वेदको विज्ञानलाई नयाँ ढंगले पुनःब्याख्या गर्नुपर्ने विज्ञको सुझाव, कसरी हुनसक्छ व्यवहारिक ? « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

वेदको विज्ञानलाई नयाँ ढंगले पुनःब्याख्या गर्नुपर्ने विज्ञको सुझाव, कसरी हुनसक्छ व्यवहारिक ?



काठमाडौं । हजारौं वर्षदेखि ‘भन्ने र सुन्ने’ श्रुति परम्परामा रहेका सनातन धर्म ग्रन्थ वेदलाई आधुनिक विश्व परिवेशमा उपयोगमा ल्याउन जरुरी रहेको विज्ञहरुले बताएको छन् । शनिबार काठमाडौंमा आयोजित ‘वेदमा विज्ञानः वेद टक’ कार्यक्रमका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा आयोजक संस्था ‘क्यानेडिन वैदिक हेरिटेज’का अध्यक्ष नारायण घिमिरेले अथर्व वेदमा भएका सूत्रहरुको प्रयोग गरेर भोजन, पाचन प्रणाली र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई पुनःब्याख्या गर्न आफूहरु सक्षम भएको बताए ।

उनले आधुनिक विज्ञानको ल्याबोरेटरीमा वैदिक ज्ञानका दिशानिर्देशको पालना गरेर गरिएका कयौं अनुसन्धानले मानिसका शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो बदलाव ल्याउसक्ने संभावना दर्शाएको बताए ।

क्यानडामा रहँदै आएका गैरआवासीय नेपाली घिमिरेले आधुनिक पश्चिमा औषध विज्ञानले संसारमा धेरै किसिमका समस्या सिर्जना गरेको बताए ।

‘कोभीड महामारीजस्ता घटनाले हामीलाई हाम्रो प्राचीन आयुर्वेदमा मात्रै निर्भर हुन सकिँदैन भन्ने सिकाएको छ’, उनले भने, ‘तर हाम्रो आयुर्वेद, पश्चिमा औषध विज्ञान र हाम्रा वैदिक ज्ञानलाई मिश्रित गरेर उत्कृष्ठ उपचार पद्धति विकास गर्नु अवको आवस्यकता हो ।’

आधुनिक शहरी जीवनशैली, मानिसको जीविकोपार्जनमा फेरिएको शैली र आधुनिक प्रविधिमा बढ्दो निर्भरताजस्ता कारणले जनस्वास्थ्यमा पनि नयाँ खालका समस्या र चुनौती देखिन थालेको प्रति संसारभरका वैज्ञानिक चिन्तित छन् । यसै क्रममा विश्वभर वैज्ञानिकहरुले प्रस्तुत गरेका औषध विज्ञान र खानपानको पद्धतिलाई बदल्ने कोसिसमा क्यानेडियन वैदिक हेरिटेजको पहल पनि एउटा हो ।

उक्त संस्थाले विस्वभर बढ्दो मानसिक रोगको समस्यालाई मात्रै होइन, वेदभित्रको तत्वमिमांशा (मेटाफिजिक्स)लाई नयाँ ढंगले ब्याख्या गर्ने प्रयत्नमा काम गरिरहेको छ । उनीहरुले ठोस भोजन बिनानै शरीरले ऊर्जा प्राप्त गर्नसक्ने पद्धतिहरुको विकास गरिरहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

जसरी रुखले सूर्यको प्रकाश, हावा र पानीलाई मिश्रित गरेर खाना बनाउँछ त्यसरी नै मानिसले शरीरभित्रैको ऊर्जालाई भिन्न स्वरुपमा ढालेर निरन्तर प्रयोग गर्नसक्ने सामथ्र्यको विकास गर्न खोजिएको वैज्ञानिक घिमिरेले जानकारी दिए । उनले यस प्रक्रियामा अघि बढिसकेको सुरुआति चरणमा सफलता मिलेको सुनाए ।

कार्यक्रममा सहभागि विज्ञहरुले वेदमा ‘क्याण्टम कम्प्युटिङ’का असधारण सूत्रहरु भए पनि त्यसलाई ‘डिकोड’ गर्न बढी मिहेनत गर्नुपर्ने आवस्यकता रहेको बताए । भिन्नभिन्न वेद र उपवेदले फरक फरक विषयमा ज्ञानको भण्डारण गरेका छन् ।

अथर्व वेदले पदार्थ र प्रविधि लगायत क्षेत्रको बढी चर्चा गरेको छ । वैज्ञानिकहरुले यस वेद र उपवेद तथा पुराणहरुलाई ‘डिकोड’ गरेर प्रविधिमा परिणत गर्ने कोसिसमा हात हालेका हुन् । अधिकतर वेदहरु वर्तमान नेपालको भूखण्डमै सिर्जना गरिएको भन्दै विज्ञहरुले नेपाली युवा पुस्ताले यसको नवीन उपयोगमा ध्यान दिनुपर्ने बताए ।

शब्द ज्ञानमा रहेको वेदलाई आधुनिक विज्ञानसँग गाँसेर संसारभरका मानिसहरु र प्रकृतिको संरक्षणमा प्रयोग गर्नुपर्ने घिमिरेले बताए । कार्यक्रममा काठमाडौंको गौरीघाटमा बसेर संस्कृत पढाइरहेका धर्मगुरु स्वामी केशवानन्द गिरिले नेपालको शिक्षा प्रणालीलाई नै सुधार गरेर वेदका ज्ञानमा नयाँ पुस्ताको पहूँच स्थापित गर्न आवस्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्