सहकारी ठगीको अवस्था भयावह: प्रहरीमा मुद्दाको चाङ, किन बेग्रल्ती बढ्दैछ ठगी ? « Arthapath.com
३१ जेष्ठ २०८०, बुधबार

सहकारी ठगीको अवस्था भयावह: प्रहरीमा मुद्दाको चाङ, किन बेग्रल्ती बढ्दैछ ठगी ?



काठमाडौं । पछिल्लो समय सहकारी ठगीको घटना बेग्रल्ती बढ्दै गएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटका कारण यस्तो ठगीको घटना बढेका छन् ।

सहकारी विभागमा पनि बचत डुबेको, सहकारीबाट हुने विविभन्न बदमासी र संचालक भाग्ने गरेको भन्दै गुनासो तथा उजुरी पनि उत्तिकै बढ्दो रहेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार पनि सहकारी ठगीका घटना प्रत्येक वर्ष बढ्दो छ।

चालु आर्थिक वर्षको ९ महिनामा सहकारी ठगीको ३८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । गत चैत मसान्तसम्ममा १ अर्ब ४७ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको ठगीको मुद्दा दर्ता भएका छन् । तर, गत आवमा भने १५ वटा मात्रै सहकारी ठगीको मुद्दा दर्ता भएको थियो । समिक्षा अवधिमा ५० जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

यद्यपि, गत आवको रकमको आधारमा भने सबैभन्दा धेरै अर्थात ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दावी सहित मुद्दा दर्ता भएको थियो ।

गत आवमा कुल ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार बराबरको यस्तो गठी भएको थियो । गत आवमा सिभिल सहकारीको ठगी मुद्दाले गर्दा यस्तो रकम बढी हुन गएको थियो । सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले बचतकर्ताको अर्बाै पैसा हिनामिना गरेको मुद्दा गत आवमा दर्ता भएको थियो । उनी विरुद्ध ७ अर्ब रुपैयाँ भन्दा बढी बिगो सहित मुद्दा दर्ता भएको थियो, त्यसले गर्दा गत आवमा यस्तो रकम बढी हुन गएको थियो । गत आवमा प्रहरी सहकारी ठगी मुद्दामा ४७ जनालाई पक्राउ गरेको थियो ।

सहकारीका संचालकहरुमा बढी महत्वकांक्षा हुँदा पनि ठगी बढ्दै गएको देखिएको छ । साथै, पछिल्लो समय देखिएको तरलता अभावको समस्या सहकारीहरुमा पनि देखिएको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । त्यस्ता कारणले पनि सहकारी ठगीको मुद्दा बढेको प्रहरीको भनाइ छ ।

सहकारी संचालकमा महत्वकांक्षा बढी हुदाँ र सदस्यहरु जागरुक नहुँदा ठगी घटना बढ्दै गएको सहकारी विभागले जनाएको छ । सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेकाले सर्वसाधारणको बचत रकम जोखिम समेत रहेको बताइएको छ । सहकारीहरुले घरजग्गा, सेयर कारोबार सवारी साधान लगायतका अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । तर, पछिल्लो समयको आर्थिक संकटका कारण त्यहाँबाट प्रतिफल राम्रो आउन सकेको छैन । फलस्वरुप बचतकर्ताको बचत रकम समेत जोखिममा परेको जानकारहरु बताउँछन् । यी यस्ता कारण सहकारी गठीको मुद्दा बढ्दै गएको अनुमान छ । चालु आवको बैशाख र जेठमा पनि धेरै संख्यामा सहकारीले बचतकर्ताको रकम जोखिममा पारेर फरार छन् । जसले सहकारी ठगी मुद्दा झनै डरलाग्दो छ । यद्यपि, यथेष्ट तथ्याङ्क आईनसकेको प्रहरी जनाएको छ ।

प्रत्येक वर्ष बढ्दै सहकारी ठगीको मुद्दा, यस्तो पछिल्लो पाँच वर्षको तथ्याङ्क

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा १ करोड १२ लाख ६४ हजार रुपैयाँ बराबरको बिगो दावी सहित प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने व्यक्तिमध्ये ६ जना पुरुष थिए भने १ जना महिला रहेको थियो ।

यस्तै, आव २०७५/७६ मा ६ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा कुल ७६ लाख ५४ हजार ९३० बिगो दावीसहित ६ जना पुरुष र २ जना महिला गरि कुल आठ जना व्यक्ति पक्राउ गरेका थिए ।

प्रहरीको तथ्याङ्क अनुसार आव २०७६/७७ मा २६ करोड १२ लाख १८ हजार रुपैयाँ बिगो दावी माग सहित आठ वटा मुद्दा दर्ता भएको थियो । सो घटनामामा १३ जना व्यक्ति पक्राउ गरेका थिए । पक्राउ पर्नेमध्ये ९ जना पुरुष र ४ जना महिला थिए ।

त्यसैगरि आव २०७७/७८ मा भने सबैभन्दा धेरै अर्थात ७७ जना सहकारी ठगी मुद्दामा पक्राउ गरेका थिए । सो आवमा कुल १ अर्ब ११ करोड ४५ लाख १२ हजार रुपैयाँ बराबरको बिगो माग दावी सहित २० वटा मुद्दा दर्ता भएको थियो । गत आव २०७८/७९ मा भने कुल ४७ जना सहकारी ठगी मुद्दामा पक्राउ गरेका थिए । सो आवमा सहकारी ठगी सम्वन्धी १५ वटा मुद्दा दर्ता भएको थियो ।

प्रहरीको तथ्याङ्क अनुसार गत आवमा ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दावी सहित मुद्दा दर्ता भएको थियो । सो मुद्दामा ४१ जना पुरुष र ६ जना महिला गरि कुल ४७ जना व्यक्ति पक्राउ गरेका थिए । चालु आवको फागुन मसान्तसम्ममा भने ७९ करोड ७० लाख ५ हजार रुपैयाँ बिगो दावी सहित मुद्दा दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्