कोरियाले एक महिनापछि नेपालबाट कामदार लाने, कति जान्छन् पहिलो लटमा ? « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

कोरियाले एक महिनापछि नेपालबाट कामदार लाने, कति जान्छन् पहिलो लटमा ?



काठमाडौं । कोरियाले आगामी महिनादेखि नेपाली कामदार लैजान सक्ने संकेत गरेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि नेपालबाट कामदार कोरिया जान पाएका छैनन् । यसअघि नै सबै प्रक्रिया पुरा गरेर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई अर्को महिनादेखि लैवजानसक्ने संकेत आफूहरुले पाएको इपिएस शाखाका अधिकारीहरुले बताएका छन् ।

सन् २०१७ देखि नै कोरिया जाने प्रक्रियामा रहेको युवाहरु अहिलेसम्म रोकिएका छन् । महामारीका कारण नेपालबाट सिधा उडानमा लैजानु पर्ने भएकाले पनि कहिलेदेखि कामदार लाने र कति संख्यामा लाने भन्ने चाहीँ टुंगो लागिसकेको छैन । यता ७ हजारभन्दा बढी नेपाली कोरियामा कामदार बन्न जाने प्रतीक्षामा छन् ।

कोरिया नेपाली कामदारका लागि निकै आकर्षक गन्तव्य हो । नेपालीहरु भारत, मलेसिया र पश्चिम एसियाका खाडी मुलुकमा बढी मात्रामा रोजगारीका लागि जाने गरेका छन् । पछिल्लो समय नेपालीको नयाँ गन्तव्यको रुपमा कोरिया उदाएको हो । जम्मा ५ लाख रुपैयाँ खर्च गरेर कोरिया पुग्ने नेपालीले मासिक १ लाख ६० हजारदेखि ३ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।

कोरियाले अहिले नेपालसहित १६ देशबाट कामदार लैजान्छ । तर कोरोनापछि श्रीलंका, कम्बोडिया र थाइल्याण्डबाटमात्रै कामदार लैजान थालेको छ । बाँकी १३ देशबाट कामदार लगेको छैन । विस्तारै नेपालमा पनि कोरोना संक्रमण कम हुँदै गएको र खोप लगाउनेको संख्या बढेको भन्दै कामदार लैजान कोरियाले चासो देखाएको हो ।

नेपाली कामदार लानका लागि कोरियाले तीन शर्त अघि सारेको छ । नेपालबाट कोरोना जाने कामदारले कोरोना संक्रमण नभएको पुष्टि गर्ने गरी ४८ घण्टा भित्र गरिएको पिसिआर परिक्षणको रिपोर्ट प्रस्तुत गर्नुपर्ने छ । त्यसपछि काठमाडौंबाट सिधै कोरियाको उडान गरेर मात्रै लैजाने तयारी गरेको हो । उहाँ पुगिसकेपछि पनि १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टीन बस्नुपर्ने छ ।

इपिएस प्रणाली मार्फत हालसम्म ३१ हजार ४ सय ३१ नेपाली कोरियामा कार्यरत छन् । कोरियाले कृषि र औद्योगिक क्षेत्रमा नेपालबाट कामदार लैजाने गरेको छ । नेपालमा अहिलेसम्म ५ लाख ८९ हजार ६ सय १८ जनाले कोरिया भाषा परिक्षाका लागि आवेदन दिएका थिए । यसमध्ये ७७ हजार ३ सय ७७ जनाले भाषा परिक्षा उत्तिर्ण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्