‘५० हजारसम्मको बीमा दाबी भुक्तानी २ घण्टाभित्रै दिन सकिन्छ’ « Arthapath.com
१८ भाद्र २०८०, सोमबार

अन्तर्वार्ता:

‘५० हजारसम्मको बीमा दाबी भुक्तानी २ घण्टाभित्रै दिन सकिन्छ’



दीपककुमार धूत
डिजिएम, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि.

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हालै मात्र दाबी भुक्तानीका निम्ति नयाँ डिजिटल प्रणालीको थालनी गरेको छ । यस प्रणालीले सुरुआत चरणमा निजी सवारी साधन, ट्राभल र घर बीमाको दाबी डिजिटल रूपमा गर्न सक्ने सुविधा दिएको छ । यस किसिमको प्रणाली नेपालमा पहिलो हो । बीमा दाबी र भुक्तानीमा धेरै प्रक्रियागत समस्या भोगिरहेका बिमितले यस अभौतिक प्रणालीबाट लाभ पाउन सक्ने छन् । उक्त प्रणाली सञ्चालनमा विभागीय नेतृत्व गरिरहेका इन्स्योरेन्सका नायब महाप्रबन्धक दीपककुमार धूतसँग अर्थपथले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सिद्धार्थ प्रिमियमले भर्खरै ‘एसपीआईएल–डिजी’ प्रडक्टको सुरुवात गरेको छ । यो प्रडक्ट कस्तो हो ?

अहिलेको समयमा हामीले बीमा लेख जारी गर्दा पुरानो प्रणाली नै अपनाइरहेका छौँ । बिमितले दाबी भुक्तानी पाउनको लागी कम्पनीमै धाइरहेका हुन्छन् । हामीले डिजिटाइजेसनको रूपमा आफ्नो सेवा प्रदान गर्ने सोच बनाइ रहेका थियौँ । सो कार्यका लागि हामीले ‘एसपीआईएल–डिजी’ सुरु गरेका हौँ । यस प्रणालीमा मुख्य दुइटा कुरा छन् । पहिलो त हाम्रो दाबी भुक्तानीको स्थित के छ ? प्रक्रिया कहाँ पुग्यो ? फर्स्योटमा कति समय लाग्छ ? त्यसका बारेमा विस्तृत जानकारी पाउन सक्छौँ । दोस्रो कुरा भनेको दाबी अनलाइन मार्फत पनि गछौं । ५० हजारसम्मको क्षति भएको अवस्थामा मोटर भेहिकलको लागि तुरुन्तै भुक्तानी गर्छौँ । अहिले हामीले निजी सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनको लागि यो सुविधा दिएका छौँ ।

बीमा दाबी गर्ने बित्तिकै स्वचालित प्रणालीबाट मोबाइल नम्बरमा ओटिपी (वान टाइम पासवर्ड) नम्बर जान्छ । युजर र पासवर्ड राखिसकेपछि एक लिङ्क आउँछ । उक्त लिङ्कमा बिल बुकको फोटोकपी, ड्राइभिङ लाइसेन्सको कपि, मर्मतको बिल र फोटोग्राफर अपलोड गर्न सक्छन् ।

५० हजारसम्मको दाबीमा तेस्रो मान्छे छैन भने पुलिस रिपोर्ट समेत माग्दैंनौं । अपलोड गरेको २/३ घण्टा भित्रै कागजात प्राप्त भइसक्छ र डिस्चार्ज भौचर समेत अनलाइन मार्फत नै पठाइदिन्छौँ । डिस्चार्ज भौचर प्रिन्ट गरेर पठाइसकेपछि केही घण्टा भित्रै खातामा पैसा जम्मा हुन्छ । यसरी ‘एसपीआईएल–डिजी’ले दाबी भुक्तानीलाई अभौतिक करण गर्न मात्रै होइन, प्रक्रियालाई सरल र झन्झट रहित पनि बनाएको छ ।

यो अनलाइन बीमालेख कसरी लिने ?

बिमितले कम्पनीको वेबसाइटमा गएर अनलाइन पोलिसि समेत खरिद गर्न सक्नेछन् । बिमितहरुको समयको महत्वलाई ध्यानमा राख्दै हामीले अनलाइन मार्फत नै धेरै सुविधा दिएका छौँ ।

‘एसपीआईएल–डिजी’मा कस्ता बिमित आउन सक्छन् ? यसको प्रक्रियाहरू के–के छन् ?

यो प्रणालीले दुई वटा क्षेत्रमा महत्त्वपूर्ण काम गर्छ । बीमा दाबी र बीमा लेख भुक्तानीमा यसले काम गर्छ । दाबीको हकमा हेर्ने हो भने मोटर भेहिकल अन्तर्गत दुईपांग्रे र चार पाङ्ग्रेको अलग्गै व्यवस्था छ । हामीले निजी सवारी साधनलाई बढी जोड दिएका छौँ । ५० हजारसम्मको दाबीमा कागजात ‘अपलोड’ गरेको २ घण्टाभित्रै सम्बन्धित व्यक्तिको खातामा पैसा जान्छ । विदेश जाने मान्छेहरूलाई यात्राका लागि आवश्यक पर्ने बीमा सम्बन्धी सेवा प्रदान गर्नमा हाम्रो मुख्य जोड रहेको छ । त्यसपछि मोटर र घरको बीमा योजनाहरूलाई समेत ‘एसपीआईएल–डिजी’मा समावेश गरेका छौँ ।

प्रविधिमैत्री बीमा योजनाले बिमितको जीवन स्तरमा कसरी सहज र छरितोपना ल्याउँछ ?

हामीले यो सेवा सुरु गरेको तीन हप्ता भयो । यसबिचमा बिमितसम्म पुगेर कर्मचारी साथीहरूले प्रतिक्रिया लिइरहेका छन् । अध्ययनको क्रम पनि जारी नै छ । बजारबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । समयको बचत हुने हुँदा प्रविधिमैत्री सेवाले राम्रो नै हुने कम्पनीको विश्वास छ ।

अहिलेको अवस्थामा बिमितहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

धेरैले सिद्धार्थ प्रिमियरले ल्याएको ‘एसपीआईएल–डिजी’ले बजारमा नयाँ आयाम नै ल्याएको बताइरहेका छन् । यसमा मान्छेको विश्वास समेत बढेको देखिन्छ । प्रक्रियाहरू पनि सजिलो र सरल हुने भएकाले सानोतिनो कामको लागि पनि कार्यालय धाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ ।

चार पाङ्ग्रे सवारीसाधनमा ५० हजारसम्मको दाबी भुक्तानी भन्नु ज्यादै कम भएन र ?

अहिले यो प्रणालीको सुरुआत चरण पनि हो । ‘थ्रेसहोल्ड’ हामीले ५० हजार राखेका छौँ । त्यसलाई बिस्तारै वृद्धि गर्दै लैजान्छौँ । पछिसम्म हामीले २ लाखभन्दा बढी पनि लैजान सक्छौँ । ५० हजार गर्दा पनि सानो आकारको दाबीमा ५० देखि ६० प्रतिशत बीमितले सेवा लिन सक्छ ।

नेपालमा मोटर बीमामा केही झुठा दाबी आएको पाइन्छ । सिद्धार्थले अझ अनलाइन मार्फत फर्छ्योट गर्दा यस्तो समस्या आउने जोखिम कतिको देखिन्छ ?

अहिले यस्ता समस्या देखिइरहेका हुन् । कम्पनीले यस्तै खाले जोखिम नआओस् भनेर नै सुरुवात मै ५–१० लाखसम्म ‘थ्रेसहोल्ड’ नदिएको हो । बीमा भनेको विश्वास पनि हो । अहिले सुरुवात गरौँ । ५० हजारसम्मको लागि बिमितले झुठा दाबी गर्ने अवस्था नहोला ।

बीमितले उक्त प्रडक्ट खरिद गर्नका लागि के कस्ता माध्यम प्रयोग गर्न सक्छन् ?

कम्पनीले केही बीमालेख अनलाइनबाटै बिक्री गरिरहेको छ । कम्पनीको वेबसाइट खोलेर भेहिकल पोलिसि, घर बीमालेख, मोटर बीमालेख लगायत खरिद गर्न सक्नेछन् । अनलाइनबाट खरिद गर्दा सुरुमा वेबसाइटमा गएर आफ्नो व्यक्तिगत विवरण (केवाईसी) भरी प्रमाणीकरण गर्नुपर्छ । त्यसपछि कम्पनीबाट ‘डेबिट एकाउन्ट’ जस्तो कागज पठाउने बित्तिकै खल्ती, ई सेवा, फोन–पे जस्ता माध्यमबाट रकम भुक्तानी गरेर बीमालेख खरिद गर्न सकिन्छ ।

बीमा भुक्तानीमा के कस्ता चुनौती देखिएका छन् ?

यस प्रणालीमा हालसम्म करिब सवा २ सय जति बीमा दाबी परेको छ । त्यसमध्ये १२५ देखि १३० बीमा लेखको भुक्तानी फर्छ्योट भइसकेको छ । ८०–९० वटा दाबीको भुक्तानी हुन बाँकी छ । त्यो पनि के कारण हो भने, कम्पनीले लिङ्क पठाइ सकेपछि बीमा दाबी गर्ने व्यक्तिले नै सम्बन्धित कागजात अपलोड नगरिदिएका कारण भुक्तानीमा ढिलाइ भएको हो । कागजात अपलोड नहुँदासम्म फर्छ्योट हुन सक्दैन । नत्र कागजात प्राप्त भएको ३–४ घण्टा भित्रै भुक्तानी भइसक्ने अवस्था छ ।


प्रतिक्रिया दिनुहोस्