ब्याजदरमा घट्दो ट्रेन्ड: सिंगल डिजिटमा झर्‍यो आधार दर, कर्जाको ब्याजदर पनि सस्तिँदै « Arthapath.com
२९ फाल्गुन २०८०, मंगलवार

ब्याजदरमा घट्दो ट्रेन्ड: सिंगल डिजिटमा झर्‍यो आधार दर, कर्जाको ब्याजदर पनि सस्तिँदै



काठमाडौं । बैङ्कहरूको ब्याजदर घट्दो ट्रेन्डमा छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदर निरन्तर घटी रहेको छ । बैङ्कहरूको प्रदान गर्ने निक्षेपको ब्याजदर पनि लगातार घटेको छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो । गत कात्तिक महिनादेखि नै बैङ्कहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । लागत घट्दा बैङ्कहरूको आधार दर (बेस रेट) पनि घट्न थालेको छ ।

हाल वाणिज्य बैङ्कहरूको औसत आधार दर ९.०६ प्रतिशत कायम भएको छ। यो नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार गत वर्षका माघमा वाणिज्य बैङ्कहरूको आधार दर १०.७२ प्रतिशत पुगेको थियो । तर, यो वर्षको सोही अवधिमा भने १.६६ प्रतिशत घटेको छ । यस्तै, विकास बैङ्कहरूको आधार दर ११.१३ प्रतिशत र वित्त कम्पनीको १२.७० प्रतिशत छ । 

आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि सस्तिन थालेको छ । कर्जाको ब्याजदर झन्डै २ प्रतिशत घटेको हो । गत वर्षको माघमा वाणिज्य बैङ्कहरूको कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत थियो । तर, यो वर्षको सोही महिनामा भने १.९५ प्रतिशत घटेर ११.०८ प्रतिशत कायम भएको छ । विशषेगरि निक्षेपको ब्याजदर घटेसँगै बैङ्कहरूको आधार दर पनि एकल अङ्कमा आएको छ ।

हाल बैङ्कहरूको आधार दर १० प्रतिशत कम नै छ । बैङ्कहरूको आधार दर अनुसार नै ऋण लिँदा तिर्नुपर्ने ब्याज सस्तो र महँगो हुने सङ्केत गर्दछ । बैङ्कहरूको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने बेस रेट घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बैङ्कहरूले कर्जाको प्रकृति अनुसार १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । यद्यपि, बैङ्कहरूको आधार दर अनुसार फरक–फरक हुनसक्छ । तर, अहिले बैङ्कहरूले सहज रूपमा एकल अङ्कको ब्याजदरमै ऋण लगानी गर्ने अवस्थामा देखिएका हुन् । 

माघमा विकास बैङ्कहरूको कर्जाको ब्याजदर पनि १२.८५ प्रतिशतमा झरेको छ । यता, वित्त कम्पनीको कर्जाको ब्याजदर पनि औसत १३.९३ प्रतिशत कायम भएको छ । 

चैत महिनामा पनि ब्याजदर घट्ला ?

आगामी चैत महिनामा पनि बैङ्कहरूको ब्याजदर थप घट्ने देखिएको छ। चैत महिनामा निक्षेपको ब्याजदर घटन सक्ने देखिएको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता अर्थात् लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जा लगानी भने बढ्न सकिरहेको छैन ।

निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा बैङ्कहरूको लागत बढेको छ । यसरी लागत बढेसँगै बैङ्कहरूले ब्याजदर घटाउने सङ्केत गरेका हुन् । यद्यपि, कति घट्छ भन्ने निश्चित नभएको बैंकरहरु बताउँछन् । 

फागुनमा पनि बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपमा औसत शून्य दशमलव ४० प्रतिशत बिन्दु घटेको छ । फागुनमा व्यक्तिगत मुद्दती निक्षेपमा बैङ्कहरूको औसत ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ । तर, माघ महिनामा भने यस्तो ब्याजदर ८.१६ प्रतिशत र गत पुसमा ८.९६ प्रतिशत रहेको थियो । यता, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने औसत शून्य दशमलव ३७५ प्रतिशत बिन्दुले घटेको थियो । फागुनमा बैङ्कहरूले अधिकतम साढे ८ प्रतिशत ब्याजदर प्रदान गरेका थिए ।

आगामी चैतमा पनि थोरै विन्दुमा ब्याजदर घट्ने सम्भावना रहेको बैंकरहरु बताउँछन् । ‘बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । तर, कर्जाको माग बढ्न सकेको छैन । पछिल्लो महिना ब्याजदर निरन्तर घटी रहेको छ’, एक बैंकरले भने,‘चैतमा पनि घट्ने सम्भावना छ । तर, कतिसम्म घट्ने भन्ने यकिन छैन ।’


प्रतिक्रिया दिनुहोस्