निषेधाज्ञाले बढ्नसक्छ बैंकमा तरलता, ब्याजदर अझै सस्तिएला ? « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

निषेधाज्ञाले बढ्नसक्छ बैंकमा तरलता, ब्याजदर अझै सस्तिएला ?



काठमाडौं । सरकारले कोरोना भाइरस महामारीको असर बढ्दै जाँदा निषेधाज्ञा पनि लम्ब्याउन थालेको छ । मंगलवारमात्रै काठमाडौंमा एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निणर्य भएको छ । यो शिलसिला अझै कम्तिमा एक महिना जारी रहनसक्ने गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

गत वर्ष पनि सरकारले बन्दाबन्दीलाई क्रमशः बढाउँदै लगेको थियो । पोहोरजस्तै असारमा केही साता खुला गरेर पुनः बन्दाबन्दी गर्नसक्ने जोखिम छ । असार मसान्तमा राजश्व उठाउनुपर्ने भएकाले सरकारले गत साल पनि बन्दाबन्दी खुकुलो पारेको थियो ।

मुलुकमा सबैभन्दा धेरै करदाता भएको काठमाडौं उपत्यकामा जेठ अन्तिमतिरबाट निषेधाज्ञा केही कमजोर हुनसक्ने संभावना रहेको सरकारी अधिकारीहरु बताउँछन् । निषेधाज्ञा लम्बिँदै जाँदा बैंक तथा वित्तीय संस्थामा भने तरलता थुप्रिने जोखिम बढेको बैंकर बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, ‘पोहोरको अनुभवले निषेधाज्ञाको समयमा ऋणको माग निकै घट्ने र बैंकमा निक्षेप बढ्ने देखाएको छ ।’ गत वर्ष कोरोनाबाट निकै प्रभावित भएको अमेरिकामा यो वर्ष खासै असर गरेको छैन । युरोपेली मुलुकहरु पनि अहिले सुरक्षित नै देखिएका छन् ।

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स पठाउने खाडी राष्ट्रहरुमा त कोरोनाले खासै असर पारेको छैन । गत वर्ष ती देशहरुमा पनि बन्दाबन्दी हुँदा कयौं नेपाली मजदुरले दुःख पाएका थिए । तर अहिले त्यस्तो समस्या नभएका कारण पोहोर भन्दा पनि रेमिट्यान्स बढ्नसक्ने बैंकरको अनुमान छ । यस्तो अवस्थामा बैंकको ब्याज पहिलेभन्दा पनि सस्तिन सक्छ ।

गत माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाले बचत निक्षेपमा औसत २.७६ प्रतिशत र मुद्दति निक्षेपमा ८ प्रतिशत ब्याज दिएका थिए । दुबै जोडेर हिसाब गर्दा बैंकले १ सय रुपैयाँ निक्षेपमा वार्षिक ४ रुपैयाँ ८६ पैसा ब्याज तिरेका थिए । त्यसबखत कर्जाको भारित औसत ब्याजदर ८.८९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अहिले पनि बैंकहरुको आधारदर तीन महिनाअघिकै अवस्थामा छ ।

तर अब निक्षेप बढ्ने र थप ऋण प्रवाह हुन नसक्ने भयो भने बैंकमा पैसा थुप्रिने समस्या आउन सक्छ । जसको असर निक्षेपकर्तालाई पर्छ । बजार बन्द हुँदा एकातिर महँगि बढ्ने र अर्कातिर निक्षेपमा राखेको पैसामा ब्याज कम हुँदा बचतमा चल्ने बहुसंख्यक मध्येमवर्गीय नेपालीका लागि बन्दाबन्दीले घाटा पुर्‍याउने बैंकर बताउँछन् ।

यसको लाभ चाहीँ ऋण लिएर चल्ने व्यवसायी वा लगानीकर्तालाई हुनसक्छ । खाद्य पदार्थको ब्यापार र सेयर एवम् यस्तै सट्टेबाजीमा लगानी गर्नेहरुले पोहोरको बन्दाबन्दीमा पनि राम्रो आम्दानी गरेका थिए । नेपालको सेयर बजारले गत वर्षको बन्दाबन्दीपछि दोब्बरभन्दा धेरै बढीसकेको छ । एक वर्षअघि १२ सय अंकमा रहेको नेप्से मंगलवार २६ सय ५५ अंकमा पुगेको छ ।

यसबीचमा सेयर बजारमा बैंकको ऋण भारीमात्रामा प्रयोग भयो । विस्तारै कर्पोरेट क्षेत्रमा ऋण प्रवाह सुरु हुन थालेपछि पुनः निषेधाज्ञा सुरु भएको छ । ‘अहिले घोषणा भएजस्तो १५ दिनमात्रै निषेधाज्ञा हुने हो भने त हामी धान्न सक्छौं,’ बैंकर दाहाल भन्छन्, ‘लम्बियो भने चाहीँ बैंकको वित्तीय विवरणलाई पनि असर पर्नसक्छ ।’

यद्यपि, अहिलेसम्म पनि थोरैथोरै ऋण प्रवाह भइरहेको बैंकर बताउँछन् । पुरानो प्रतिबद्धताका रकम निष्काशन गर्ने र सानातिना नयाँ ऋणका लाइल अघि बढाउने काम भइरहेको उनीहरु बताउँछन् । यो वर्ष सरकारले पुरा देशभर एकसाथ बन्दाबन्दी नगरिदिएका कारण पनि साना साना ऋण प्रवाहमा अवरोध नआएको बैंकरको भनाइ छ ।

गत चैत मसान्तसम्म बाणिज्य बैंकहरुले मात्रै ३८ खर्ब १९ अर्ब २८ करोड रुपैयाँ ग्राहकबाट निक्षेप उठाएका छन् भने ३५ खर्ब ५४ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा सापटी प्रदान गरेका छन् । यस अनुसार बैंकहरुले निक्षेपको ९३.०७ प्रतिशत कर्जा लगानी गरेको देखिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्