सगरमाथा: ‘चीनले आफैँ नापिसकेपछि मात्रै संयुक्त रूपमा उचाइ सार्वजनिक गरिने’ « Artha Path
२ जेष्ठ २०७७, शुक्रबार

सगरमाथा: ‘चीनले आफैँ नापिसकेपछि मात्रै संयुक्त रूपमा उचाइ सार्वजनिक गरिने’



नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्ने काम अन्तिम चरणमा पुर्‍याउँदा चीनले पनि आफ्नो तर्फबाट सगरमाथाको उचाइ नाप्ने प्रयास अघि बढाएको छ।

अघिल्लो हप्ता चीनको राज्य नियन्त्रित पत्रिका चाइना डेलीले स्थानीय भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्वेक्षण चीनले अघि बढाएको जनाएको हो।

त्यसका लागि ३० भन्दा बढी चिनियाँ सर्वेक्षकहरूले उक्त हिमाल आरोहण गर्न लागेका छन्।

अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने वाचा गरेका थिए।

चिनियाँ उचाइ मापन नेपाललाई ‘थाहा छ’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले चीनले तिब्बती मोहडाबाट उचाइ मापनका लागि आरोहण अघि बढाएकोबारे नेपाल सरकार जानकार रहेको बताएकी छन्।

उनले भनिन्, “नेपालको तर्फबाट अत्यन्त न्यून काम गर्न बाँकी छ। तर चीनले हामी आफ्नोतर्फबाट पनि नाप्छौँ र त्यसपछि संयुक्त रूपमा उचाई घोषणा गरौँला भन्ने अनुरोध गरेकाले केही ढिलाइ भएको हो।”

उनले थपिन्, “हाम्रोमा तथ्याङ्क प्रशोधनको काम भइरहेको छ। चीनका तर्फबाट भर्खर आरोहण भइरहेको छ। उसले पनि छिट्टै तथ्याङ्क प्रशोधन गर्ला र त्यसपछि संयुक्त रूपमा उचाई घोषणा गर्ने भन्ने हाम्रो सल्लाह हो।”

परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले पनि आफ्नो प्रयासबारे चीनले नेपाल सरकारलाई जानकारी गराएको बीबीसीलाई पुष्टि गरे।

सगरमाथा
नापी विभागका अधिकारी आधार शिविरमा

तिब्बती मोहडाबाट चिनियाँ सर्वेक्षकहरूले गरिरहेको सगरमाथा आरोहणलाई उनले नेपाल र चीन मिलेर संयुक्त रूपमा उचाइ सार्वजनिक गर्ने अभियानको अङ्ग भएको बताए।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार नेपाली पक्षले अघि बढाएको शिखरको उचाइ नाप्ने अभियान अन्तर्गत ुफिल्डु मा गर्नुपर्ने काम सम्पन्न भएको छ र हाल लकडाउन नभएको भए तथ्याङ्क प्रशोधनको काम अघि बढिसकेको अवस्थामा हुने थियो।

चुचुरोमा जाँदै चिनियाँ टोली

चाइना डेलीका अनुसार चीनको परराष्ट्रसहित दुईवटा मन्त्रालय, खेलकुद हेर्ने निकाय र तिब्बतको स्थानीय सरकारले संयुक्त रूपमा उक्त ुमिसनु अघि बढाएका हुन्।

चीनले ग्लोबल न्याभिगेशन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण नाप्ने यन्त्र, हिमपातबारे जानकारी दिने रेडार र मौसमसम्बन्धी जानकारी दिने उपकरण उचाइ नाप्न खटिएको ुपहिलो बिग्रेडले सगरमाथाको चुचुरोमा लैजान लागेकोु उक्त समाचारमा उल्लेख छ।

हालसम्मकै आधुनिक प्रणाली अपनाइएको र त्यसमा घरेलु सर्वेक्षण उपकरणदेखि थ्री डी प्रविधिसम्म प्रयोग गरिने चीनको भनाइ छ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीका माझ नेपालले यसपालीको बसन्तयाममा आफ्नो तर्फबाट ८ हजार ८४८ मिटर अग्लो सगरमाथाको सबै किसिमको आरोहणमा बन्देज लगाएको छ।

चीनले तिब्बती मोहडाबाट चाहिँ विदेशीहरूका लागि मात्रै आरोहणमा बन्देज लगाइएको जनाएको थियो।

यो वर्ष तिब्बती मोहडाबाट पहिलो सफल सगरमाथा आरोहण भएको ६० वर्ष पुग्दैछ।

चीनले यस वर्षलाई आफ्नो तर्फबाट सगरमाथाको पहिलो पटक वास्तविक उचाइ नापिएको ४५ वर्षका पुगेको पनि उल्लेख गरेको छ।

सगरमाथा
DEPARTMENT OF SURVEY, NEPAL

उचाइ नाप्ने विभिन्न प्रयास

नेपाल र विश्वले सन् १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आएका छन्।

सबैभन्दा पहिलो पटक ुद ग्रेट ट्रिगोनोमेट्रिक सर्वेु अन्तर्गत ब्रिटिश उपनिवेशकालीन समयमा भारतीय उपमहाद्वीपको वैज्ञानिक नक्साङ्कन गर्ने क्रममा सन् १८४७ मा सर्वे अफ इण्डियाले सगरमाथाको उचाइ ८ हजार ८ सय ७८ मिटर रहेको घोषणा गरेको थियो।

शुरूमा ‘पिक-XV’ भनिएको सगरमाथालाई सन् १८६५ सर्वे अफ इण्डियाका तत्कालीन सर्वेयर जेनरल कर्णेल जर्ज एभरेष्टको सम्मानमा अङ्ग्रेजहरूले माउन्ट एभरेष्ट नामाकरण गरेका थिए।

इतिहास शिरोमणि बाबुराम आचार्यले पछि नेपाली नाम सगरमाथा दिएका थिए।

सर्वे अफ इण्डियाका विभिन्न दस्ताबेजमा जनाइए अनुसार शुरूमा हिमालयलाई संसारको सर्वोच्च हिमशृङ्खला ठानिएको मात्रै भए पनि सन् १८५० को प्रारम्भमा भएका अध्ययनले त्यसलाई पुष्टि गरेको थियो।

सगरमाथा
सगरमाथाको पहिलो नक्सा भारतको सर्वे अफ इण्डियाले बनाएको थियो

सर्वे अफ इण्डियाले प्रारम्भिक चरणमा देहरादुनदेखि डेढ सय किलोमिटर उत्तरपूर्व बिहारमा अवस्थित अवलोकन केन्द्रहरूबाट सगरमाथाको उचाइबारे अध्ययन गरेको थियो। सन् १८४९/५० को अध्ययनले हिमालको उचाइ ८ हजार ८ सय ४० मिटर देखाएको थियो।

सन् १८८० देखि ८३ सम्म र १९०२ मा भएका प्रयासमा दार्जिलिङबाट हिमालयको उचाइको अध्ययन गरिएको थियो। त्यसअन्तर्गत कर्णेल बुर्राड नेतृत्वको टोलीले उचाइ ८ हजार ८ सय ८२ मिटर भएको निष्कर्ष निकालेको पनि सर्वो अफ इण्डियाका दस्ताबेजमा उल्लेख छ।

त्यसैगरी सन् १९५२ देखि ५४ सम्म अघि बढाइएको मापन प्रकियालाई वैज्ञानिक बनाउन सावधानी अपनाइएको थियो र आठवटा स्थानबाट सगरमाथालाई अवलोकन गरिएको थियो।

विगतमा सगरमाथालाई अवलोकन गर्न गलत ठाउँ र उचाइमा केन्द्रहरू राखिएको भन्दै त्यसबेला गरिएको सो मापनले अहिलेको उचाइ दिएको बताइन्छ।

जर्ज एभरेष्ट
Image captionजर्ज एभरेष्टको नाममा सगरमाथाको अङ्ग्रेजी नामकरण गरिएको हो

सन् १९६६-६८ मा चीनले आफ्नो तर्फबाट सगरमाथा मापनको काम अघि बढाएको थियो।

पहिलो पटकको चिनियाँ सर्वेक्षणमा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर देखिएको थियो।

चीन एक्लैले चार पटक र अमेरिका अनि इटलीसँग संयुक्त रूपमा गरी जम्मा ६ पटक सगरमाथाको मापन गर्ने प्रयास गरेको दस्ताबेजहरूमा उल्लेख छ।

विभिन्न दस्तावेजहरूका अनुसार सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको निष्कर्ष निकाल्यो जसलाई नेपालले स्वीकार गरेन।

सन् २००५ तिर चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलब ४३ जति रहेको र त्यसमा हिउँको उचाइ चार मिटर जति रहेको निष्कर्ष निकालियो।

त्यसपछि उचाइ विवाद झनै चर्किन पुग्यो। सन् २०१० तिर मात्रै नेपाल र चीनबीच सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै हो भन्ने सहमति जुटेको थियो।

सगरमाथा
RGS-IBG/SALTO-ULBEEK

नेपाली प्रयास लगभग अन्तिम चरणमा

सगरमाथा उचाइ मापन सचिवालयका अनुसार सन् २०१७ को डिसेम्बरमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेपछि नेपालले पहिलो पटक आफैँले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया अघि बढाएको हो।

उक्त परियोजनाका प्रमुख सर्वे अधिकृत तथा संयोजक सुशील डङ्गोल भन्छन्, “अब हाम्रो जम्मा पाँच प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको छ।”

सगरमाथा
BBC NEWSROUND

समुद्री सतहबाट सगरमाथाको उचाइ मापन, सगरमाथा देखिने १२ वटा बिन्दुबाट हिमाल अवलोकन र जीपीएस एवम् गुरुत्वाकर्षण सर्वेको काम सम्पन्न हुँदा झण्डै ३०० वटा बिन्दुबाट सर्वेक्षकहरूले तथ्याङ्क सङ्कलन गरिसकेका छ

त्यसबाहेक दुईजना नापी विभागका अधिकारीहरूले सन् २०१९ को वसन्तयाममा सगरमाथाको आरोहण गरेका थिए।

डङ्गोलका अनुसार शेर्पाहरूको सहयोगमा जीपीएस उपकरणसहित चुचुरोमा पुगेका उनीहरूले त्यहाँ १ घण्टा १६ मिनेट अवलोकन गरेका थिए।

चीनका तर्फबाट भइरहेका उचाइ मापनका कामबारे आफू खासै जानकार नरहेको नापी विभागका अधिकारीहरू बताउँछन्।

उचाइबारे फरक मत

सगरमाथाको ठ्याक्कै उचाइ कति हो भन्नेबारे सर्वेक्षकहरूको फरकफरक राय पाइन्छ।

त्यही भएर विश्वभरिका भौगोलिक अध्येताहरूले यस विषयमा लामो समयदेखि रुचि राख्ने गरेका छन्।

भूगर्भविद्हरू चाहिँ हिमालय क्षेत्र मुनितिर रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचलले हिमालयको उचाइलाई प्रभाव पारिरहेको ठान्छन्।

सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथामा पनि त्यस्तो हलचलको असर परेको कतिपय वैज्ञानिकले बताइरहँदा यसपाली धेरैले उचाइ मापनलाई व्यग्रतासाथ कुरिरहेका छन्।

त्यसबाहेक भारतको सर्भे निकायले घोषणा गरेको उचाइले मान्यता पाइरहेका बेला उच्चस्तरीय राजनीतिक समझदारीपछि नेपाल र चीनले संयुक्त रूपमा अघि बढाएको प्रयासको भूराजनीतिक आयामहरूबारे पनि थप चासो प्रकट भएको पाइन्छन्।बीबीसी बाट साभार


प्रतिक्रिया दिनुहोस्