निरन्तर घट्दै महँगी र ब्याजदर, राष्ट्र बैङ्कको आँकडाले देखाएको मुलुकको अर्थतन्त्र कस्तो ? « Arthapath.com
२८ फाल्गुन २०८०, सोमबार

निरन्तर घट्दै महँगी र ब्याजदर, राष्ट्र बैङ्कको आँकडाले देखाएको मुलुकको अर्थतन्त्र कस्तो ?



काठमाडौं । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको वर्तमान आर्थिक गथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकको आँकडाअनुसार अर्थतन्त्र सुधारको गतिमा अघि बढेको पाइन्छ । महँगी र ब्याजदर घट्दो नै छ । तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (महँगी) ५.०१ प्रतिशत रहेको छ ।

आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । रेमिट्यान्स (विप्रेषण आप्रवाह) रुपैयाँमा २१.६ प्रतिशत वृद्धि भएको देखिन्छ । यस्तै, शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ भने कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

नेपाल सरकारको खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड रहेको छ । त्यसैगरि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।

वाञ्छित सीमा भित्रै बजार महँगी

हाल बजार महँगी वाञ्छित सीमा भित्रै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा बजार महँगी साढे ६ प्रतिशत भित्रै राख्ने लक्ष्य राखेको छ । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहकोमुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।

गत माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमश: ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो । माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.८२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.६७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमश: ७.०५ प्रतिशत, ०.७२ प्रतिशत र १.७९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.३२ प्रतिशतले घटेको छ ।

वैदेशिक व्यापार: चीनतर्फको व्यापारमा उल्लेख्य वृद्धि, भारत र अन्य मुलुकतर्फको भने घट्यो

चालु आवको सात महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आएको छ । समिक्षा अवधिमा नेपालले कुल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमश: ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ ।

समिक्षा अवधिमा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमश: २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयात तर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । सात महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले कमी आई ८ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ ।

२१ प्रतिशत बढ्यो नेपाल भित्रने रेमिट्यान्स, सात महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो

समीक्षा अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) पनि वृद्धि भएको छ । सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको माघ मसान्तसम्मको तुलनामा २१.६ प्रतिशत बढी हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर २० प्रतिशतले वृद्धि भई ९ अर्ब १० अर्ब ७४ करोड पुगेको छ ।

चालु खाता १६१ अर्ब र शोधनान्तर स्थिति २९७ अर्बले बचतमा

समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई ३ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।

विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै: १३ अर्ब ८९ करोड डलर सञ्चित

समिक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिति पनि १९.९ प्रतिशत वृद्धि भएको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति बढेर माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ ।

dollar

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशत बढेर १३ अर्ब ८९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि १४.२ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समिक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् ।

सात महिनामा सरकारको खर्च ६८६ अर्ब, राजश्व परिचालन कति ?

सात महिनामा नेपाल सरकारको कुल खर्च ६८६ अर्ब ७५ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो सात महिनामा १३.० प्रतिशत वृद्घि भएकोमा, समीक्षा अवधिमा २.९ प्रतिशतले वृद्घि भएको छ । समीक्षा अवधिमा चालु खर्च ५ अर्ब ९ अर्ब ४ करोड, पुँजीगत खर्च ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब १४ अर्ब १३ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५ खर्ब ६७ अर्ब ४० करोड भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १६.१ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १०.२ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ५ खर्ब १० अर्ब ५० करोड र गैर कर राजस्व ५६ अर्ब ९१ करोड परिचालन भएको छ ।

७ प्रतिशत बढ्यो निक्षेप, बढ्दै कर्जा लगानी

समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप पनि ७ प्रतिशत बढेको छ । सात महिनामा निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड ले बढेको हो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको छ ।

माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमश: ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो। माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो।वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशत, गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ ।

घट्दै बैंकको आधार दर, सस्तिँदै कर्जाको ब्याजदर

पछिल्लो समय बैंकहरुको ब्याज पनि घट्दै गएको छ । गत वर्ष २०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेको थियो । तर, चालु आवको माघमा ३.३४ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर गत वर्षको माघमा ५.२९ प्रतिशत रहेको हाल ३.०४ प्रतिशत रहेको छ ।

हाल वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो ।

गत माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ । गत वर्षको माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ । गत वर्षको माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्