ठुला बीमा कम्पनीसँग प्रतिस्पर्धा होइन, सहकार्य हुन्छ: सीइओ भण्डारी [अन्तर्वार्ता] « Arthapath.com
२५ असार २०८०, सोमबार

ठुला बीमा कम्पनीसँग प्रतिस्पर्धा होइन, सहकार्य हुन्छ: सीइओ भण्डारी [अन्तर्वार्ता]



काठमाडौं । नेपालको पहिलो लघुबीमा कम्पनीको रुपमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी गत शुक्रबारदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेशको विराटनगरमा प्रधान कार्यालय स्थापना गरी कम्पनीले कारोबार सुरु गरेको हो । नेपालमा लघुबीमा कम्पनी पुर्णत नयाँ हुन् । त्यसमाथि अप्रत्यक्ष रुपमा लघुबीमा कम्पनीले ठुला कम्पनीसँगै प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । यो अवस्थामा गार्डियन लाइफले आफ्नो व्यवसायीक यात्रा कसरी अगाडि बढाउँछ त ? व्यवसायीक योजनाहरु के-के छन् ? नेपालमा लघुबीमा कम्पनीको व्यवसायीक सम्भावना र चुनौती के छन् त ? प्रस्तुत छ यिनै बिषयमा केन्द्रीत रहेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चिरायू भण्डारीसंग अर्थपथ डटकमका बिक्रम सुनारले गरेको कुराकानीको सम्पादित अंश:

साढे ७ दशक वर्ष लामो इतिहास बोकेको नेपाली बीमा क्षेत्रमा पहिलो पटक लघुबीमा कम्पनी आएको छ । अहिले आएर नेपालमा माइक्रो इन्स्योरेन्सको आवश्यकता किन छ ?

नेपालमा माइक्रो इन्स्योरेन्सको एकदमै आवश्यकता छ । अहिले जे जस्तो भईरहेको छ, त्यसले हुँदैन । मध्यम वर्गीय भन्दा माथिका व्यक्तिहरु मात्र संलग्न छन् । तर, वास्तावमा इन्स्योरेन्स चाहिने भनेको तल्लो तहका मानिसहरुलाई हो, जसलाई एकदमै आवश्यक हुन्छ । जसले धेरै पैसा तिर्न सक्दैनन्, निम्न आय भएका व्यक्ति र परिवारलाई नै माइक्रो इन्स्योरेन्सको आवश्यकता छ । त्यसका लागि हामी एकदमै तल्लो तह, पिछडिएका वर्ग र समुदायमा इन्स्योरेन्स सेवा पुर्याउने गरि आएका छौं, बीमा सेवाका लागि तयार छौं । पूर्ण डिजिटल रुपमा, एकदमै कम कष्टमा, बढी बीमा सेवा प्रदान गर्ने छौं ।

नेपाली मार्केटमा यो नयाँ अभ्यास हो, त्यो अवस्थामा हाम्रो व्यवसायिक रणनीति कस्तो छ ? र गार्डियन माइक्रो कुन रुपमा अन्य भन्दा फरक हुन्छ ?

अहिले अन्य माइक्रो इन्स्योरेन्स कम्पनीहरु पनि आउँदै छन् । तर, हामी प्रतिस्पर्धामा जाँदैनौं । किनभने हामी बिजनेश प्रोमोशन गर्नुछ, हाम्रो टार्गेट ग्रुप भनेको छुट्टै प्रकारका छन् । पुराना ठुला कम्पनी र हाम्रो टार्गेट ग्रुप नै धेरै फरक छ । हाम्रो प्रतिस्पर्धा अहिले भइरेहका कम्पनीहरुसंग पनि होइन, नयाँ आउने माइक्रो इन्स्योरेन्ससंग पनि होइन । हामी आ–आफ्नै ढंगले अगाडि जाने हो । बीमा क्षेत्र एक आपसमा सहकार्य र समवन्य नगरि अघि बढ्ने सक्दैन । हामीले एकता र सहकार्यको भाव सहित यस क्षेत्रमा केही नयाँ देखाउन खोजिरहेका छौं । इन्स्योरेन्स कम्पनी एक आपसमा प्रतिस्पर्धा गरेर बीमा इन्डस्टी अघि बढ्दैन, त्यसैले एक आपसमा सल्लाह गरेर, समन्वय गरेर अघि बढ्छौं । प्रतिस्पर्धा भन्दा पनि लक्षित वर्गसम्म बीमा सेवा पुर्याउने हाम्रो मुख्य उद्देश्य हो । हामीले प्रोफिट दिने भन्दा पनि सर्भिस दिने हो ।

कम्पनीका लागि चुनौती चाही के के हुन सक्छन् ?

हामी पूर्ण रुपमा डिजिटल सिस्टमबाट अघि जाँदैछौं । त्यसमा चुनौतिहरु धेरै नै हुन सक्छन् । मेरो आफ्नो ठाउँबाट चुनौति भनेको इन्टरनेटको हुन्छ कि जस्तो लाग्छ । सबै ठाउँहरुमा डाटा हुँदैन । एक्सीस नहुन सक्छ त्यो ठाउँमा चुनौति हुन सक्छ । डिजिटल सिस्टम प्रयोग गर्नका लागि फुल्ली वाइफाईको व्यवस्था हुनुपर्यो अथवा डाटाको मेकानिजम हुनुपर्यो । यद्यपि, नेपालका हरेक ठाउँ, दुर दराज पनि यस्ता इन्टरनेट र प्रविधिको पहुँच पुगेकाले त्यो चुनौति पनि नहुन सक्छ । केही नपुगेका पालिकाहरुमा पनि हामीले अवारनेस क्रियट गर्छौ । त्यसका लागि खासै समस्या नहुन सक्छ ।

तपाईले भने जस्तो जुन हाम्रो टार्गेट ग्रुप छन्, उनीहरु शिक्षाको पहुँच भन्दा पनि बाहिर छन्, सेवा सुविधाबाट पनि बञ्चित छन् । त्यो अवस्थामा उनीहरु बीमा सम्वन्धी ज्ञानबाट टाढा हुन सक्छन्, त्यो अवस्थामा कम्पनीलाई केही चुनौती आउने हो कि ? यसमा कम्पनीको रणनीति के छ ?

एकदम सहि कुरा हो । हामीले टार्गेट गरेको समूह नै शिक्षा, बीमा सेवा लगायतबाट बञ्चित नै छन् । झन् बीमाको बारेमा त ज्ञान नै नहुन पनि सक्छन् । तर, सुरुवात हामीले उहाँहरुलाई बीमा के हो र यसका फाइदाहरुको विषयमा पूर्ण जानकारी गराउछौं । बीमा सचेतनाका लागि अभियान नै संचालन गर्छौ । बीमा किन गर्ने त भन्ने विषयमा नै ज्ञान बाँड्नु पर्यो नि । अवारनेस त हामीले दिनै पर्छ । हामी कम्युनीटि बेसमा जान्छौं । अहिले हरेक पालिका, वडा–वडामा विभिन्न स्वास्थ्य, महिला लगायतको समूह पनि छन् । हामीले त्यही कम्युनिटीलाई मोभिलाईज गरि अवारनेस दिएर अघि बढ्नुपर्छ । उनीलाई इन्स्योरेन्स भनेको यो हो, तपाईहरुका लागि आवश्यक चीज हो भन्ने जस्ता विषयमा जानकारी गराउनुछौं । लो कष्ट बढी बेनिफीट । अहिले हामीले ल्याएको प्रडक्टहरु पनि त्यस्तै प्रकारका छन् । ५/७ सय रुपैयाँले नै ५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिने छ, यो रिक्स कभर गर्नु भनेको त धेरै राम्रो भयो नि । यी र यस्ता कुराहरुले नै अगाडि बढ्न सकिन्छ ।

यसमै थप प्रश्न, जुन समुदाय शिक्षा लगायतको पहुँचमा छैनन्, उनीहरु सुचना प्रविधिको पहुँचबाटल पनि टाढा नै छन् । तपाईहरुले पुर्ण रुपमा डिजिटल सेवा दिने भन्नु भएको छ, यो कसरी सम्भव होला ?

अहिले मानिसहरु, समुदायहरु प्रविधिको एकदमै नजिक पनि छन्, टाढा पनि छन् । पछिल्लो समय फेशबुक, टिकटक लगायतका सोसियल साइटहरु हेर्नुहोस्, त्यहाँ मान्छेहरु धेरै नै सक्रिय छन । हामी पनि त्यस्तै प्रविधि र पेलेटफमलाई नै प्रयोग गरि अघि जान्छौ । पछिल्लो समय त झन् टिकटकको प्रयोग झ्न चुलिँदो छ । हामीले कुनै पनि सन्देश त्यहाँबाट जारी गर्ने वित्तिकै यति धेरै मानिसहरुमा पुगेको हुन्छ, त्यो पनि छोटो समयमै । जो मान्छेलाई, जहाँ, जे रिक्वायरमेन्ट छ नि, त्यो रिक्वायरमेन्ट अनुसार हामी जानु आवश्यक छ । अब प्रविधि र टेक्नोलोजी कै समय हो । हामीले पनि सोही अनुरुप डिजिटल सिस्टमबाट नै बढी फोकस गर्छौै । हामी जति डिजिटल मैत्री हुन्छौं, त्यति नै छिटो सेवा प्रवाह हुन्छ । नेपालका लागि माइक्रो इन्स्योरेन्स नौलो होइन तर, आवश्यक हो । मैले अघि पनि भने अहिले चलिरहेका ठुला पुराना कम्पनीहरुको हामी प्रतिस्पर्धी होइनौं, हामी उहाँहरुकै सपोर्टर हो ।

नेपालमा अहिले बीमाको पहुँच बढेको छ, यो अवस्थामा बीमाको दायरालाई लघुबीमाले समावेशी रुपमा अघि लैजान कसरी सक्छ ?

समावेशी रुपमा गर्नका लागि इन्स्योरेन्स रिक्वायरमेन्ट फरक फरक हुन् सक्छन् । भनौन् पूर्वाञ्चलमा भएकाहरुलाई इन्स्योरेन्स रिक्वायरमेन्ट छुट्टै होला, सुदुरपश्चिमको पनि छुट्टै होला । यो भुगोल र समुदायको आधारमा फरक फरक होला, सबैमा एउटै रिक्वायरमेन्ट नहुन सक्छ । हामी त्यही अनुसार नै उहाँहरुसंगै बसेर, कम्युनिटि बेसमा काम गछौं । विशेषगरि स्थानीय निकायसंग छलफल गरेर उनीहरुको वास्ताविक आवश्यकको पहिचान गरि अघि बढ्नुपर्छ । हामीले निड बेस सर्भिस नै दिने हो ।

तपाईले प्रतिस्पर्धी नभई एउटा सहकार्य र समन्वयबाट जान्छौं भन्नुभयो, नयाँ लघुबीमा आउने भएपछि पुराना कम्पनीहरुले व्यवसाय बढाउन ताएिका छन्, तथ्याङ्कले पनि त्यही देखाउँछ, खास के हो ?

त्यो त सकरात्मक कुरा हो नि । नयाँ लघुबीमा कम्पनीहर आउने भएर तातिएको भन्दा पनि अवारनेस बढ्यो भनौं न, प्रतिस्पर्धा नै होइन । पुराना अनि ठुला कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न हाम्रो तागत नै पुग्दैन । उहाँहरुसंग थुप्रै पोर्टफोलियो छ, पुँजी नै ठुलो छ । हामीले माइक्रोबाट भएको आम्दानीलाई नै खर्च गर्ने हो । ठुला कम्पनीहरुले विभिन्न स्किममा ठुला ठुला काम गर्न सक्छन् । तर, हामीले त्यो सक्दैनौं । हामी प्रतिस्पर्धा गर्न होइन, लक्षित वर्ग र समुदायसंग विशुद्ध बीमाको पहुँच विस्तार गर्न मात्र चाहान्छौं ।

अनि लघुबीमा बुझेको दक्ष जनशक्तिको अवस्था के छ ?

दक्ष जनशक्ति क्रियट गर्यो भने हुन्छ । दक्ष भनेको बनाउने हो, आफै जन्मिेने होइन नि त । त्यसलाई हामीले कसरी विकसित गर्ने भन्ने हो । यसमा मेरो अलिकति फरक धारणा छ, कुनै ठाउँमा कुनै ब्रान्चले काम गर्न सकेन भने उसलाई दण्ड सजाय दिने होइन, बरु कुन ढंग, कुन एंगलबाट कमजोर भयो, सस्टेन हुन किन सकेन ? यसकै आधारमा विश्लेष्ण गरि फरक तरिका अपनाउने हो । हामीले उसलाई तालिम, प्रशिक्षण दिएर हुन्छ कि कसरी हुन्छ, सिकाउने हो क्षमता विकास गरिदिने हो ।

गार्डियनको अहिले प्रमुख कार्यालय मात्रै स्थापना भयो ? शाखा कार्यालय स्थापना गर्ने मामलामा केही योजना छ की ?

वास्तवमा गरिव, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमाको आवश्यकता एकदमै बढी छ । त्योअनुसार धनाढ्य वर्गका व्यक्तिलाई भन्दा गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायका व्यक्तिलाई बीमाको आवश्यता बढी छ । त्यस्ता समुदाय र वस्तीमा पुग्नका लागि शाखा संजाल त बनाउनै पर्छ । दुरदराज तथा सिमान्तकृत समुदायमा बीमा पहुुँच पुर्याउन लघुबीमा कम्पनीले पनि महत्वपूर्ण योगदान दिन सक्छन् । अब हामीले यो बीचमा १७/१८ वटा शाखा खोल्दैछौं । पूर्वदेखि पश्चिमसम्म अर्थात नेपाल अधिराज्यभर नै शाखा कार्यालय पुग्छ ।

अनि, हाम्रो स्थनीय तहसंगको सहकार्य कस्तो हुन्छ ?

माइक्रो इन्स्योरेन्स कम्पनी र स्थानीय सरकारको सम्वन्ध त नङ र मासु जस्तो हो । स्थानीय सरकारसंग झगडा गरेर, नमिलेर केही पाइदैन, फाइदा छैन । मिलेर, सहकार्य गरेपछि धेरै फाइदा छ । जोखिम व्यवस्था अन्तर्गत त झन् सहकार्य आवश्यक छ । जस्तो: अहिले बाढी आएर कति क्षति भयो, त्यसको पैसा कसले दिन्छ त ? स्थानीय सरकारले, केन्द्रीय सरकारले दिने त हो । जोखिम व्यवस्था हामी गर्छौैै उहाँहरुसंगको सहकार्य विना सम्भव छैन ।

अन्त्यमा हामीलाई च्यालेजञ्जहरु के-के हुन सक्छ ? सरकारले के कस्ता कुरामा सहयोग गर्नुपर्छ जस्तो लाग्छ ?

हामी पूर्ण रुपमा डिजिटल रुपमा जान्छौं । यसरी डिजीटलमा जाँदा के कस्ता अफ्ठ्याराहरु छन्, त्यसको समाधान र सहजीकरण सरकारले गर्नुपर्छ । सरकारले प्रियिमम देखि भुक्तानीसम्म सहजीकरण गरिदिन आवश्यक छ । तर, त्यसका लागि हामीले त्यति ठुलो चुनौति मानेका छैनौं ।


प्रतिक्रिया दिनुहोस्