१०.८४ प्रतिशतले बढ्यो बीमाको दायरा : ४४.२५ प्रतिशत जनसंख्यामा बीमा पहुँच, प्रिमियममा झिनो सुधार « Arthapath.com
२३ माघ २०७९, सोमबार

१०.८४ प्रतिशतले बढ्यो बीमाको दायरा : ४४.२५ प्रतिशत जनसंख्यामा बीमा पहुँच, प्रिमियममा झिनो सुधार



काठमाडौं । नेपालमा बीमाको दायरा १०.८४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो एक वर्षमा ४४.२५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको हो ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा ४४.२५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका हुन् ।

जनसंख्याको विवरण राष्ट्रिय तथ्याङ्क कार्यालय २०७८ सालमा प्रकाशित गरेको प्रारम्भिक प्रतिवेदनमा जनसंख्या र वैदेशिक रोजगार बीमालेखको संख्यामा आधारमा गणना गरिएको प्राधिरणले जनाएको छ ।

जसमा म्यादि, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित समावेश गरिएको हो । गत वर्षको मंसिर मसान्तसम्ममा भने बीमा दायरामा आएको जनसंख्या प्रतिशत ३३.४१ रहेको थियो ।

साढे तीन लाखले बढ्यो जीवन बीमालेख, ६.११ प्रतिशतले घट्यो निर्जीवनमा बीमालेख

पछिल्लो एक वर्षमा थप साढे तीन बढी जीवन बीमालेख जारी भएको छ । चालु आवको पुस मसान्तसम्ममा १ करोड ४१ लाख ९ हजार १५० वटा बीमालेख बिक्री भएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने जीवन बीमालेख ३४.८८ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्ममा भने १ करोड ४ लाख ६० हजार १४१ बीमालेख जारी भएको थियो । जीवन बीमा शुल्क भने १.४ प्रतिशतले मात्र बढेको छ । चालु आवको ६ महिनामा जीवनी कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत वर्षको सोही अवधिमा भने ७० अर्ब ९१ करोड ३९ लाख ६२ हजार रुपैयाँ जीवन बीमा शुल्क संकलन भएको थियो ।

यस्तै, निर्जीवन तर्फ भने ६.११ प्रतिशतको गिरावट आएको छ । गत वर्षको पुस मसान्तसम्म १ लाख ८५ हजार ८५१ हजार निर्जीवन बीमालेख जारी भएको थियो । तर, यस वर्षको सोही अवधिमा भने १३ लाख ९५ हजार ३२ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले भने चालु आवको ६ महिनामा २० अर्ब ८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भने ५.१५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ अर्ब ९ लाख ८२ लाख रुपैयाँ प्रिमियम संलकन भएको थियो ।

एक वर्षमा साढे ४ लाखले वैदेशिक रोजगार बीमालेख जारी

एक वर्षको अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्यामा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो एक वर्षमा थप ४ लाख ४३ हजार ७६९ बीमालेख जारी भएका छन् । चालु आवको पुुस मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेखको संख्या ५२.१७ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्ममा जारी वैदेशिक रोजगार बीमालेख ८ लाख ५० हजार ६९० रहेकोमा यस वर्षको सोही अवधिमा भने बढेर १२ लाख ९४ हजार ४५९ पुगेको छ ।

थपिँदै बीमा कार्यालय र कर्मचारीको संख्या

बीमा कार्यालय तथा बीमा कर्मचारीहरुको संख्यामा सामान्य बढोत्तरी देखिएको छ । चालु आवको ६ महिअनामा बीमा कम्पनीहरुको कार्यालय ३.०२ प्रतिशतले वृद्धि भएको छ । योसंगै सो अवधिमा बीमा कम्पनीहरुको कार्यालय ३ हजार ३७८ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा यस्ता कार्यालयहरु ३ हजार २७९ वटा रहेका थिए ।

पछिल्लो एक वर्षको अवधिमा थप ३२६ जना बीमा कर्मचारी थपिएका छन् । गत वर्ष ११ हजार ७०३ जना रहेकोमा यस वर्षको पुस मसान्तसम्ममा २.९२ प्रतिशतले बढेका छन् । योसंगै चालु आवको पुस मसान्तसम्ममा बीमा कर्मचारीहरुको संख्या १२ हजार २९ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्