नेपाली बीमा बजार: शिखर इन्स्योरेन्स र नेपाल लाइफको वर्चश्व कायमै, व्यवसायमा कुन-कुन कम्पनी तगडा ? « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

नेपाली बीमा बजार: शिखर इन्स्योरेन्स र नेपाल लाइफको वर्चश्व कायमै, व्यवसायमा कुन-कुन कम्पनी तगडा ?



काठमाडौं । बीमा व्यवसाय उत्साहजनक देखिएको छैन । गत आर्थिक वर्ष २०७९/८० कम्पनीको व्यवसाय सामान्य वृद्धि भएको छ ।अघिल्लो आवहरुमा उच्च दरमा बढेको बीमा व्यवसाय गत आवमा भने एकल अंकमा वृद्धि भएको हो ।

अघिल्लो आव २०७८/७९ मा जीवन र निर्जीवन बीमा कम्पनीले १ खर्ब ७७ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, गत आवमा भने कम्नपीहरुको बीमा शुल्क आर्जन सामान्य अर्थात २.८५ प्रतिशतले मात्रै वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा कुल १ खर्ब ८२ अर्ब ८८ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार आव २०७७/७८ भने बीमा व्यवसाय १६.४८ प्रतिशतले वृद्धि भएको थियो । त्यस आवमा भन्दा अघि बीमा व्यापार निकै फष्टाएको थियो । अघिल्लो आवसम्ममा दोहोरो अंकले वृद्धि भएको व्यवसाय गत आवमा भने एकल अंकले मात्रै वृद्धि भएको छ ।

तथ्याङ्क अनुसार जीवन बीमा तर्फ सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यापार गरेको छ । जीवन बीमामा नेपाल लाइफको अग्रस्थान कायमै रहेको छ । समिक्षा अवधिमा कम्पनीले कुल ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, निर्जीवन तर्फ भने शिखर इन्स्योरेन्सले नम्वार वानको ताज कायमै राखेको छ । कम्पनीले निर्जीवन बीमा तर्फ सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले साढे ५ अर्ब बढीको व्यापार गरेको छ । मर्जपछि बनेका कम्पनीहरु पनि तगडा बन्दै आएका छन् । व्यवसाय वृद्धिमा प्रतिस्पर्धाका अघि बढेका छन् ।

जीवन बीमा व्यवसायमा २.६४ प्रतिशतको बढोत्तरी

गत आवमा जीवन बीमा व्यवसायले पनि खास गति लिन सकेको छैन । अघिल्लो आवको तुलनामा कम्पनीहरु २.६४ प्रतिशतले व्यवसाय वृद्धि गरेका छन् ।

अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। तर, गत आवमा भने कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३० अर्ब ७४ करोड रुपैयाँ बढी नाफा कमाएका छन्।

गत आवमा पाँच वटा जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । तर, अघिल्लो आवको तुलनामा आइएमई लाइफ, नेशनल लाइफ र सन नेपाल लाइफको व्यवसाय मात्रै दोहोरो अंकमा वृद्धि भएको छ । यी कम्पनीहरुको बीमा शुल्क आर्जन क्रमश: १८.२५ प्रतिशत, १४.४८ प्रतिशत र ११.५९ प्रतिशतले वृद्धि भएको हो ।

पछिल्लो समय देखिएको आर्थिक संकटका कारण जीवन बीमा व्यवसाय पनि प्रभावित भएको हो । बिशेषगरि आर्थिक संकटका कारण नयाँ जीवन बीमा व्यवसायमा ह्रास आएको छ । त्यसले गर्दा कुल व्यवसायको बृद्धिदरनै प्रभावित भएको हो । गत आवमा बैंकिङ तरलता अभाव, महंगी लगायतका कारण बीमा व्यवसाय प्रभावित भएको बताइन्छ । बैंकबाट कर्जा लिएपछि सम्बन्धीत ऋणीले आफ्नो जीवन बीमा गर्नुपर्ने प्रावधान पनि छ । तर, तरलता अभावका कारण कर्जा प्रवाह प्रभावित हुदाँ बीमा व्यवसाय पनि प्रभावित भएको हो ।


निर्जीवन बीमा व्यवसायमा ३.५८ प्रतिशतको ग्रोथ

गत आवमा निर्जीवन बीमा व्यवसायमा पनि खास राम्रो हुन सकेन । समिक्षा अवधिमा कम्पनीहरुको व्यापार ३.५८ प्रतिशतले मात्रै बढेको छ।

निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो आवमा ३९ अर्ब १६ करोड ६९ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, गत आवमा आईपुग्दा १ अर्ब ४० करोड ५२ लाख रुपैयाँले बढाएका छन् । गत आवमा कम्पनीहरुले कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवन तर्फ भने चार वटा कम्पनीको व्यवसाय दोहोरो अंकले वृद्धि भएको छ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । मर्जरमा गई बलिया बनेका कम्पनीले पनि शिखरलाई व्यसायमा भेटाउन सकेका छैनन् । निर्जीवन बीमा व्यवसायमा शिखर अविरल शीर्षस्थानमै रहँदै आएको छ । समिक्षा अवधिमा शिखरले ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनाम कम्पनीले आफ्नो व्यवसाय १०.२३ प्रतिशतले बढाएको हो ।

दोस्रो र तेस्रो स्थानमा भने सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । समिक्षा अवधिमा सगरमाथा लुम्बिनीले ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, सिद्धार्थ प्रिमियरले पनि ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँको व्यापार गरेको छ ।

तर, व्यवसाय वृद्धिमा भने प्रभु इन्स्योरेन्स अगाडि देखिएको छ । एक वर्षमा कम्पनीको व्यवसाय २२.१९ प्रतिशतले बढेको छ। अघिल्लो आवमा १ अर्ब ३५ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा भने १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै, सानिमा जिआइसीको पनि १९.४९ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ४४ लाख, नेशनल इन्स्योरेन्सको १२.३२ प्रतिशतले बढेर १ अर्ब १ करोड ८३ लाख रुपैयाँको पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्