सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने « Arthapath.com
३० जेष्ठ २०८०, मंगलवार

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने



काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट वक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो ।

सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटगरी सो कर फिर्ता गर्न माग गरेका थिए ।

त्यसक्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताए । ‘हामीले हिरा जवहारात, पत्थर जस्ता महँगा सामानमा सुनचाँदी जडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने भनेका हौं, यस्ता वस्तुहरु जडान नगरिएका सुनचाँदीका गरगहनामा यस्तो कर लगाइँदैन ।’

सुनका गरगहना हुने खानेदेखि हुँदा खामनेसम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पारे । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायमा आवद्ध तीन महासंघको संयुक्त भेटकाक्रममा मन्त्री महतले भन्सार दर वृद्धि गर्नुको कारण भने भारतीय र नेपाली बजारमा समान दर वनाउनकालागि भएको प्रष्ट पारेका थिए ।

त्यसक्रममा ब्यवसायीहरुको माग अनुसार विदेशवाट आउने नेपालीहरुले ल्याउने गहनाको परिणाम वृद्धि गर्न र व्यवसायीलाई परेको अप्ठ्यारा बिषयहरु सल्ट्याउन सरकार प्रतिवद्ध रहेको बताउँदै उनले यथासिघ्र व्यवसायीमा माग सम्वोधन गरिने बताए ।
मन्त्री महतसँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्यले बजेटले गरेको नयाँ ब्यवस्था अनुसार सुनचाँदी व्यवसायीलई परेको प्रभावका बारेमा जानकारी गराए थिए ।


प्रतिक्रिया दिनुहोस्