बैंकको ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलनमा उत्रिए उद्योगी व्यवसायी « Arthapath.com
२८ फाल्गुन २०७९, आईतवार

बैंकको ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलनमा उत्रिए उद्योगी व्यवसायी



काठमाण्डौं । बैंकको चर्को ब्याजले व्यवसायीहरुलाई उठ्नै नसक्नेगरी थिचेको भन्दै राजधानीमै आजदेखि उद्योगी व्यवसायीहरुले आन्दोलन थालेका छन् । बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

माइतीघर मण्डलामा सडकमै उत्रिएर देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गरेका छन् । ब्याजदर घटाउन माग गर्दै आन्दोलन थालेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनले दिउँसो १ बजेसम्म माइतीघरमा धर्ना दिइने जानकारी दिए ।

उद्योगी व्यवसायीले चर्को ब्याजदर घटाउने माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले चर्को ब्याजका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सृजना भएकाले एकल अङ्कमा ब्याज रहनुपर्ने माग गर्दै आइरहेका छन् । यसअघि यही फागुन ५ गते पनि उद्योगी व्यवसायीले माइतीघरमा सडक प्रदर्शन गरेका थिए ।

यसैगरी, बैंकहरुले लगाएको चर्को ब्याजले थला पारेको आरोप लगाउँदैँ मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने घोषणा गरेका छन् । संघले बैंकको चर्को ब्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह गर्दै आन्दोलनको सुरुवात गर्ने भएका हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्