लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर बनाउने प्रधानमन्त्रीको घोषणा « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर बनाउने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्ध जन्मथलो लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरको रुपमा विकास गर्ने घोषणा गरेका छन् । उनले विश्व नै अन्धविश्वास र असहिष्णुताले ग्रसित भएको बेला एसियाले बौद्ध धर्मलाई जन्म दिएको भन्दै यस्तो घोषणा गरेका हुन् ।

जापानको प्रतिष्ठित मिडिया हाउस निक्केइ इन्कार्पेरेसनले शुक्रवार आयोजना गरेको ‘एसियाको भविष्य’ शीर्षकको २६ औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । उनले तत्कालका लागि कोभिड-१९ महामारीविरुद्ध एकजुट भएर लड्न सबै एसियाली मुलुकसमक्ष आग्रह गरे ।

यसका साथै कोरोना भाइरस विरुद्धको खोपको निष्पक्ष वितरण र पेटेन्ट अधिकार दिन विकसित मुलुकहरुलाई आग्रह गरे । ‘कोभिडले थलिएको विश्वको पुनरुत्थानमा एसियाली भूमिका’ विषयमा आयोजना गरिएको उक्त सम्मेलन सत्रमा नेपालसहित भारत, मलेसिया, भियतनाम, थाइल्यान्ड लगायतका मुलुकका प्रधानमन्त्री तथा विदेशमन्त्रीले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीले कोरोनाभाइरस संक्रमणबारे नेपालको पछिल्लो अवस्थाको जानकारी गराए । उनले परीक्षण, रोकथाम र उपचारमा जोड दिइएको एसियाली समकक्षीहरुलाई सुनाए । साथै, अक्सिजन र खोप आपूर्तिका लागि उनले आग्रह सबैसँग आग्रह पनि गरे ।

कोभिड-१९ महमारीसँग जुधिरहेका मुलुकको सहायताका लागि विकसित मुलुकहरुले प्राथमिकता निर्धारण गर्नुपर्नेमा उनको जोड थियो । सहकार्य, साथ र सह-अस्तित्व एसियाको चरित्र भएको भन्दै उनले खोप सहायतालाई प्राथमिकता दिन आग्रह गरे ।

कोभिड-१९ महामारीका कारण नेपालले पूर्वनिर्धारित सगरमाथा संवाद स्थगित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले स्थगित सम्मेलनलाई सन् २०२१ को अक्टोबरमा आयोजना गरिने जानकारी गराए । यो सम्मेलनमा सहभागिताका लागि उनले सबै मुलुकलाई आग्रह गरे ।

उक्त छलफल सत्रलाई ओलीसहित पाकिस्तानी प्रधानमन्त्री इमरान खान, मलेसियाली पूर्वप्रधानमन्त्री महाथिर बिन मोहम्मद, थाइल्यान्डका प्रधानमन्त्री प्रत्युत चान चाले समेत सम्बोधन गर्ने जनाइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी किटसहित अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलका एसिया मामिला हेर्ने बरिष्ठ निर्देशक इभान मेडेइरोस पनि वक्ताका रुपमा रहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्