ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने चेतावनी « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने चेतावनी



काठमाडौं । ट्रेड युनियन खारेज नगर्न नेपाल निजामती कर्मचारी संगठनले चेतावनी दिएको छ । सातौं केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको उनले बताए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरूले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै उनले आपत्ति जनाएका हुन । उनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत बताए ।

कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको उनको छ । संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्