महामारीमा यौनकर्मीः काम गरे पनि, नगरे पनि ज्यान जोखिम « Arthapath.com
२१ असार २०७८, सोमबार

महामारीमा यौनकर्मीः काम गरे पनि, नगरे पनि ज्यान जोखिम



उषा रेग्मी

काठमाडौं । कयौं विश्वब्यापी संकटमा पनि कहिल्यै नओइलाउने पेशा हो– यौन व्यवसाय । संसारमा आर्थिक मन्दीका कारण लाखौंको रोजगारी गुम्दा पनि यौन व्यवसायको आम्दानीमा ठूलो आँच आउँदैन थियो । तर कोरोना महामारीले सिंगो संसार भरकै यौन व्यवसायलाई नराम्रोसँग प्रभावित पारेको छ ।

महामारीको असर नेपाली यौन व्यवसायमा पनि निकै ठूलो स्तरमा परेको छ । नेपालमा यौन व्यवसाय अबैध भएकाले यस पेशामा कति मान्छे संलग्न छन् भन्ने स्पष्ट तथ्यांक त पाइन्न । तर देशैभरको यौन व्यवसाय महामारीका कारण प्रभावित भएको जानकारहरु बताउँछन् । उक्त पेशामा निर्भर भएका सयौं नेपाली नारीहरु महामारीबाट प्रभावित भएको महिला अधिकारकर्मी एवम् यूएन वुमन नेपालको रणनीतिक साझेदार विशेषज्ञ सरु जोशी श्रेष्ठ बताउँछिन् ।

‘महामारीका कारण लागू गरिएको निशेषाज्ञाले यौनकर्मी महिलाहरु संकटमा परेका छन्,’ उनले भनिन्, ‘आफ्नो पेशामै लागे पनि ज्यान जोखिममा छ, नलागे पनि ज्यान जोखिममै छ ।’ यस्ता महिलाहरु खानै नपाउने अवस्था आएपछि २५–५० रुपैयाँमै ग्राहकको यौन प्यास मेटाउन तत्पर हुन थालेको उनले बताइन् । ‘कतिपय अवस्थामा कण्डमजस्ता साधनको प्रयोग समेत नगरी असुरक्षित यौन सम्पर्क गर्न महिलाहरु तयार भएको पाइएको छ,’ उनले भनिन् ।

कोरोना महामारीले निम्त्याएको यौन पेशामाथिको संकट केवल नेपालको मात्रै समस्या भने होइन । कोरोना भाइरसका कारण विश्वमै सर्वाधिक प्रभाव परेको पेशामध्ये यौन पेशा नै सूचीको शीर्षस्थानमा पर्छ । गत साल अमेरिकामा मात्रै १० लाखजति पेशेवर यौनकर्मीहरु महामारीका करण चरम गरिबीमा धकेलिएको समाचार सार्वजनिक भएको थियो ।

दुई जना व्यक्तिबीच भौतिक दूरी कायम गर्नुपर्ने कानून र संक्रमणको जोखिमका कारण संसारभरको यौन ब्यापार प्रभावित भएको छ । बेलायत, फ्रान्स, स्पेन, इटली, जर्मनीजस्ता मुलुकका वेश्यालयहरु लामो समयसम्म बन्द हुँदा दशौं हजार यौनकर्मीहरु बेखर्ची भएका समाचार पश्चिमा सञ्चारमाध्यममा सार्वजनिक भएका थिए ।

अर्थोपार्जनमा विश्वकै सबैभन्दा पुरानो पेशा मानिने यौन व्यवसायलाई यस पटक कोरोना महामारीले ज्यादै नराम्रोसँग थला पारिदिएको छ । जसका कारण यौन पर्यटनमा आधारित संसारको थुप्रै मुलुकको अर्थतन्त्रलाई समेत नराम्रारी प्रभावित पारेको छ । जर्मनी, स्पेन, डोनिनिकन रिपब्लिक, नेदरल्याण्ड्स, मलेसिया, केन्या, फिलिपिन्स, ब्राजिल, कोलम्बिया, थाइल्याण्डजस्ता मुलुकको अर्थतन्त्रमा यौन पर्यटनको निकै ठूलो योगदान छ ।
थाइल्याण्डमा त लामो समयसम्म प्रत्यक्ष विदेशी लगानीबाट भित्रिने विदेशी मुद्राभन्दा यौन पर्यटनबाट कमाउने विदेशी धनको मात्रा अधिक थियो । कोरोनाअघिसम्म यस्तै अवस्था कायम रहेको प्रतिवेदनहरुमा उल्लेख छ । नेपालकै कुरा गर्ने हो भने सीमावर्ती तराइ क्षेत्रका अधिकांश शहरमा पछिल्लो समय यौन धन्दा निकै चम्किन थालेको होटेल व्यवसायीले बताउँदै आएका थिए ।

नेपालीमात्र होइन, भारतीय ‘ग्राहक’ समेत आउने भएपछि सीमार्वी बजारहरुमा ठूलो संख्यामा खुलेका साना ठूला होटेलमा यौन धन्दा बढेको थियो । प्रहरी प्रतिवेदनहरु हेर्ने हो भने पनि पछिल्ला समय देशभर वेश्याबृत्तीको आरोपमा पक्राउ पर्नेहरुको संख्या निकै बढ्दै गएको छ । यसरी फस्टाउँदै गएको अबैध यौन पेशामा एकाएक ‘ब्रेक’ लागेपछि भने पेशाकर्मीहरु मर्कामा परेका छन् ।

काठमाडौंमै पनि धेरै ठूलो संख्यामा यौन कर्मीहरु महामारीको चपेटामा परेको विवरणहरु आइरहेका छन् । यसमा एकल महिला, अविवाहित नारी र तेस्रो लिङ्गी यौनकर्मीको संख्या ठूलो छ । पुरुष यौनकर्मीहरुको उपस्थिति खासगरी युरोपेली बजारमा निकै बाक्लो भए पनि नेपालजस्तो मुलुकमा उनीहरुको संख्या ठूलो नभएको जानकार बताउँछन् । यौन पेशामै रहेका पुरुषमध्ये पनि धेरैले यसलाई अल्पकालिन पेशाको रुपमा लिएर अरु पनि काम गर्ने गरेका कारण उनीहरुको अवस्था तुलनात्मक रुपमा राम्रो छ ।

तर धेरै महिला यौनकर्मीहरु पेशेवर व्यवसायमा भएकाले उनीहरुलाई लकडाउन र निषेधाज्ञाले सबैभन्दा बढी असर गरेको छ । यस्ता यौनकर्मीहरुलाई गत सालको बन्दाबन्दीका समयमा केही संस्थाले दुईचार किलो चामल र दाल राहत बाँडेको भए पनि यस वर्षभने त्यस्ता राहत समेत नपाएको एक महिला गुनासो गर्छिन् । ‘ज्वरो आएको खण्डमा सिटामोल खाने पैसा पनि छैन,’ काठमाडौंको नयाँ बसपार्कमा भेटिएकी एक यौनकर्मी महिला भन्छिन्, ‘घरमा ग्यास सक्किएर चुलो बल्न छाडिसकेको छ ।’


४० रुपैयाँमा पाइने जारको पानीसमेत किनेर खान नसक्ने अवस्थामा आफू पुगेपछि महामारीमा पनि बाध्य भएर सडकमा आउनु परेको उनले गुनासो गरिन् । कोरोनापछि काममा फर्किए पनि पहिलेजस्तो ग्राहक नभेटिएको उनले सुनाइन् । ‘पहिलाजस्तो कमाइ छैन,’ उनी भन्छिन्, ‘पहिला हजारमा राजी हुने ग्राहक अहिले सयमा पनि लान मान्दैनन ।’

यस्ता यौनकर्मी महिलामध्ये कतिपयसँग नागरिकता प्रमाणपत्र समेत छैन । नागरिकता नभएकाले विभिन्न संघसंस्थाले बाँड्ने राहत पनि उनीहरुको हातमा पर्न सकेको छैन । ‘कोठामा खाने सामल र सुत्ने व्यवस्था गतिलो नभए पनि राम्रो लुगा लगाएर हिँड्नुपर्ने बाध्यता छ,’ गोंगबु बसपार्कमै भेटिएकी अर्की युवती भन्छिन्, ‘त्यही लूगा लगाएर निस्किएको देखेपछि पाउने राहत पनि पाइन्न रहेछ ।’

उनी मनमैजुमा भाडाको कोठामा बस्छिन् । पहिले उनको ब्याइफ्रेण्ड थियो । ‘उसैले मलाई सानो खाट र किचन किनेर राखिदिएको हो,’ उनी भन्छिन्, ‘अहिले यो पेशामा लागेर पेट पाल्नु परेपछि ब्रेकप भइसकेको छ ।’ अब उनलाई भोकले सताएको बेला एक किलो चामल बोकेर ल्याउने मान्छे पनि छैन । कतिसम्म भने वल्लोपल्लो कोठामा बस्नेहरुले पनि उनलाई यौनकर्मी भनेर घृणाको दृष्टिले हेर्छन् ।

त्यही कारण उनी कोठामा भन्दा बाहिरै बस्न रुचाउँछिन् । ‘मान्छेका आआफ्ना बाध्यता हुँदा रहेछन् । म पनि काठमाडौं आउँदा कोरियन भाषा पढेर कोरिया जान्छु भनेर आएको थिएँ’, उनी भन्छिन्, ‘रहरले होइन, बाध्यताले यो पेशामा लागियो ।’ महामारीअघि बेलाबेला आत्माग्लानी भए पनि कहिलेकाहीँ जोखिम नै महसुस हुँदैन थियो । तर अहिले जोखिम सम्झेर पनि पेट पाल्न नसक्ने अवस्था आयो ।

पहिलेको ब्याइफ्रेण्डजस्तै अरु कसैले कोठाभाडा र दुई छाक खान्कीको बन्दोबस्त गरिदिए यस्तो महामारीमा जीउज्यान बाजी राखेर उनी सडकमा निस्कन्न थिइन्न । तर अहिले उनी प्रेममा विस्वास गर्ने ब्याइफ्रेण्ड होइन, यौनको प्यासमा होमिएका ‘नियमित कस्टोमर’को सम्पर्कमा छिन् । उनीहरु एकचोटि भड्किए भने हातबाट फुस्किन्छन् । अनि, विचराले कोरोना भनेर बस्न कहाँ पाउनू ?

तेस्रोलिंगी यौनकर्मीको समस्या पनि उस्तै छ । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले गत वर्ष बन्दाबन्दी सुरु भएदेखि नै तेस्रोलिंगी यौनकर्मीलाई महामारीबाट सचेत रहन र घर बाहिर ननिस्कन बारम्बार आग्रह गर्दै आएकी छिन् । ‘कोभिडको जोखिमका कारणले हामीले उनीहरूलाई बाहिर ननिस्कन आग्रह गरेका छाँै’ उनले भनिन् ।

नील हिरा समाजले तेस्रोलिंगी यौनकर्मीका लागि गत वर्षको लकडाउनमा राहत पनि वितरण गर्यो । खानाको व्यवस्था भयो । तर, अधिकांशले तेस्रोलिंगिलाई कोठा भाडाले सतायो । उनीहरु कोठा भाडा तिर्नैका लागि भए पनि सडकमा आएर ग्राहकको प्रतीक्षा गर्न थाले । कतिपयसँग आफैं वा परिवारका सदस्य विरामी हुँदा उपचार गर्ने पैसाको समेत अभाव छ । यही कारण पनि उनीहरु राहत पाउँदा पाउँदै पनि सडकमा निस्कन थालेको गुरुङ बताउँछिन् ।

यौनकर्मीहरुको अर्को एउटा समान चरित्र चाहीँ बचत नगर्ने बानी हो । चाहे यौनकर्मी महिला हुन् या तेस्रो लिंगि, उनीहरुले पैसा कमाउञ्जेल जति कमायो, उति सक्काउने गरेको बताउँछन् । ‘पैसा कमाउञ्जेल महँगो प्mल्याटमा बस्ने, महँगा कपडा लगाउने, चुरोट र मदीरा पिउने जस्ता फुर्मास काममा धेरै खर्च गर्ने गरेको उनीहरु बताउँछन् । ‘दिनकै कमाउने र दिनकै उडाउने बानि भयो । बचत गर्न सिकेको भए अहिले उनीहरुको यो हालत हुने थिएन,’ गुरुङ भञ्छिन् ।

कतिपय यौनकर्मी महिलाहरुले विगतमा निकै आकर्षक आम्दानी गरे पनि उनीहरुले बचत गर्ने बानी विकास नहुँदा पैसा सकेको गुरुङको भनाइ छ । उनी अवका दिनमा यौनकर्मी महिला तथा तेस्रो लिंगिहरुलाई कसरी बचत गर्ने भनेर सिकाउन र उत्प्रेरित गर्न आवस्यक भएको बताउँछिन् । संकटको बेला यौनकर्मी महिला तथा तेस्रो लिंगिलाई सहायता उपलब्ध गराउने र उनीहरुलाई सही बाटोमा हिँड्न उत्प्रेरित गर्ने काम राज्यको भए पनि यस मामिलामा सरकारले केही पनि नगरेको उनको गुनासो छ ।

यौनकर्मी महिला र तेस्रो लिंगिको ज्यान जोखिममा राख्ने यो कामबाट उनीहरुमात्र नभएर ग्राहकका रुपमा प्रस्तुत हुने पुरुष र तिनको परिवारको स्वास्थ्य पनि जोखिममा परेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले यौनकर्मी र उनीहरूका साथमा जाने ग्राहक दुवै अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताए ।

‘यौन पेशा भन्नेबित्तिकै त्यहाँ शारीरिक सम्बन्धको कुरा आउँछ,’ डा. पुनले भने । यौनकर्मी र ग्राहक दुवैले एकअर्कालाई नचिनेका पनि हुन सक्छन् । यौन सम्पर्कका बेला ¥याल जनाबाट अर्काको शरीरमा प्रवेश गर्न सक्छ । त्यो बेलामा मास्क, स्यानिटाइजरको ध्यान पनि नहुन सक्छ । चुम्बनजस्ता कार्यले सजिलै संक्रमण हुने जोखिम हुन्छ ।

पछिल्लो समय नेपालमा लक्षण नभएका कोरोना संक्रमितको संख्या बढ्दो छ । झट्ट हेर्दा ठीकठाकै देखिए पनि उनीहरुमा संक्रमण भएको हुनसक्छ । कुनै यौनकर्मी वा ग्राहकलाई लक्षण नदेखिई पनि कोरोना भएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । यस्तो बेलामा कोही संक्रमित भए सम्पर्कमा आएका ग्राहक वा यौनकर्मीको खोजी गर्र्न चुनौती हुने डा. पुन बताउँछन् । त्यसैले अहिलेको समयलाई बुझेर चिनेजानेकै र आवश्यक पर्दा भेट्न सक्ने सेक्स पार्टनर मात्रै छान्नुपर्ने उनी सुझाउँछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्