चामलमा भारतले २० प्रतिशत कर लगाउँदा नेपालमा पनि २० प्रतिशतले मूल्य बढ्ने « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

चामलमा भारतले २० प्रतिशत कर लगाउँदा नेपालमा पनि २० प्रतिशतले मूल्य बढ्ने



काठमाडौं । भारतले बिहीबार कनिकाको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै बासमती र उसिनेकाबाहेकका चामलमा २० प्रतिशत कर लगाएको छ । नेपालीले उपभोग गर्ने ४० देखि ५० प्रतिशत चामल भारतबाट भित्रिने हुदाँ यसको प्रत्यक्ष असर नेपाली बजारका देखिएको छ ।

गत आर्थिक वर्ष २०७८/ ७९ मा भारतबाट मात्रै २५ अर्ब ३२ करोड मूल्य बराबरको ५० करोड किलो चामल आयात भएको छ । भारतीय सरकारले चामल निर्यातमा २० प्रतिशत कर लगाउँदा नेपालमा चामलको मूल्य बढ्ने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए ।

भारतले २० प्रतिशत कर लगाउँदा नेपालमा पनि २० प्रतिशतले नै मूल्य बढ्ने दाल उत्पादक संघका अध्यक्ष गुप्ताले बताए ।उनका अनुसार भारतीय सरकारले धान र चामल दुवै निर्यातमा २०/२० प्रतिशत कर लगाएको छ । यसले गर्दा यहाँका व्यवसायीले आयात गर्न सक्दैनन् यसले ग्रे मार्केट (अनौपचारिक बजार) लाई प्रोत्साहित गर्नेछ ।

धान र चामल दुवैमा बराबर कर लगाउँदा धान आउनै बन्द हुने र धेरैजसो चामल पनि ग्रे मार्केटबाट आउने बताए । धान आयात गर्न नसकेपछि यहाँका अधिकांश चामल मिल बन्द हुनेछन्। उनका अनुसार यहाँ दुई हजार पाँच सयका हाराहारीमा चामल मिल छन्। ती उद्योगमा लगानी खरबौं को रहेको र एउटै उद्योगमा एक/दुई अर्ब लगानी हुन्छ। ती सबै लगानी डुब्ने सुवोधले बताए ।

भारतले २२ मेट्रिक टन चामल निर्यात गर्छ । यसले चालमको भाउ बढ्ने विश्लेषण गरिएको छ । सेतो चामलको भाउ प्रति मेट्रिक टन चार सय डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ । हाल यसलाई तीन सय ५० डलर परिरहेको छ । नेपालमा भारतबाहेक चीन, थाइल्याण्ड, अमेरिकालगायत अन्य आठवटा मुलुकबाट पनि चामल आयत हुन्छ । यी देशबाट गत आर्थिक वर्ष २०७८/ ७९ मा १८ करोड मूल्य बराबरको २३ लाख किलो चामल आयात भएको थियो।

भारतबाट जस्तो व्यवसायिक रूपमा अन्य देशबाट चामल आयात गर्न सहज नहुने चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष गुप्ता बताउँछन्। ढुवानी खर्च धेरै लाग्ने भएकाले तत्काल चामल आयातका लागि भारतबाहेक अन्य विकल्प नभएको उनले बताए ।भारतले विश्वका एक सय ५० भन्दा बढी देशमा चामल निर्यात गर्छ । विश्वभर हुने चामलको व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्