दोहोरो अङ्कले बढ्यो बैङ्कहरूको ब्याज आम्दानी: तीन महिनामा साढे ४९ अर्ब आम्दानी, कसले कति ? « Arthapath.com
१९ कार्तिक २०८०, आईतवार

दोहोरो अङ्कले बढ्यो बैङ्कहरूको ब्याज आम्दानी: तीन महिनामा साढे ४९ अर्ब आम्दानी, कसले कति ?



काठमाडौँ । वाणिज्य बैङ्कहरूको ब्याज आम्दानी दोहोरो अङ्कले वृद्धि भएको छ। बैङ्कहरूको खुद ब्याज आम्दानी तीन महिनामा झन्डै ८ अर्ब रुपैयाँले बढेको हो । 

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैङ्कहरूको आम्दानीको मुख्य स्रोत ब्याज आम्दानी नै हो । बैङ्कहरूले निक्षेपकर्ताको पैसालाई कर्जाको रूपमा लगानी गरेर आम्दानी गर्दछन् । 

विवरण अनुसार बैङ्कहरूको ब्याज आम्दानी १९.०८ प्रतिशत अर्थात् ७ अर्ब ९४ करोड ३५ लाख रुपैयाँले बढेको छ । गत वर्षको असोज मसान्तसम्ममा बैङ्कहरूले ४१ अर्ब ६१ करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए । तर, यस वर्षको सोही अवधिमा आइपुग्दा भने यस्तो ब्याज आम्दानी बढेर ४९ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । 

खुद ब्याज आम्दानी बढेता पनि बैङ्कहरूको नाफामा भने १८.६ प्रतिशतले घटेको छ । चालु आवको तीन महिनामा बैङ्कहरूले कुल १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तर, गत वर्षको सोही अवधिमा १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  कर्जा नोक्सानी बापतको धेरै रकम छुटाउँदा नै नाफा प्रभावित भएको हो । 

समीक्षा अवधिमा सात वटा बैङ्कको ब्याज आम्दानी घटेको छ भने बाँकी सबैको बढेको छ । विवरणअनुसार सबैभन्दा धेरै ब्याज आम्दानी ग्लोबल आइएमई बैङ्कले गरेको छ । सो अवधिमा बैङ्कले ४ अर्ब ८० करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको  छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ४९.९२ प्रतिशतले बढी हो । 

रकमका आधारमा ग्लोबलको धेरै भएता पनि वृद्धिदरको आधार (प्रतिशत)मा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) देखिएको छ । समीक्षा अवधिमा बैङ्कको ब्याज आम्दानी ९५.३९ प्रतिशतले बढेर ४ अर्ब १६ करोड १० लाख रुपैयाँ कायम भएको छ । 

पहिलो त्रैमासमा नबिल बैङ्कले पनि ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३.५० प्रतिशतले बढी हो । 

समीक्षा अवधिमा हिमालयन बैङ्कको ब्याज आम्दानी ७५.८६ प्रतिशतले बढेर ३ अर्ब १७ करोड ७९ लाख, कुमारीको ६३.५९ प्रतिशतले बढेर ३ अर्ब ४ करोड १९ लाख र लक्ष्मी सनराइज बैङ्कको ८९.५५ प्रतिशतले बढेर २ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । 

यस्तै, समीक्षा अवधिमा प्रभु बैङ्कको ब्याज आम्दानी २९.१५ प्रतिशत, नेपाल बैङ्कको १६.२८ प्रतिशत, कृषि विकासको १२.१६,  एनएमबिको ८.२८, प्राइमको ६.०१, नेपाल एसबिआई ६.४६ र एभरेष्टको ०.३२ प्रतिशतले वृद्धि भएको छ।  

यता, राष्ट्रिय वाणिज्य बैङ्कको २०.५८ प्रतिशत, एनआईसी एशियाको १७.५४ प्रतिशत, सिद्धार्थको ७.४५, सानिमाको ४.९२, माछापुच्छ्रेको ३.६५, स्ट्याण्डर्ड चार्टर्डको २.०९ र सिटिइनको ०.६२ प्रतिशतले घटेको छ । 

कुनको ब्याज आम्दानी कति ?


प्रतिक्रिया दिनुहोस्