सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, आवेदन दिन न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने



काठमाडौं । सर्वोत्तम सिमेन्ट अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १३ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिसकेको छ । उक्त आईपीओ बाँडफाँट गरेपश्चात अब भने सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेकोमध्ये ६ लाख ८१ हजार ५३० कित्ता सेयरमा आवेदन परेको थिएन । उक्त आवेदन नपरेकोसहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । उक्त सेयरमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसका आधारमा न्युनतम ५० कित्ता भर्नका लागि १८ हजार ४५ रुपैयाँ आवश्यक पर्नेछ । कम्पनीको आइपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भने फागुन २७ गतेसम्म लम्बिनेछ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्