मङ्सिर १५ गते एकैपटक ६ सय ४९ अस्पताल शिलान्यास हुने « Arthapath.com
४ कार्तिक २०७७, मंगलवार

मङ्सिर १५ गते एकैपटक ६ सय ४९ अस्पताल शिलान्यास हुने



काठमाण्डौ । आउदो मंसिर १५ गते एकैपटक देशभरिका ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने भएको छ ।
आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको हो ।
अस्पताल निर्माणका लागि ६ सय ४९ वटै पालिकामा बजेट उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ । ७ सय ५३ मध्ये बाँकी १ सय ४ वटा पालिकामा यसअघि नै आधारभूत अस्पतालको संरचना रहेको छ । अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै पालिकामा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

गएको भदौमा नै सबै पालिकामा आधारभूत अस्पताल गर्न आवश्यक स्रोत साधन र बजेट परिचालनको तयारी गरिएको थियो । तर आवश्यक डाक्टर र स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री उपलब्ध नहुँदा निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको आइतबारको बैठकले कोभिड(१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र कार्ययोजना कार्यान्वयनको आर्थिक व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति भएको पनि अर्थ मन्त्रालयका प्रवक्ता दंगालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्