स्वामित्व भएकाे आईएफआईसी बैंकले नेपालबाट लगानी फिर्ता लाने भएको छ । सुरुआति चरणका संस्थापकको रुपमा भित्रिएर नेपाली बैंकबाट लगानी फिर्ता लानेमा यो चौंथो बैंक हुने छ ।

यसअघि दुबईको सरकारी स्वामित्वको इमिरेट्स अरब बैंकले नबीलबाट, फ्रान्सको क्रेडिट एग्रीकोल इण्डोसुएजले नेपाल इन्भेस्टमेण्टबाट लगानी फिर्ता लगिसकेका छन् । पछिल्लो समय हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक पनि बाहिरिने तयारीमा छ ।

स्ट्याण्डर्डचार्टर्ड बैंकबाट पनि सुरुआति लगानीकर्ता पहिले नै बाहिरिइसकेको छ । तर यो डील भने नेपालमा भएको होइन । अस्ट्रेलिया एण्ड न्यूजिल्याण्ड ब्यांकिङ ग्रुप (एएनजेड)ले आफ्नो स्वामित्वको ग्रीन्डलेज बैंक सन् २००० मा २ अर्ब २० करोड अस्ट्रेलियन डलरमा विक्री गरेको थियो । त्यसपछि नेपालसहित संसारभरका ग्रीन्डलेज बैंक हालको स्ट्याण्डर्ड चार्टर्डमा बदलिएको हो ।

आईएफआईसीले नेपाल बंगलादेश बैंकमा भएको आफ्नो स्वामित्व बेच्न लागेको हो । बंगलादेश बैंकको ९ करोड ५३ हजार १५२ कित्ता शेयर छ । यसमध्ये ४०.८९५ प्रतिशत हुन आउने ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर आईएफआईसीसँग छ । यो सबै शेयर बेचेर आईएफआईसी बाहिरिन लागेको हो ।

बंगलादेश बैंकको हिजो साँझ बसेको सञ्चालक समिति बैठकले आफ्नो शेयर विक्री गर्न आईएफआईसीले बोर्डमा दिएको निवेदन स्वीकृत गरेको छ । अब ३५ दिनभित्र अहिले भइरहेका संस्थापकहरुलाई शेयर किन्न बैंकले सूचना निकाल्दै छ । त्यतिञ्जेलमा विद्यमान संस्थापकहरुले शेयर नकिनेमा सार्वजनिक आह्वानमार्फत् शेयर बेच्न पाइने व्यवस्था छ ।

सम्भावित लगानीकर्ता को छ ?

केही समय यता नबील बैंकले बाणिज्य बैंक प्राप्ती गर्ने प्रक्रिया थालेको थियो । यसका लागि नबिलले एनबी ग्रुपद्वारा प्रवद्र्धित नेपाल बंगलादेश र एनसीसी दुबै बैंकसँग छलफल चलाएको थियो । अर्बपति ब्यापारी विनोद चौधरीले नबीलको शेयर किन्दा बंगलादेशमै कम्पनी खडा गरेका थिए ।

नबीलमा अहिले पनि बंगलादेशी साझेदार रहेको बताइएको छ । यद्यपि उक्त कम्पनीको अन्तिम हिताधिकारी को हो भन्ने खुलाइएको छैन । चौधरीको बंगलादेश नेक्ससका कारण उनलाई आईएफआईसीको स्वामित्व किन्न सजिलो पर्नसक्ने आँकलन गरिँदै आएको छ ।

नेपालमाभन्दा विदेशमा निकै ठूलो लगानी रहेको चौधरीलाई विदेशी स्वामित्वकै रुपमा एनबी बैंकमा लगानी गर्न पनि सजिलो पर्ने धेरैको बुझाइ छ । यही कारण उक्त शेयर चौधरीले खरीद गर्नसक्ने अनुमान भएका छन् । तर नबील बैंकका एक उच्च अधिकारीले एनबीसँग प्राप्तीका बारेमा सुरुआति चरणमा छलफल भए पनि अहिले त्यसले निरन्तरता नपाएको बताउँछन् ।

‘बाहिरबाहिरै कुनै डिल भएको भए थाहा भएन, तर नेपालमै चाहीँ केही समययता थप छलफल अघि बढेको छैन,’ ती अधिकारीले भने । उनका अनुसार पछिल्लो समय गैह्रआवासीय नेपालीहरुले स्थापना गरेको कोषले एनबीको शेयर किन्न चासो देखाएको थियो ।

गत वैशाखमा स्थापना भएको ‘एनआरएन नेपाल विकास कोष’ले उक्त शेयर किन्न चासो देखाएपछि ज्यादा बार्गेनिङ गरिरहेका चौधरीसँग एनबीको प्रबद्र्धक समूह टाढिएको ती अधिकारी बताउँछन् । नेपाल सरकारको ५ प्रतिशत लगानी हुनेगरी पहिलो चरणमा १० अर्ब रुपैयाँ पूँजीको कोष हालैमात्र स्थापना भएको थियो ।

उक्त कोषका अधिकारीहरुले एनबीका साथै अन्य दुई बैंकसँग पनि खरीद प्रस्ताब गरिएको पुष्टि गरेका छन् । यद्यपि, तीनवटै संस्थासँगको छलफल चलिरहे पनि हालसम्म टुंगोमा नपुगेको कोषसम्बद्ध अधिकारीले बताए । ‘लगानीकर्ताले कसलाई बेच्छ भन्ने पुर्वानिर्धारित नहुन पनि सक्छ,’ ती अधिकारीले भने ।

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् दबाबमुलक मर्जरमा जान ठूला संस्थाहरुलाई प्रेरित गर्नसक्ने अनुमान भइरहेका बेला आर्थिक वर्षको अन्त्यमा आईएफआईसीले आफ्नो स्वामित्व बेच्ने प्रक्रिया थालेको छ । नेपालभित्रै खरीदकर्ताहरुको चासो पनि बढ्न थालेका बेला उसले मौका छोपेको हुनसक्छ । ‘सामुहिक रुपमा लगानी गर्ने हो भने अहिले वित्तीय क्षेत्रमै नभएको नयाँ समूहले पनि किन्न सक्छन्,’ एनबी बैंकका एक अधिकारी भन्छन् ।

अहिले शेयर बजारमा दैनिक १० अर्बको कारोबार भइरहेको छ । उक्त शेयरको न्यूनतमक मूल्य नखुलाएको भए पनि ६ देखि ७ अर्ब रुपैयाँ पर्नसक्ने अनुमान गरिएको छ । यस आधारमा यो रकम जुटाउन अहिले नेपाली लगानीकर्ताका लागि ठूलो समस्या नभएको उनले बताए ।

२७ वर्षमा १५० गुणा विस्तार

आजभन्दा २७ वर्षअघि २४ करोड रुपैयाँ अधिकृत पूँजी र ६ करोड रुपैयाँ चुक्ता पूँजी लिएर स्थापना भएको यो बैंकले गत महिनामात्रै २८ औं वार्षिकोत्सव मनाएको थियो । अहिले कम्पनीको चुक्ता पूँजी ९ अर्ब रुपैयाँभन्दा बढी छ । यो सुरुआति चुक्ता पूँजीको १५० गुणा हो ।

एक्लै बैंकको विस्तारलाई हेर्दा आशालाग्दो तथ्यांक देखिए पनि वास्तवमा भने यो संस्था त्यति बलियो छैन । तुलनात्मक हिसाबमा अहिले नेपालमा भइरहेका २७ बाणिज्य बैंकमध्ये यो बैंक २७ औं नम्बरमै पर्छ । अर्थात् मुलुककै सबैभन्दा कमजोर बैंकको रुपमा एनबी अहिले सञ्चालनमा छ । यस्तो संस्थाको पुनरुत्थान गर्न ठूलै मिहेनत पर्नसक्ने बैंकका अधिकारी बताउँछन् ।

४१ प्रतिशत स्वामित्व लिएर भित्रिने नयाँ लगानीकर्ताले बैंकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने चूनौति छ । त्यसो गर्न सबैभन्दा सजिलो चाहीँ नबीललाई नै हुनसक्छ । ऊसँग अहिले बलियो प्रणाली, प्रतिस्पर्धी जनशक्ति र ठूलो ब्राण्ड छ । एनबीलाई नबीलमा मिसाउँदा सजिलै अघि बढाउन सक्छ । तर अर्को नयाँ समूहले यो बैंक किनेर त्यस्तै कमजोर संस्थासँग गाभ्ने वा एक्लै चलाउने प्रयत्न गर्नु सजिलो बाटो नहुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्