छ महिनामा नेशनल लाइफले कमायो २५ करोड ५१ लाख नाफा, बीमा कोषको आकार साढे ७१ अर्ब पुग्यो « Arthapath.com
२३ माघ २०८०, मंगलवार

छ महिनामा नेशनल लाइफले कमायो २५ करोड ५१ लाख नाफा, बीमा कोषको आकार साढे ७१ अर्ब पुग्यो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकले वृद्धि भएको छ । ६ महिनामा कम्पनीले साढे २५ करोड बढी खुद नाफा कमाएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १६.९१ प्रतिशतले बढेर २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले २१ करोड ८२ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ९.९९ प्रतिशतले बढेर ८ अर्ब २८ करोड ७३ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो बीमा शुल्क ७ अर्ब ५३ करोड मात्रै थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा आएको बढोत्तरीले नै खुद नाफा वृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १४.२२ प्रतिशत बढेर २ अर्ब ६९ करोड २७ लाख रुपैयाँ कायम भएको छ । यता, कुल आम्दानी भने १२.२२ प्रतिशत वृद्धि भई ११ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीले जीवन बीमा कोषमा भने ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ राखेको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने ८.६० प्रतिशत बढी हो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ९० पैसाबाट बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्