किन बढी रहेको छ बैङ्कहरूको खराब कर्जा ? « Arthapath.com
२० कार्तिक २०८०, सोमबार

किन बढी रहेको छ बैङ्कहरूको खराब कर्जा ?



काठमाडौं । वाणिज्य बैङ्कहरूको खराब कर्जाको अनुपात बढ्दो छ । हाल बैङ्कहरूको यस्तो कर्जा करिब करिब साढे तीन प्रतिशत पुगेको छ । बैङ्कहरूले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा बैङ्कहरूको खराब कर्जा अनुपात औसत ३.३९ प्रतिशत पुगेको छ । जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा १०३.५३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा भने बैङ्कहरूसँग यस्तो कर्जाको अनुपात १.६६ प्रतिशत मात्रै रहेको थियो । समीक्षा अवधिमा कतिपय बैङ्कहरूको यस्तो कर्जा नियन्त्रणभन्दा बाहिर पनि देखिएको छ । खराब कर्जा बढेसँगै बैङ्कहरूको नाफा पनि प्रभावित भएको छ । विशेषतः आर्थिक मन्दीका कारण बैङ्कहरूले प्रवाह गरेको कर्जा समयमा उठ्न सकेको छैन । साँवा र ब्याज समयमा नउठ्दा बैङ्कहरूको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । आर्थिक शिथिलताले बैंकहरूको कर्जा असुल पूर्ण रूपमा भएको छैन ।

बिशेषगरि पछिल्लो समय देखिएका आर्थिक सङ्कटका कारण बैङ्कहरूको कर्जा असुल हुन नसकेको हो । आर्थिक सङ्कटका कारण अधिकांश क्षेत्रको व्यवसायी आम्दानीमा ह्रास आएको थियो । त्यसको असरले ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको थियो । महँगी, खर्च बढी, उच्च ब्याजदर लगायतका कारण पनि ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ, फलस्वरूप बिचमा उनीहरूले कर्जाको किस्ता तथा व्याज तिर्न तिर्न सकिरहेको अवस्था पनि छैन । यसले गर्दा स्वतः रूपमा बैङ्कहरूको खराब कर्जा बढेको हो । अवस्था सामान्य बनी सकेको छैन । सबै ऋण असुल हुन सकेका छैनन् । त्यसले गर्दा खराब कर्जा अनुपात सामान्य अवस्थामा आउन नसकेको जानकार बालाहरू बताउँछन् । ऋणीले ६ महिनासम्म कर्जाको सावा तथा व्याज भुक्तानी नगरेमा त्यस्तो ऋण खराब कर्जामा पर्ने व्यवस्था छ ।

चालु आवको पहिलो  त्रैमासमा कृषि विकास बैङ्कको खराब कर्जा ५ प्रतिशतको सीमा नै नाघेको छ । पहिलो त्रैमासमा बैङ्कको यस्तो कर्जा ५.३३ प्रतिशत पुगेको हो । तर, गत आवको सोही अवधिमा बैङ्कको यस्तो कर्जा २.३८ प्रतिशत मात्रै थियो । विशेषगरि मर्जरमा गएका बैङ्कहरूको खराब कर्जा बढ्दो देखिएको हो । 

दोस्रो धेरै खराब कर्जा कुमारी बैङ्कसँग देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा कुमारी बैङ्कको खराब कर्जा ४.८९ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैङ्कको यस्तो कर्जा १.२८ प्रतिशत मात्रै थियो । बैङ्कले गत वर्ष साबिकको एनसीसी  बैङ्कसँग मर्जरमा गएको थियो । 

यस्तै, पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाएको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको खराब कर्जा पनि ४.८३ प्रतिशत देखिएको छ । यता, लक्ष्मी सनराइजको खराब कर्जा ४.६९ प्रतिशत, हिमालयन बैङ्कको ४.६७ प्रतिशत र ग्लोबल  आइएमई बैङ्कको  पनि ४.३८ प्रतिशत रहेको छ । 

तर, समीक्षा अवधिमा सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैङ्कको देखिएको छ । बैङ्कको खराब कर्जाको अनुपात १ प्रतिशत तल छ । पहिलो त्रैमासमा बैङ्कसँग शून्य दशमलव ९ प्रतिशत मात्रै खराब कर्जा रहेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको खराब कर्जा १.१ प्रतिशत, एनआइएसी एशियाको १.३७ प्रतिशत र सानिमा बैङ्कको १.७९ प्रतिशत रहेको छ । यी बैङ्कहरूको खराब कर्जा अन्यको तुलनामा कम हो । 

यी बाहेकका वाणिज्य बैङ्कहरूको खराब कर्जा २ प्रतिशत भन्दा माथि नै छ । समीक्षा अवधिमा सिटिजन बैङ्कको खराब कर्जा ३.९७ प्रतिशत, प्रभुको ३.९७, नेपाल बैङ्कको ३.८४, नबिलको ३.६९, प्राइमको ३.६७, राष्ट्रिय वाणिज्य बैङ्कको ३.६२ र सिद्धार्थ बैङ्कको ३.४४ प्रतिशत रहेको छ । यता, एनएमबि बैङ्कको २.८४ प्रतिशत, माछापुच्छ्रेको २.५६ प्रतिशत, नेपाल एसबिआइए बैङ्कको २.३५ प्रतिशत रहेको छ । 


प्रतिक्रिया दिनुहोस्