सहकारी मर्जमा जाउ अर्याल « Arthapath.com
६ भाद्र २०७६, शुक्रबार

सहकारी मर्जमा जाउ अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले नेपालमा अब १०÷ १२ हजार सहकारी संस्था भए पुग्ने भन्दै बताएकी छन् ।
नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहीबार आयोजना गरेको ‘सहकारी मर्जर’ विषयक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त संख्यामा सहकारी संस्था भए देश हराभरा हुने र सरकारले सोचेको संमृद्विको अभियानमा टेवा पुग्ने उनको भनाइ छ ।
सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्न सरकारले एकीकरण कार्यविधि बनाउन लागिएको बताइन् । गुणस्तरीयता र पारदर्शी सहकारी बनाउन मर्जर अभियान थालिने बताएकी छन् ।
सहकारीको संख्या गनेर मात्र नहुने भन्दै सहकारीले काम देखाउनुपर्ने बेला आएको उनको भनाइ छ । सहकारी अभियानकै पहलमा सहकारी मर्जर संभव हुने उनले बताइन् । ‘अब सहकारी क्षेत्र, भेग, कामको प्रकृति मिल्ने बिचमा एकता हुनुपर्छ’ उनले भनिन् ।
‘तपाइहरुकै पहलमा संस्था मिलाएर जाउ भन्ने हिसाबले हामी अगाडी बढेका छौं,’उनले भनिन्,‘ भरोसा तपाइहरुकै छ ।
कतिपय सहकारी देखासिकी र लहलहैमा खुलेका छन्’ उनले भनिन्,ती संस्था एकीकरणमातर्फत गुणस्तर सेवा दिन सक्नुपर्छ ।’ सहकारी मर्जर अनिवार्य आवश्यक भएपनि सरकारले जर्बजस्ती मर्जरमा जाउ भन्न नसकिने उनको भनाइ छ । ‘मर्जर गर्ने भनेको मन मिल्ने सँग हो, कामको प्रकृति, स्वभाव, स्वरुप, चरित्र मिल्ने, कार्यक्षेत्र मिल्ने सहकारी बीचमा मर्जर गर्नुहोस्’, मन्त्री अर्यालले भनिन् ।
’सहकारी संस्थाहरुलाई माथिबाट तपाईहरु मर्जरमा जानुपर्छ भनेर दबाद दिदैँनौं,’उनले भनिन्,‘ आवश्यक सेवा सुविधा दिएर मिल्ने वातावरण बनाउँछौं ।’
मर्जरमा गएर सबै सहकारीले उद्योग र उत्पादन र बजारीकरणमा लगानी गर्नुपर्ने उनको भनाइ छ । ५ वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान गर्न सक्नेगरी सहकारीले उत्पादनमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । सहकारी अभियानले केही नयाँपन, नयाँ अभ्यासको खोजी गरेको बताइन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्जरले प्रतिष्पधी क्षमता बढ्ने बताए । ‘यसले सञ्चालन लागत घट्छ, र गुणस्तरीय सेवा दिन सकिन्छ ।’ उनले भने । सबल, सक्षम र दिगो सहकारी बनाउन सहकारी मर्जर आवश्यक भएको उनको भनाइ छ । ‘फोर्स मर्जर संभव छैन’ उनले भने, यसले सुशासन र पारदर्शितामा समेत सघाउँछ ।’
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रशाद बडालले सहकारी मर्जर गर्न महासंघ उत्साहित भएपनि दण्ड लगाएर मर्जरमा जान नसकिने बताए । ‘एकीकरण अभियानमा सबै लागौं’उनले भने,‘भावना मिल्ने सहकारी मर्जरमा जानुपर्छ ।’
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले एकीकरणले नै सहकारी बलियो हुने बताए । ‘कसरी मर्जरमा जाने भनेर कार्यविधि बनाउन गृहकार्य गर्दैछौं’ उनले भने । मर्जरमा आएका फाइल बासी नराखी एकैदिनमा स्वीकृति गर्ने गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्