जीडीपीमा बागमती प्रदेशको हिस्सा सर्वाधिक, आर्थिक वृद्धिदर भने गण्डकीको धेरै « Arthapath.com
९ जेष्ठ २०८१, बुधबार

जीडीपीमा बागमती प्रदेशको हिस्सा सर्वाधिक, आर्थिक वृद्धिदर भने गण्डकीको धेरै



काठमाडौं । देशको राष्ट्रिय कुल गार्हस्थ उत्पादन (जीडीपी)मा बागमती प्रदेश योगदान सर्वाधिक हुने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा अनुमानसम्वन्धी सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरेको छ । त्यसमा बागमती प्रदेशको योगदान ३६.४ प्रतिशत हुने उल्लेख छ । सो प्रदेशको अर्थतन्त्रको आकार भने २० खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।

कार्यालयका अनुसार अर्थतन्त्रमा दोस्रो धेरै योगदान कोशी प्रदेश रहेको छ । कोशी प्रदेशको हिस्सा १५.८ प्रतिशत छ भने अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै, अर्थतन्त्रमा लुम्बिनी प्रदेशको १४.३ प्रतिशत रहेको कार्यालयले जनाएको छ । लुम्बिनीको अर्थतन्त्रको आकार भने ८ खर्ब १४ अर्ब छ । त्यसैगरि मधेश प्रदेशको १३.१ प्रतिशत, गण्डकी प्रदेशको ९.१ प्रतिशत, सुदूर पश्चिम प्रदेशको ७.१ प्रतिशत रहने छ । कार्यालयका अनुसार यी प्रदेशहरुको अर्थतन्त्रको आकार क्रमशः ७ खर्ब ४८ अर्ब, ५ खर्ब १७ अर्ब, ४ खर्ब ४ अर्ब अर्ब रहने कार्यालयले जनाएको छ । चालु आवको सबैभन्दा हिस्सा कर्णाली प्रदेशको देखिएको छ । कर्णाली प्रदेशको ४.३ प्रतिशत योगदान रहने अनुमान छ, जसको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब छ ।

कार्यालयका अनुसार गत आव २०७९/८० को संशोधित अनुमान बमोजिम कुल गार्हस्थ उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा मात्र परिवर्तन भएको छ । गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदूर पश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ ।

आर्थिक वृद्धिदर कस्तो ?

प्रादेशिक आर्थिक वृद्धिदरमा भने गण्डकी प्रदेश पहिलो नम्बरमा देखिएको छ । चालु आव २०८०/ ८१ को प्रारम्भिक अनुमान बमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर गण्डकीको सबैभन्दा धेरै हिस्सा हुने कार्यालयको अनुमान छ । चालु आवमो गण्डकीको आर्थिक वृद्धिदर ४.५५ प्रतिशत हुने अनुमान छ ।

यस्तै, चालु आवमा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत, बागमती ३.९६ प्रतिशत, मधेशको ३.५१ प्रतिशत, सुदूरपश्चिमको ३.४१ प्रतिशत र कर्णालीको सबैभन्दा ३.३९ प्रतिशत हुनेछ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकि प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्