मेलम्ची आइसकेपछि खानेपानी उद्याेगमा भएको लगानीलाई कति असर गर्छ ? २० प्रतिशत बजार घट्ने « Arthapath.com
२६ बैशाख २०७८, आईतवार

मेलम्ची आइसकेपछि खानेपानी उद्याेगमा भएको लगानीलाई कति असर गर्छ ? २० प्रतिशत बजार घट्ने



काठमाडौं । मेलम्चिको पानी काठमाडौंका सबै घरमा झर्ने भइसकेपछि पनि यहाँका पानी उद्योगलाई ठूलो असर नपार्ने व्यवसायीले बताएका छन् । ‘प्रारम्भिक रुपमा २० प्रतिशत जति पानीको बजार खुम्चने अनुमान गरिएको छ,’ नेपाल बोटल वाटर उत्पादक संघका अध्यक्ष सुवास भण्डारीले भने ।

मान्छेहरुलाई जारको पानी खाने बानी परिसकेको छ । मेलम्चीको पानी आयो भने पनि त्यो पानी खान उपयुक्त छ की छैन भनेर जनविस्वास जित्न सजिलो नहुने व्यवसायि बताउँछन् । यही कारण सरसफाइका काम र खाना पकाउनमा मेलम्चिको पानी प्रयोग भए पनि सिधै पानी पिउनचाहीँ जारकै पानी खोज्ने प्रबृत्ती कायम रहेको भण्डारीले बताए ।

यसले गर्दा ट्यांकरको पानीको माग ह्वात्तै घटे पनि बोटलिङ उद्योग नै राखेर जार वा बोत्तलमा भरेर बेच्ने गरेको खानेपानीको बजारलाई भने मेलम्चीले ठूलो असर नगर्ने व्यवसायी बताउँछन् । त्यसो त, कर्पोरेट क्षेत्रमा मेलम्चिको पानीले जारलाई विस्थापित गर्नसक्ने अवस्था छैन । अफिसियल प्रयोजनका लागि मान्छेहरु जारबाट धारामा फर्कन नचाहने भएकाले जारको पानीमा धेरै असर नपर्ने तर्क भण्डारीको छ ।

घरमै पनि मेलम्चिको पानी सामान्य अवस्थामा पनि उमालेरमात्रै खानुपर्ने भयो भने मान्छेले जारलाई नै महत्व दिन्छन् । विस्तारै मेलम्चिको पानी प्रतिको विस्वास बढ्दै गयो र उपलब्धता पनि कायम रह्यो भने केही वर्षको अन्तरालमा चाहीँ जारको पानी उत्पादन गर्ने उद्योगहरुलाई केही अप्ठेरो अवस्था आउ सक्ने व्यवसायिको आँकलन छ । यद्यपि, १ लिटर वा यस्तै साना बोत्तलमा पानी उत्पादन गर्ने उद्योगलाई भने मेलम्चिले कुनै असर नगर्ने अध्यक्ष भण्डारीले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार गत महिनासम्म नेपालमा पानी उत्पादनका २७७ उद्योग दर्ता भएका छन् । संघका अनुसार काठमाडौं उपत्यकामामात्रै ६० ओटाजति कम्पनीले १ लिटरको बोत्तलमा पानी उत्पादन गर्छन् । देशभरी यस्तो १ लिटर पानी उत्पादन गर्ने उद्योग १५० हाराहारी छ । काठमाडौंमा जारको पानी धेरै खपत हुने भएकाले जारमै उत्पादन गर्ने धेरै छन् । काठमाडौं बाहिर चाहीँ जारको पानीको बजार खासै बढ्न सकेको छैन ।

व्यवसायिहरुका अनुसार जारमा मात्रै पानी उत्पादन गर्ने उद्योगले ५० लाखदेखि २ करोडसम्म लगानी गरेका छन् । यो प्लाण्ट र मेसिनरीकोमात्रै लागत हो । जग्गा, भवनजस्ता स्थिर सम्पत्ती भने उद्योगअनुसार धेरै फरक पर्छ । स्थीर सम्पत्तीलाई पनि हिसाब गर्ने हो भने लगानी निकै बढी देखिने उनीहरु बताउँछन् ।

नेपालमा उच्च मूल्यको पानी उत्पादन गर्ने कम्पनी पनि छन् । रसुवामा हिमालय स्प्रिङ वाटर सबैभन्दा ठूलो लगानीको कम्पनी हो । यो कम्पनीले नेपालमै १ लिटरको ७० रुपैयाँ भाउमा पानी बेच्छ । उद्योगले बेच्ने मूल्य नै प्रतिबोत्तल ५५ रुपैयाँ रहेको हिमालय स्प्रिङ वाटरका सञ्चालक अभिमत सुमार्गी बताउँछन् । आक्वा हण्ड्रेड, वेभ नेपाल, सीटी मिनरल्स, बेला, कोकाकोलाजस्ता कम्पनीले पनि ४ देखि १० करोड रुपैयाँ खर्चेर ठूलो उद्योग सञ्चालन गरेका छन् । अहिले नेपालमा ४ करोडभन्दा बढी लगानी गरेका १०-१२ वटा पानी उद्योग सञ्चालनमा रहेको व्यवसायी बताउँछन् ।

बोत्तलमा पानी उत्पादन गर्ने ठूला कम्पनीले होटेल, रेस्टुरेण्ट, नेपालस्थित विदेशी दूतावास र ठूला व्यवसायिक प्रतिष्ठानहरुलाई पानी बेच्छन् । सस्तो दरमा पानी उत्पादन गर्ने कम्पनीले भने यसबाहेक बजारमा आफ्नो उपस्थिति देखाइरहेका छन् ।

काठमाडौं उपत्यकामामात्रै मासिक करीब डेढ लाख जार र १५ हजार कार्टुन बोत्तलको पानी खपत भइरहेको संघले जनाएको छ । पानी उद्योगले अहिले प्रत्यक्ष २६ हजार र ढुवानी मजदूरसमेत करीब ५० हजारलाई रोजगारी दिइरहेको व्यवसायिको दाबी छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्