धान उत्पादनमा कीर्तिमानी आँकडा, रोपाइँको क्षेत्रफल घट्दा पनि कसरी बढ्यो उत्पादन ? « Arthapath.com
२३ पुष २०८०, सोमबार

धान उत्पादनमा कीर्तिमानी आँकडा, रोपाइँको क्षेत्रफल घट्दा पनि कसरी बढ्यो उत्पादन ?



काठमाडौं । यो वर्ष नेपालमा कीर्तिमानी धान उत्पादन भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार नेपालमा चार वर्ष यताकै धेरै धान उत्पादन भएको हो । चालु आर्थिक वर्षमा कुल ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ ।

यो आव २०७६/७७ पछि यताकै सबैभन्दा धेरै हो । धान खेती गरिएको जमिनको क्षेत्रफलमा गिरावट देखिएता पनि उत्पादन भने बढेको पाइएको छ । चालु आवमा धानको कुल उत्पादन ४.३३ प्रतिशतले बढेको हो । 

कृषि मन्त्रालयले सातै प्रदेशका कृषिसँग सम्बन्धित मन्त्रालयहरूबाट जिल्लागत रूपमा प्राप्त भएका प्रारम्भिक आँकडा, आइसीआइएमओडीसँगको सहकार्यमा स्याटलाइट इमेजको प्रयोगबाट धान बालीको क्षेत्रफल तथा चालु आवमा भएको रोपाइँको आँकडालाई प्रमुख आधार मानी उत्पादनको अनुमान तयार गरेको  हो । 

विगत चार वर्षको औसत उत्पादनको तुलनामा यो वर्ष ५.०८ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ । चार वर्षको औसत धान उत्पादन ५४ लाख ४७ हजार ४२१ मेट्रिक टन रहेको छ, धान लगाइएको क्षेत्रफल भने १४ लाख ६४ हजार ३८९ हेक्टर रहेको छ । यस्तै, चार वर्षको औसत उत्पादकत्व भने ३.७२ प्रतिशत छ । 

मन्त्रालयका अनुसार आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, आव २०७७/७८ मा पनि ५६ लाख २१ हजार ७१० मेट्रिक टन, आव २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ र गत आव २०७९/८० मा भन्  ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । तर, यो वर्ष भने थप २ लाख ३७ हजार ७६२ मेट्रिक टन धान उत्पादन भएको छ । 

स्रोत: कृषि तथा पशुपक्षी मन्त्रालय

धान खेतीको क्षेत्रफल घट्दा पनि कसरी बढ्यो उत्पादन ?

यो वर्ष धान उत्पादन वृद्धि भएता पनि क्षेत्रफल भने निरन्तर घट्दै भएको छ । गत आवमा कुल १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान लाइएको थियो । तर, यो वर्ष भने ८ हजार ८०० हेक्टरले घटेर १४ लाख ३८ लाख ९८९ हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।

विशेष गरी यो वर्ष धानको उन्नत बिउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा आएको कमीले नै उत्पादन वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ । 

यस्तै, बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलताका कारण उत्पादनमा बढोत्तरी आएको हो । 

सबैभन्दा धेरै धान कोसी प्रदेशमा फल्यो, कहाँ कहाँ भयो धेरै उत्पादन ?

मन्त्रालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै धान कोसी प्रदेशमा उत्पादन भएको छ । सो प्रदेशमा यो वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान फलेको । कोसीमा यो वर्ष कुल ३ लाख २४ हजार ४०१ क्षेत्रफलमा धान लगाइएको थियो । 

सातै प्रदेशमध्ये ६ वटामा धान उत्पादन वृद्धि भएको तथ्याङ्क छ । गत वर्षको तुलनामा मधेश प्रदेशमा धान उत्पादन ३.६८ प्रतिशतले घटेर १३ लाख ३७ हजार ६७२ मेट्रिक टन कायम भएको छ । गत वर्ष सो प्रदेशमा कुल १३ लाख ८८ हजार ८४१ मेट्रिक टन धान फलेको थियो । 

यो वर्ष  सबैभन्दा कम धान भने कर्णाली प्रदेशमा १ लाख ४५ हजार ६३ मेट्रिक टन मात्रै फलेको छ । यस्तै, उत्पादन वृद्धि भने लुम्बिनी प्रदेशको धेरै छ । सो प्रदेशमा यो वर्ष १३.८६ प्रतिशतले उत्पादन बढेर १३ लाख १० हजार ८२९ मेट्रिक टन पुगेको छ ।

 


प्रतिक्रिया दिनुहोस्