सुप्रिम सहकारी हिनामिना प्रकरण: दिपेश पुनको बयानमा के छ ? « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

सुप्रिम सहकारी हिनामिना प्रकरण: दिपेश पुनको बयानमा के छ ?



काठमाडौं । रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको आरोप लागेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनले आफूले सहकारीको रकम हिनामिना नगरेको बयान दिएका छन् ।

उनले उक्त सहकारीमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । यद्यपि पुन उक्त सहकारीका तत्कालीन सचिव रहेको अनुसन्धानबाट खुलेको छ । तर उनले यो विषय अस्वीकार गरेका छन् । उनले आफ्नो इच्छाले उक्त सहकारीको सचिव नभएको बताएका हुन् ।

आफू उक्त सहकारीको साधारणसभामा अतिथिको रूपमा सहभागी भएको र उपस्थितिको रजिष्ट्रारमा हस्ताक्षार गरेर फर्किएको दाबी गरेका छन् ।

उनले बयानमा भनेका छन्, ‘सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो।

उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ भने उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरू सहकारी विभागका आधिकारीक प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरू तथा पत्रकारहरू उपस्थित हुनुहुन्थ्यो।

उपस्थित वक्ताहरूले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरूलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए भने मैले पनि अतिथिको रूपमा उपस्थित भएपश्चात् सहकारीको बारेमा मैले जाने बुझेसम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिएँ, म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रम समापन नहुँदै बिदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरूको उपस्थितिको माइन्युट रजिष्टरमा हस्ताक्षार गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थित रजिष्टरमा हस्ताक्षत गरी म बिदा भई निस्केको हुँ।’

सचिवको हस्ताक्षारको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । त्यस कार्यक्रमको दुई महिनापछि भने उक्त सहकारीका संस्थाका संरक्षक एवं पूर्व अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)ले आफूलाई सचिवमा राख्न सिफारिस गरेको र सिफारिस गरेअनुसार आफूलाई सचिवमा नियुक्त गरिएको कुरा फोनमार्फत जानकारी आएको पुनले बताए।

आफ्नो नाम सचिवमा राखेर सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको थाहा पाएपछि साथीहरूसँग सल्लाह गरी २०७६ साल फागुनमा राजीनामा बुझाएको उनको भनाइ छ। यसबारेमा उनले पछि जिबी राई सहितसँग भेट्न खोज्दा भेट नभएको पनि पुनले बताएका छन्।

उनले आफूले सेयर लगानी गरी बचत तथा ऋण खाता समेत नखोलेको बताएका छन् । आफ्नो नामको खातामा देखिएको रकमको बारेमा समेत कुनै जानकारी नभएको र उक्त सहकारीबाट कुनै रकम नलिएको बताएका छन् । पुनले सचिव रहँदा ३ लाख रूपैयाँ पेस्की लिएको भन्ने सरकारी वकिलको अभियोगपत्रमा उल्लेख छ।

यस्तो छ उनको बयान:

म बाल्यकालदेखि नै राजनीतिक र सामाजिक क्षेत्रमा व्यस्त र सक्रिय रहँदै आएको छु, देशमा राजनीतिक परिवर्तन सगै २०७२ सालमा बनेको संविधानमा देशको तीन खम्बे आर्थिक नीति (सरकार, सहकारी र निजी क्षेत्र) को बारेमा अध्ययन गरेको थिएँ। सोही क्रममा सहकारीप्रति मैले अध्ययन गरेको जाने बुझेसम्म सकारात्मक रूपमा आत्मसाथ गर्दै नेपालको न्यून आर्थिक अवस्था वा कमजोर आय भएका ग्रामिण क्षेत्रमा छरिएर रहेका व्यक्तिहरूको आर्थिक जीवनस्तर वृद्धि गर्दै जनतालाई आत्मनिर्भर उद्यमशील बनाउँदै आर्थिक र सामाजिक परिवर्तनको लागि सहकारीले सहयोग पुऱ्याउन सक्छ, यसको लागि सहकारी अभियानलाई अगाडि बढाउनुपर्छ यसको लागि हामी जस्ता राजनीतिक, सामाजिक कार्यमा सक्रिय युवाहरूले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा राम्रो सहकारी अभियानलाई साथ दिनुपर्छ भन्ने सकारात्मक धारणा रहँदै आएको थियो।

यसै क्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो। उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ भने उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरू सहकारी विभागका आधिकारीक प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरू तथा पत्रकारहरू उपस्थित हुनुहुन्थ्यो।

उपस्थित वक्ताहरूले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरूलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए भने मैले पनि अतिथिको रूपमा उपस्थित भएपश्चात् सहकारीको बारेमा मैले जाने बुझेसम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिएँ, म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रम समापन नहुँदै बिदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरूको उपस्थितिको माइन्युट रजिष्टरमा हस्ताक्षार गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थित रजिष्टरमा हस्ताक्षत गरी म बिदा भई निस्केको हुँ।

मैले गितेन्द्र बाबु राई, अन्य परिवार र साथीभाईहरूसँग सल्लाह गरी खबर गरौंला भनेको थिएँ, उक्त खबर पाए पश्चात मैले गितेन्द्रबाबु राई सँग यो विषयमा कुरा गर्नको लागि धेरै पटक सम्पर्क र भेट गर्न खोज्दा भेट हुन सकेन र मैले सहकारी दर्ता अधिकारीको कार्यालयमा मेरो नाममा सचिवको रूपमा नाम राखी पठाएका छन् भन्ने जानकारी पाएपश्चात् मैले परिवार र साथी भाइहरूसँग सल्लाह गर्दा मलाई सबैले तपाईं राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा तपाईं रुपन्देही स्थायी बासिन्दा पनि होइन र तपाईं कानूनत: रूपन्देहीमा रहेको सहकारीमा संचालक समिति हुन मिल्दैन भन्ने कुरा भएपश्चात् मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्थाप्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ मैले राजीनामा बुझाएको केही महिनापछि कोभिड-१९ को कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूसँग भौतिक भेट हुन सकेन।

कोभिड-१९ को बीचमा संस्थाका कार्यकारीसँग फोन गरी बुझ्दा तपाईंको राजीनामा भइसकेको छ। कोभिड-१९ को कारणले गर्दा संचालक र कर्मचारीसँग भौतिक भेट भएको छैन तपाईंको राजीनामा जुन दिन साधारण सभा हुन्छ सोही दिन तपाईंले राजीनामा दिएको मितिदेखि नै स्वीकृत हुने गरी अनुमोदन हुन्छ। तपाईंको यसमा कुनै पनि आर्थिक र कानुनी दायित्व हुँदैन र राजीनामा अनुमोदन जानकारी सहकारी विभागलाई दिन्छौं। तपाईंले सचिव भई कुनै पनि निर्णय गर्नु भएको पनि छैन र तपाईं सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उपस्थित भई काम पनि गर्नु भएको छैन। पिर नगर्नु होस भनेका थिए।

सोपश्चात् मैले यस संस्थाप्रति मेरो कुनै जानकारी र चासो राखिनँ, पछि मेरो राजीनामा साधारणसभाले अनुमोदन गरी सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको भन्ने जानकारी गराएका थिए, मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम तीन लाख लिएको होइन, उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन भने पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेश कुमार पुन भएको हुँदा नाम समेत फरक छ।

मेलै कुनै सेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन। मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारीसम्म छैन र कुनै रकम मेलै लिएको पनि छैन। यस संस्थाबाट मैले अन्य कुनै रकम लिने दिने गरी साक्षी सिफारिस, कारोबर तथा निर्णय गरेको छैन र यस संस्थाबाट ऋण लगानी भएका कुनै व्यक्ति तथा कम्पनीहरूसँग म व्यापारिक साझेदार समेत छैन भन्ने समेत व्यहोराको प्रतिवादी दिपेशकुमार पुनको बयान।


प्रतिक्रिया दिनुहोस्