बालाजु–रानीपौवा सडक सात वर्षमा सत्र प्रतिशत निर्माण « Arthapath.com
२५ पुष २०७७, शनिबार

बालाजु–रानीपौवा सडक सात वर्षमा सत्र प्रतिशत निर्माण



नुवाकोट । नुवाकोट जिल्लाको लाईफलाइन बालाजु–रानीपौंवा सडक निर्माण शुरु भएको सात वर्ष बित्दा समेत ठेकेदारको कारण सत्र प्रतिशत पनि निर्माण सम्पन्न भएको छैन ।


चारपटक अवधि थप भएको यो सडकको अवधि यही पुस मसान्तसम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने गरी ठेकेदारले काम गरेको छैन । जम्मा ५५ किलोमिटर लम्बाईको बालाजु–त्रिशूली सडक दुई फरक निर्माण ब्यवसायीले निर्माण गरेकामा दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार यो सडकमा बालाजुबाट ककनीसम्म एउटा ठेक्का र ककनीबाट पिपलटारसम्म अर्काे ठेक्का हो । बालाजुबाट ककनी सडकमा एआइपिएल र सैलुङ कम्पनीले निर्माण गरिरहेको छ । निर्माण कम्पनीले तिहारपछि केही उपकरण र केही मजदुर काममा लगाएको छ । अहिलेसम्मको निर्माण कार्य सत्र प्रतिशत मात्र पूरा भएको बालाजु–त्रिशूली–छहरे सडक योजनाका प्राविधिकले बताएका छन् ।

बालाजु–ककनी सडकको अवधि पन्ध्र दिन मात्रै बाँकी भए पनि यो अवधिमा ५० प्रतिशत पनि निर्माण कार्य सम्पन्न हुने अवस्था नदेखिएको प्रमुख प्रजापतिले बताउनुभयो । कोभिडका कारण अवरुद्ध आयोजनाको अवधि थप ६ महिनाका लागि थप्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोहीअनुसार अवधि थपका लागि निवेदन आएको उहाँले बताउनुभयो । पटक–पटक अवधि थप गरिए पनि निर्माण ब्यवसायीले अझै काम नियमित नगरेको प्रमुख प्रजापतिले बताउनुभयो । यो सडक निर्माण सिघ्र गराउन गाउँपालिकाको वडाध्यक्षदेखि गाउँपालिकाका अध्यक्ष, प्रदेश, संघीय, सांसदसहित पूर्व मन्त्री, पूर्व प्रधानमन्त्रीको दबाव आईरहेको समेत उहाँले बताउनु भयो । पटक–पटक काम अघि बढाउन ठेकेदारलाई पत्र काटेर बोलाउने र काम गर भनेर सचेत गराएको योजना कार्यालयले जानकारी दिएको छ । ठेक्का सम्झौता भएको लामो समय बित्दा समेत ढिलाई गरेकाले सरकारले कम्पनीलाई जरिवाना गरिसकेको छ । कम्पनीलाई ३ करोड ६५ लाख जरिवाना गरिएकामा दुई करोड असुली भईसकेको छ । १ करोड ६५ लाख असुली बाँकी भएको योजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।


सरकारले अहिलेसम्म चारपटक अवधि थप गरिसकेको छ भने अब थप्दा पाँचपटक हुनेछ । वि.सं. २०७०÷०७१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधन अनुसार गत वर्ष भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले पुस मसान्तसम्म अवधि थप गरेको थियो । बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन ठेक्का रहेको छ । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाई भएको छ । पछिल्लो समय तुलनात्मकरूपमा त्रिशूली छहरे सडकमा प्रगति राम्रो दखिएको छ । बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी गरेर यो योजनाले ६६ किमी सडक हेरिरहेको छ । यी तीनै कम्पनीसँग विसं २०७०÷०७१ मा ठेक्का सम्झौता भएको थियो । पटक–पटक अवधि थप भएको भए पनि पछिल्लो पटक थपिएको अवधिमा त्रिशूली–छहरे खण्डमा निर्माण सम्पन्न हुने गरी कार्य भएको छैन । ककनी–पिपलटारसम्म निर्माणको काम ठप्प छ । पाँच महिनादेखि सो ठेक्का अदालतमा विचाराधीन भएकाले निर्माण अघि बढ्न नसकेको हो ।


प्रतिक्रिया दिनुहोस्