११ वटा वाणिज्य बैंकका सीईओको तलब भत्ता सार्वजनिक, कुन बैंकका सीईओको तलब कति ? « Arthapath.com
२२ पुष २०७७, बुधबार

११ वटा वाणिज्य बैंकका सीईओको तलब भत्ता सार्वजनिक, कुन बैंकका सीईओको तलब कति ?



काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मध्ये ११ वटा बैंकका सीईओहरुको आर्थिक वर्ष २०७६÷०७७ को तलब भत्ता सार्वजनिक भएको छ । सार्वजनिक भएका बैंकको सीईओमा सबैभन्दा बढि तलब भत्ता बैंक अफ काठमाण्डूका सीइओले लिएका छन्, भने सबैभन्दा कम तलब भत्ता सिटिजन्स बैंक इन्टरनेशनलका सीइओले बुझेको देखिएको छ ।

कुन बैंकका सीईओको कति तलब ?

१. बैङ्क अफ काठमाण्ड लिमिटेड
बैङ्क अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलले गत बर्ष २ करोड ८१ लाख रुपैंया तलब लिएका छन् । अघिल्लो आर्थिक बर्षमा २ करोड ३२ लाख रुपैंया तलब लिएका पन्तले गत बर्ष करिब २०.८९ प्रतिशत बढी तलब लिएका हुन् ।

२. एनआईशी एशिया बैङ्क लिमिटेड
एनआईशी एशिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गत आर्थिक वर्ष २ करोड ५० लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक बर्ष २ करोड १३ लाख रुपैंया तलब बुझेका उनले गत बर्ष करिब १७.२७ प्रतिशत बढी रकम लिएको पाइएको हो ।

३.कुमारी बैङ्क लिमिटेड
कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले गत आर्थिक बर्षमा २ करोड ३८ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक बर्षमा २ करोड १४ लाख रुपैंया तलब बुझेका उनले गत बर्ष ११.०३ प्रतिशत बढी लिएका हुन् ।

४. माछापुच्छ्रे बैङ्क लिमिटेड
माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सीइओ सन्तोष कोइरालाले गत आर्थिक बर्ष २ करोड १३ लाख रुपैयाँ तलव बुझेका छन् । अघिल्लो आर्थिक बर्षमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले १ करोड १८ लाख मात्रै तलब बुझेका हुन् । शर्माकोभन्दा कोइरालाले दोब्बर तलब लिएका छन् ।

५. सानिमा बैङ्क लिमिटेड
सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन कुमार दाहालले गत आर्थिक वर्षमा १ करोड ४६ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक वर्षमा २ करोड ८ लाख रुपैयाँ तलब लिएकक उनले गत बर्ष भने करिब ३० प्रतिशत कम तलब लिएका हुन् ।

६. सनराइज बैङ्क लिमिटेड
सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनकराज शर्मा पौड्यालले गत वर्ष बैङ्कबाट १ करोड ३१ लाख रुपैंया तलब बुझेका छन् । उनले अघिल्लो वर्षको भन्दा गत बर्ष ६ प्रतिशत बढी तलब लिएको खुलासा भएको हो ।

७. सिटिजन्स बैङ्क लिमिटेड
सिटिजन्स बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलले गत आर्थिक बर्षमा १ करोड ३१ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो वर्षमा १ करोड ७९ लाख रुपैंया बुझेका थिए । तर, यो रकम तात्कालिन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र पोखरेलले संयुक्त रुपमा बुझेको थिए ।

८. नेपाल इन्फ्रास्टक्चर बैंक
नेपाल इन्फ्रास्टक्चर बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल ज्ञवाली १ करोड ३२ लाख रुपैयाँ तलब बुझेका छन् । नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुपेन्द्र पाण्डेको तलब यहि हाराहारीमा हुने छ ।

९.नेपाल एसबीआइ बैंक लिमिटेड
नेपाल एसबीआइ बैंकले तत्कालिन प्रमुख कार्यकारी (सीइओ) अनुकुल भटनागरले गत आर्थिक बर्षमा १ करोड ७४ लाख ५९ हजार रुपैयाँ तलब बुझेका छन् । तर, प्रमुख कार्यकारीसहित भारतबाट आएका कर्मचारीलाई स्टेट बैंक अफ इण्डियाले तलब दिने गरेको छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दीपककुमार दे कार्यरत छन् ।

१०. नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत आर्थिक बर्षमा १ करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन् । उनले अघिल्लो वर्ष पनि यहि हाराहारीमा तलब बुझेका थिए ।

११. नबिल बैङ्क लिमिटेड
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले गत आर्थिक बर्षमा १ करोड ६२ लाख रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक बर्षमा १ करोड ९८ लाख रुपैयाँ तलब बझेका शाहले गत बर्ष भने १८.०७ प्रतिशत कम तलब लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्