काठमाडौँ महानगरपालिकाले बालाजुमा वारुण यन्त्र कार्यालय बनाउने « Arthapath.com
१८ पुष २०८०, बुधबार

काठमाडौँ महानगरपालिकाले बालाजुमा वारुण यन्त्र कार्यालय बनाउने



काठमाडौँ । आज बालाजु औद्योगिक क्षेत्रमा बारुण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्न आज शिलान्यास पूजा भएको छ । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले जग पूजा गरेका थिए ।

गएको बर्ष मंसिर २६ गते २८ औँ महानगर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गरेका थि । यही कार्यालय परिसर (औद्योगिक क्षेत्र प्रवेश मूल द्वारसँगै) शिलान्यास गरिएको हो ।

भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रुपैयाँ गरिएको थियो । बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रुपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ । ‘महानगरपालिका क्षेत्रभित्रका विपदजन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले बारुण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवालाई सम्भावित जोखिमको नजिक स्थानमा पु¥याउँदै लगेको छ ।’ विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले शिलान्यास अवसरमा भने, ‘यसअघि वडा नं. ६ को रामहिटीमा भवन निर्माण भइसकेको छ । अहिले बालाजुमा निर्माण कार्यको थालनी ग¥यौँ । यो सेवा विस्तारित हुने चरणमा छ । महानगरपालिकाले योजनावद्ध रुपमा जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गरिरहेको छ ।’

आफ्नो वडामा यसप्रकार आपतकालीन साधन उपकरण राख्ने भवन विस्तार हुनु, वडाबासीले तिरेको कर वडाकै नागरिकको सुरक्षाका लागि फिर्ता भएको महसुस गरेको छु । शिलान्यासपछि संक्षिप्त प्रतिक्रियामा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले प्रतिक्रिया दिए ।

भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ । पछाडिबाट ५ तलाको हुनेछ । ६ हजार ६६५.९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ ।

भवनको बाहिरी मोहडामा परम्परागत नेपाली शैलीको महानगरपालिकाका अन्य भवनसँग स्वरुप मिल्ने निर्माण शैली र सामग्रीको प्रयोग गरिनेछ । भित्री भाग आधुनिक शैलीको हुनेछ । भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट््याङ्कर राख्ने ठाउँ हुनेछ ।

जमिन मुनि र माथि छतमा गरि १ लाख लिटरको पानी ट््याङ्की रहनेछ छन् । भवनको माथिल्लो तलामा विपद ब्यबस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इनडोर स्पोर्टस हल हुनेछ । पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीहरुका लागि आवास सहितको बस्ने कोठा, भान्छा कोठा र आधुनिक शौचालय हुनेछ । जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षा सम्बन्धि सरसामान राख्ने कोठा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्