किम जोङको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी बढायो « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

किम जोङको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी बढायो



काठमाडौं ।उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अमेरिकी अधिकारीले सीएनएनलाई जानकारी दिएका छन् ।

किमले बुधवार उनका हजुरबुवाको जन्मजयन्तीमा आयोजित समारोहमा भाग लिएका थिएनन् जसले गर्दा उनको स्वास्थ्यका बारेमा प्रश्न उठेको थियो । त्यसभन्दा चार दिनपहिले उनी एक सरकारी बैठकमा देखिएका थिए ।

सीएनएनलाई अर्का अमेरिकी अधिकारीले किमको स्वास्थ्यका विषयमा उठेका चिन्ता विश्वसनीय भएको तर उनी कति गम्भीर रूपमा अस्वस्थ छन् भन्ने कुरा थाहा पाउन गाह्रो परेको बताए ।

दक्षिण कोरियाबाट प्रकाशित हुने डेली एनके नामक अन्लाइन पत्रिकाले किमको मुटुको सर्जरी अप्रिल १२ मा गरिएको खबर दिएको छ ।

उक्त अन्लाइन साइटको खबरअनुसार, अत्यधिक धूम्रपान, मोटोपन र बढी काम गर्ने बानीका कारण किमको मुटुको शल्यक्रिया गर्नुपरेको थियो र उनी अहिले ह्याङसान काउन्टीमा आराम गरिरहेका छन् ।

किमको स्वास्थ्य सुध्रेपछि उनको उपचारमा संलग्न अधिकांश चिकित्सकहरू आइतवार राजधानी प्योङयाङ फर्केको र केही चाहिँ अझै ह्याङसानमै बसेर उनको देखभाल गरिरहेको उक्त न्युज साइटको खबरमा उल्लेख छ । तर यस खबरको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

उत्तर कोरियाबाट सूचना हासिल गर्न एकदमै गाह्रो छ र अमेरिकी जासूसी संस्थाहरूका लागि यो चुनौतीपूर्ण काम हो ।

तर दक्षिण कोरियाको समाचार संस्था योन्हापले राष्ट्रपति कार्यालयका एक अधिकारी काङ मिन–स्योकको भनाइ उद्धृत गर्दै उत्तर कोरियामा किमको स्वास्थ्य खराब भएको संकेत दिने कुनै पनि किसिमको असाधारण गतिविधि नदेखेको खबर दिएको छ ।


प्रतिक्रिया दिनुहोस्