गहुँ खरिद प्रक्रिया सुरु « Arthapath.com
२९ बैशाख २०७७, सोमबार

गहुँ खरिद प्रक्रिया सुरु



सीता शर्मा, काठमाडौँ। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद प्रक्रिया सुरु गरेको छ । गत साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै सो कम्पनीले यस वर्षका लागि तीन हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरु गरेको हो । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपियाँ तोकेको छ ।

सो कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले सरकारले तोकेको समर्थन मूल्यका आधारमा कम्पनीले गहुँ खरिद कार्य सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष धनगढीको टीकापुर, बर्दियाको राजापुर, रुपन्द्रहीको भैरहवा र बाँकेको नेपालगञ्जबाट गहुँ खरिद गरिने योजना रहेकामा हाल टीकापुर र राजापुरमा खरिद गर्न सुरु भइसकेको छ । यस वर्षको योजनाअनुसार टीकापुर र राजापुरबाट एक÷एक हजार मेट्रिक टन र भैरहवा र नेपालगञ्जबाट पाँच÷पाँच सय मेट्रिक टन गहुँ खरिद गर्नेगरी प्रक्रिया सुरु भएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
उहाँले टीकापुर र राजापुरमा गरी अहिलेसम्म ३९१ मेट्रिक टन गहुँ खरिद गरिसके पनि भैरहवा र नेपालगञ्जमा कोरोना सङ्क्रमणको बढी त्रास भएकाले केही दिनपछि मात्रै खरिद सुरु गरिने जानकारी दिनुभयो । सो कम्पनीले यस वर्ष गहुँ खरिदका लागि नौ करोड पाँच लाख रुपियाँ रकम छुट्याएको छ । हाल गहुँ खरिदका लागि कम्पनीले तोकिएका स्थानबाट घटीबढी खरिद हुनसक्छ तर लक्ष्यअनुरूप खरिद नहुन्जेलसम्म निरन्तरता हुने कम्पनीका सूचना अधिकारी सुवेदीले बताउनुभयो । यसअघि कम्पनीले दुई लाख मेट्रिक टनभन्दा बढी धान खरिद गरिसकेको जनाएको छ ।

कम्पनीले आइतबारदेखि दाल र घिउ पनि बिक्री गर्न थाल्यो

यस्तै कम्पनीले आइतबारदेखि काठमाडौँ उपत्यकाको चक्रपथभित्र विभिन्न प्रकारका दाल र डीडीसी घिउ पनि बिक्री गर्न थालेको छ । कम्पनीले उपभोक्ताको माग लक्षित गरी अनलाइनमार्फत अर्डर लिएर चामल, कर्णालीको सिमीसँग दाल, घिउको पनि होम डेलिभरी सेवा दिन थालेको हो । कम्पनीका अनुसार कम्पनीका खाद्यान्न मागका लागि दैनिक १०÷१५ वटा अर्डर आउने गरेको चामल र सिमीमा १० प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको जनाएको छ । यस्तै दाल र घिउमा भने त्यो छुटको व्यवस्था नभएको कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी सुवेदीका अनुसार कम्पनीसँग हाल सोना मनसुली, जापनिज चामल, कर्णालीको सिमी र तीतेफापर उपलब्ध भएकामा अहिले दाल र डीडीसी घिउ पनि बिक्री गर्दै आएको छ । खाद्य कम्पनीसँग उपलब्ध खाद्यान्न खरिद गर्न चाहनेले प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपियाँसम्मको खरिद गर्नसक्ने जानकारी दिनुभयो । नेपाल बैङ्क लिमिटेड र सेन्चुरी बैङ्कको खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीले पहिलो चरणमा चक्रपथभित्र मात्रै अर्डर लिएर डेलिभरी गर्न सुरु गरेको र क्रमशः उपत्यकाका सबै ठाउँमा सेवा विस्तार गर्नेगरी तयार भइरहेको पनि उहाँको भनाइ छ । खाद्य कम्पनीको चामल र कर्णालीको सिमी बजारको तुलनामा धेरै सस्तो मूल्यमा बिक्री गरिरहेको सूचना अधिकारकी सुवेदीले जानकारी दिनुभयो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्