सुन्नियो अर्थतन्त्र, चालु खातामा अस्वाभाविक बचत « Arthapath.com
२३ चैत्र २०८०, शुक्रबार

सुन्नियो अर्थतन्त्र, चालु खातामा अस्वाभाविक बचत



काठमाडौं । आन्तरिक उत्पादन र रोजगारीमात्रै होइन, उपभोगमा पनि कमी आएको बेलामा बाह्य क्षेत्रको सन्तुलन भने पुनः बिग्रिन थालेको छ । देशबाट बाहिरिनेभन्दा भित्रिने पैसा असाध्यै धेरै भएपछि नयाँ ढंगको समस्या देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्षको आर्थिक अवस्था दर्शाउने मासिक प्रतिवेदनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार गत फागुन मसान्तसम्म नेपालको चालु खाता बचत १ खर्ब ६६ अर्ब ८७ करोड पुगेको छ । यो गतसालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३.१ प्रतिशत हो ।

नेपालमा यस प्रकारका तथ्यांक सुरक्षित गर्न थालिएको पछिल्ला ४९ वर्षमा जम्मा १७ पल्टमात्रै चालु खाता बचतमा देखिएका छन् । अर्थशास्त्रीहरुका अनुसार चालू खाता केही न केही बचतमा रहनु राम्रो मानिने भए पनि नेपालजस्तो देशका लागि यति धेरै बचत हुने ‘घातक’ हुन्छ ।

‘नेपालको अर्थतन्त्रको आकारलाई हेर्दा करीब ४०–५० अर्ब नाफा वा त्यति नै घाटामा हुनुलाई उचित मान्नुपर्छ’ राष्ट्र बैंकका एक अधिकारी भन्छन् । साँघुरो अन्तरमा चालु खाता व्यवस्थापन गर्न सकिए मात्रै त्यो सन्तुलित हुने ती अधिकारीले बताए ।

विज्ञका अनुसार नेपालजस्तो देशले यतिधेरै पैसा बचत गर्नु भनेको ‘सुन्निएर मोटाउनु’ जस्तै हो । दुई कारणले नेपालले यसरी चालु खातालाई अधिक बचतमा राख्नु हुँदैन । पूँजीको ओहोरदोहर गर्न प्रतिबन्ध लगाइएको नेपाली अर्थतन्त्रमा चालु खातामात्रै त्यस्तो औजार हो, जसले अर्थतन्त्रमा भित्रिने र बाहिरिने पैसाको वास्तविक चित्रण देखाउँछ ।

डेढ वर्षयता आयातमा देखिएको गिरावट र रेमिटेन्समा भइरहेको लगातारको बृद्धिले गर्दा चालू खाता बचत आकाशिएको छ । हाम्रोजस्तो अति कम विकसित देश र आयातमा निर्भर अर्थतन्त्रका निम्ति यो निकै खराब परिस्थिति हो ।

चालु खातामा भइरहेको यतिधेरै बृद्धिले देशमा ‘विकासका गतिविधी रोकिएको’ र ‘उपभोगमा कमी आएको’ संकेत गर्छ । अहिले सरकारलाई राजस्व कम भएर खर्च धान्नै धौधौ पर्नुको मुख्य कारण पनि यही हो । विदेशी लगानीकर्ताहरुलाई विस्वासमा लिन केही हदसम्म चालु खाता बचत हुनुपर्ने भए पनि अहिले अधिक बचतको भारीले अर्थतन्त्र नै थिचिने अवस्था आएको छ ।

नेपाली अर्थतन्त्रमा भूकम्पको बेला यस्तै गरी चालु खाता बचत बढेको थियो । त्यसबेला विदेशमा भएका नेपालीले आफ्ना परिवारलाई सामान्य समयको तुलनामा बढी पैसा पठाए भने अन्तरराष्ट्रिय सहायता पनि उल्लेख्य मात्रामा बढ्यो । यसको परिणामस्वरुप त्यस बेला चालु खाता बचत चुलिएको भए पनि अहिले भने अर्थतन्त्र नै सुस्त भएर यस्तो बचत बढेको छ ।

कस्तो अवस्थामा बचत राम्रो ?

संसारमा दुई किसिमका देशले चालु खाता बचतमा राख्ने गरेका छन् । पहिलो, चीन, जर्मनी, जापान, कोरियाजस्ता असाध्यै धेरै औद्योगिक वस्तु उत्पादन गरेर निर्यात गर्ने देशहरु हुन् । अर्को चाहीँ रूस, नर्वे, साउदी अरेबियाजस्ता प्राकृतिक स्रोत (पेट्रोलियम पदार्थ) विक्री गर्ने देशहरु हुन् ।

यसरी जुनसुकै रुपमा वस्तु निर्यात गरेर पैसा कमाउने मुलुकहरु चालु खाता बचतमै रहँदा पनि प्रगति गर्न सक्षम हुन्छन् । यस्ता देशले ब्यापाक मात्रामा वस्तु तथा सेवा उत्पादन गरेर संसारभर बेच्छन् र पैसा बटुल्छन् । त्यस्ता देशसँग चालु खाता बचत बढी हुन्छ ।

तर अमेरिकाजस्ता देशले संसारभर पूँजी लगानी गरेर त्यसको प्रतिफल प्राप्त गर्छन् । यस्तो खाले पूँजी लाभबाट उनीहरु उपभोग्य वस्तु किन्छन् र आम्दानी तथा खर्चलाई सन्तुलनमा राख्छन् । नेपालको हकमा आयातलाई थेग्ने एउटै माध्यम रेमिटेन्स हो ।

पेट्रोलियमजस्ता प्राकृतिक स्रोत नभएको वा त्यसको उत्खनन सुरु नगरिएको, पूर्वाधार विकासमा खासै काम नभइसकेका कारण धेरै लगानी गर्न आवस्यक भएको र बाँच्नैका लागि वस्तु आयात गर्नुपर्ने बाध्यता भएको नेपालका लागि ढुकुटीमा बढी पैसा थुपार्नु राम्रो होइन ।

हाम्रोजस्तो देशमा अक्सर चालु खाता थोरै घाटामै रहँदा अर्थतन्त्रको विस्तार सुदृढ हुन्छ । चालु खातामा पैसा थुप्रिँदा लगानी नबढ्ने भएकाले त्यसले आर्थिक बृद्धि हुन दिँदैन । नयाँ रोजगारी सिर्जना हुँदैन । उत्पादन बढ्नैन । आयात निरुत्साहित हुने अवस्था पनि हुँदैन ।

तर चालु खाता घाटा असाध्यै धेरै बढ्नु पनि आफैँमा राम्रो होइन । २०७९ असारमा नेपालको चालु खाता ६ खर्ब २३ अर्ब ३७ करोड ६५ लाख घाटामा पुगेको थियो । यो भनेको त्यस बेलाको जीडीपीको १२.६४ प्रतिशत हो । अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार चालु खाता घाटा अर्थतन्त्रको ६ प्रतिशतभन्दा माथि गयो भने नीतिगत हस्तक्षेप गर्नुपर्ने हुन्छ । यस्तो घाटा १० प्रतिशतभन्दा बढी हुनुलाई ‘खराब हालत’ मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्