आमाको माया छात्राबास, त्रिशुली प्लस र जेष्ठ नागरिकलाई राहत सामाग्री हस्तान्तरण « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

आमाको माया छात्राबास, त्रिशुली प्लस र जेष्ठ नागरिकलाई राहत सामाग्री हस्तान्तरण



नुवाकोट । विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा नेपालमा पनि जोखिम बढ्दो छ । सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको लागि देशभर लकडाउन गरेकोछ ।

यस्तो असहज परिस्थितिलाई मध्यनजर गर्दै विदुर कर परामर्श सेवाले अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

शनिबार कर परामर्श केन्द्रले विदुर नगरपालिका वडा नम्बर २ शिवालय टोलमा रहेको जनजाती कल्याण आश्रम नेपाल नाम गरेको संस्थाद्वारा सञ्चालित आमाको माया छात्राबासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई विदुर नगरपालिका २ का वडासदस्य राधाकृष्ण भण्डारीमार्फत् उक्त सामग्री हस्तान्तरण गरेका छन् । त्यस्तै, त्रिशुली प्लसद्वारा भरणपोषण गरिरहेका एचआईभी पिडित व्यक्तिहरुको लागि पनि खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

यसैगरी कर परामर्श केन्द्रले विदुर नपा(५ मा रहेको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई विदुर नगरपालिका ५ का वडासदस्य सिताराम रिमालले उक्त सामग्री उपलब्ध गरेका छन् ।

लक डाउनको असहज परिस्थितिमा अनाथ बालबालिका, जेष्ठ नागरिक र एचआईभी भएका नागरिकहरुलाई केहि राहत मिलोस् भन्ने उदेश्यले १२ बोरा चामल, १ बोरा दाल, २५ प्याकेट नुन, ३ बाकस तेल, २ बोरा आलु र तीन थान डिटोल ह्याण्ड वास गरी ३५ हजार बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराएको विदुर करका प्रबन्धक निर्देशक तथा समाजसेवी दिनेशकुमार श्रेष्ठले बताए । आमाको माया छात्राबासमा २४ बालबालिका, त्रिशुली प्लसमा ४ एड्स संक्रमित र जेष्ठ नागरिक संरक्षणमा ३० जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्