सेयर बजार उकास्न संस्थागत लगानी बढाउने प्रयासमा अर्थमन्त्री « Arthapath.com
५ चैत्र २०८०, सोमबार

सेयर बजार उकास्न संस्थागत लगानी बढाउने प्रयासमा अर्थमन्त्री



काठमाडौं । सेयर बजार उकास्न विभिन्न पहल भइरहेका बेला अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ युक्ति’मा काम गर्ने तयारी थालेका छन् । उनले संस्थागत लगानीकर्तालाई बढावा दिएर अघि बढ्न लागेका हुन् ।

कम्पनी दर्ता गरेर सेयरमा लगानी गर्दा अहिले सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउने प्रयास भइरहेको उनले बताए । पत्रकारहरु आइतबार कुराकानी गर्दै उनले भने, ‘व्यवसायीहरुले संस्थागत लगानीकर्ताका हकमा मात्रै भए पनि १२ करोडको सीमा हटाउने हो भने यसले बजार बढ्न सहयोग गर्ने सुझाव प्राप्त भएको छ ।’

उक्त सुझावको कार्यान्वयन गर्न आफू सकारात्मक भएको र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगष् यसबारे छलफल गर्ने उनले बताए । नेपाल राष्ट्र बैंकले यसअघि एक ऋणीले एउटा बैंकबाट ४ अर्ब र सबै बैंकबाट कुल १२ अर्बभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने व्यवस्था गरेको थियो ।

उक्त नियम अघि सारिएपछि सेयर बजार ३२०० अंकबाट ओरालो लाग्न थाल्यो र १८०० अंकसम्म झरेको छ । अहिले सेयर बजार बढ्ने थुप्रै आधारहरु देखिएको भए पनि त्यस अनुसार बढ्न नसकेको भनेर धेरैले यसलाई प्रबद्र्धन गर्न जोड गरिरहेका छन् ।

तर सेयरमा लगानी गर्नेहरु भने थोरै थोरै भए पनि नाफा बुक गरेर सेयर बेच्न हतारिएका छन् । बैंकको ऋणले सताएका धेरै लगानीकर्ताहरु सेयर बेचेर ऋण तिर्न तम्सिएपछि बजारको मनोविज्ञान बलियो बन्न सकेको छैन । फलस्वरुप अहिले सेयर बजार ओरालो लागिरहेको छ ।

अर्थमन्त्री पुनले संस्थागत लगानीकर्ताको उपस्थिति बढाउन सक्दा त्यसले सेयर बजारलाई संगठित बनाउन सकिने र यसले राजस्वमा पनि बृद्धि हुने बताए । कम्पनी बनाएर लगानी गर्ने हो भने त्यसले पूँजीगत लाभ कर त तिर्नै पर्छ, त्यसका अलावा कम्पनीले वर्षभरी सेयर कारोबार गरेर कमाएको नाफाबाट पनि लाभांश कर तिर्नुपर्ने हुन्छ ।

यसो गर्दा सरकारलाई दोहोरो लाभ हुने देखिएको सरकारी अधिकारीहरु बताउँछन् । त्यससँगै सेयर कारोबारमा बढोत्तरी हुने हो भने यसले पूँजीगत लाभकर र कारोबार शुल्कबाट समेत बढी राजस्व उठ्नसक्ने ठाउँ हुन्छ ।

यही लाभको बाटो देखेर अर्थमन्त्री पुनले गभर्नरलाई फकाउने र सेयर बजार उकास्ने बाटो अघि सार्न खोजेका छन् ।


प्रतिक्रिया दिनुहोस्