गभर्नरमा नयाँ अनुहार थपिँदै, को बन्ला नयाँ गभर्नर ? « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

गभर्नरमा नयाँ अनुहार थपिँदै, को बन्ला नयाँ गभर्नर ?



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रियामा ढिलाई गरेको छ । राष्ट्र बैंक ऐनमा एक महिनाअघि नै नयाँ गभर्नरको नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने भए पनि सरकारले कुनै चासो दिएको छ । प्रचलन र अभ्यासअनुसार अवकाश हुनु एक महिनाअघि नै विदामा बस्नुपर्ने गभर्नर चिरञ्जीवी नेपाल अन्तिम दिनसम्म काम गर्ने भन्दै कार्यालय हाजिर गरिरहेका छन । तर सरकारले उनैको कामलाई वैधानिकता दिँदै गभर्नर सिफारिस समितिसमेत गठन गरेको छैन । जबकी ऐनमा भनिएको छ, ‘वहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै अर्को गभर्नर नियुक्त गरिसक्नुपर्ने छ ।’

पाँच वर्षे कार्यकाल पूरा गरी वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी चैत ५ गते अवकाश पाउँदैछन् । यस हिसाबले सरकारले आगामी फागुन ५ गतेभित्र नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्छ । कानुनअनुसार प्रक्रिया पु¥याएर गभर्नर नियुक्त गर्न भने सजिलो छैन । एउटा समिति गठन गरेर त्यसबाट सिफारिस भएका ब्यक्तिमध्येबाट एकजनालाई नियुक्त गर्नुपर्ने कानुनी प्रावधान छ । यसअघि अर्थमन्त्री समिति पूर्वगभर्नर र योजना आयोगका सदस्य वा विज्ञ सम्मिलित ३ सदसीय समिति गठन गरी ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्ने प्रचलन थियो ।

गभर्नर सिफारिस गर्ने समितिको अध्यक्ष अर्थमन्त्री हुन्छन् । समितिमा पूर्व गभर्नरहरू मध्येबाट एकजना सदस्य हुन्छन् भने अर्को सदस्यमा सरकारले तोकेको ब्यक्ति हुने प्रावधान छ । यस्तो ब्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा बाणिज्य कानूनको क्षेत्रमा लब्धप्रतिष्ठित हुनुपर्नेछ ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा बाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरूमध्येबाट दुईजना छान्नुपर्छ । एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नरमध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ । यसअघि तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा पूर्व गभर्नरहरू हिमालयशमशेर राणा र गणेशबहादुर थापा सदस्य थिए । समितिले कुल तीनजनाको नाम सिफारिस गर्छ । तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्छ ।

यसअघि गभर्नर सिफारिसमा दुवैजना डेपुटी गभर्नरहरू गोपालप्रसाद काफले र महाप्रसाद अधिकारी सिफारिसमा परेका थिए भने बाहिरबाट डा. नेपालको नाम सिफारिस गरिएको थियो । तर, प्रधानमन्त्री सुशील कोइरालाको दवाबमा चिरञ्जीवी नेपाललाई नियुक्त गरिएको थियो ।

को बन्लान् गभर्नर ?

अर्थसचिवबाट अवकाश भएका डा. राजन खनाल आगामी गभर्नर हुन् भन्ने सत्तारुढ दलका नेताहरूले बताउन थालेका छन् । उनी सचिव हुँदासमेत साविक एमालेतर्फका केही अगुवाले खनाल आगामी गभर्नर भनेर दाबी गर्न थालेका हुन् । करका विज्ञ खनाल मौद्रिक नीति सञ्चालन गर्नु पर्ने निकायको प्रमुख हुन खासै योग्न नहुने पनि एकथरीको तर्क छ । हुलाक सेवामा जागिर खाएर निजामती कर्मचारी बनेका खनाल जनप्रशाशनमा मास्टर्स गरेका हुन् । उनले प्रमोशनकै लागि महेन्द्र संस्कृत विश्वविद्यायबाट पीएचडी गरेका हुन् । आपूmलाई करविज्ञ बताउने खनाल प्रधानमन्त्री ओलीलाई जहाँ भेटे पनि टाउकोले हातमा ढोग्ने गर्छन् । ओलीसँगको सामिप्यता देखाउने खनाललाई राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटा र अर्थमन्त्री युवराज खतिवडाले च्यापेका छन् ।

केही समय राष्ट्र बैकको सञ्चालक भएर काम गरेकै आधारमा खनाल गभर्नरको लागि योग्य हुने हैन । उनीसग कर कार्यालय र अर्थ मन्त्रालयमा काम गरेको अनुभव मात्र छ । केही समय अख्तियारमा काम गरेका कारण उनको सम्बन्ध ब्यापारी, प्रशासक र राजनीतिक नेताहरूसग बढी भएको हो ।

साविक माओवादीले भने डा. मीनबहादुर श्रेष्ठ निर्विकल्प आगामी गभर्नर हुन् भनेर दाबी गर्ने क्रम सुरू भएको छ । श्रेष्ठ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशककासाथै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । उनी प्रचण्डका उम्मेदवारको रुपमा चर्चित छन् । यसअघि गभर्नर पदलाई कुनै चासो नदिएका प्रचण्डले अजेय सुमार्गीले विदेशबाट ल्याएको रकम राष्ट्र बैंकले लामो समय रोकेपछि उनले राष्ट्र बैंकको गभर्नर पदको महत्व बुझेका हुन् । अहिले उनी आफ्नो मान्छेलाई गभर्नर बनाउने योजनामा छन् । उनले सभामुख पदमा बार्गेनिङ गर्दा पनि श्रेष्ठलाई गभर्नर पद बनाउनुपर्ने अडान लिएका थिए । तर, अहिले सभामुख उनका उम्मेदवारले पाएपछि अब गभर्नरमा उनको दावी कमजोर परेको छ ।

अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी प्रधानमन्त्री निकट रहेकाले उनी नै गभर्नरका एक्ला उम्मेदवार हुन् भन्ने विश्लेषण पनि हुन थालेको छ । वर्तमान अर्थमन्त्री खतिवडालाई ‘गुरु’ ठान्ने शिवाकोटी पछिल्लो समय उनी निकट भएर काम गर्न थालेका छन् । तर, पछिल्लो समय ओलीले अर्को उम्मेदवार पनि खोजिरहेको चर्चा छ ।

एकथरि पूर्वएमालेहरूले महाप्रसाद अधिकारीको दाबेदारीलाई बलियो ठान्छन् । युवराज खतिवडा गभर्नर हुँदा उनी डेपुटी गभर्नर थिए । यसअघि उनी गभर्नरमा पनि सिफारिस भएका थिए । विश्वास गरेर लगानी वोर्ड जिम्मा लगाए पनि उनले त्यहाँ कार्यकौशल देखाउन नसकेकाले राष्ट्र बैंकको नेतृत्व दिन उपयुक्त नहुने तर्क पनि उठ्न थालेका छन् । अर्काथरि भने वित्तीय क्षेत्रलाई राम्रोसँग बुझेका हिसाबले अधिकारी नै उपयुक्त उम्मेद्वार भन्न थालेका छन् । तर, महाप्रसाद अधिकारी यो दौडमा पछि परीसकेको देखिएको छ ।

सरकारबाट ‘क्लिन चिट’ लिएर फर्किएका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले आगामी गभर्नरको आफू बलियो प्रतिस्पर्धी रहेको अन्तर्वार्ता नै दिइसकेका छन् । उनीमाथिको छानबिन र त्यसपछिको क्लिन चिट प्रकरणलाई हेरेर धेरैले श्रेष्ठ पनि बलियो रहेको तर्क गर्न थालेका छन् । तर, उनको प्रजातान्त्रिक पृष्ठभूमि र गभर्नर चिरञ्जीवी नेपालसग उनको सान्निध्यताले उनलाई गभर्नरको दौडमा सहभागी गराउने अवस्था छैन ।

आगामी गभर्नरका लागि अहिले सबैभन्दा ठूलो कसैले लबिङ गरिरहेको छ भने ती हुन्, सुवोधकुमार कर्ण । राष्ट्र बैंक सञ्चालक समिति सदस्यसमेत रहेका उनी चार्टर्ड एकाउन्टेन्टहरूको नियामक निकाय आइक्यानको पनि अध्यक्ष भइसकेका छन् । एमाले पार्टीमा सक्रिय सहभागी उनी रकम परिचालन गरेर गभर्नर हुनसक्ने उम्मेद्वारको रुपमा लिइन्छ । रौतहट निवासी कर्ण नेता माधव नेपाल निकट मानिए पनि अहिले ओलीसँग नजिक छन् ।

यसबाहेक पछिल्लो समय गभर्नरको दौडमा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यको दावी बलियो देखिएको छ । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक भैसकेका आचार्य पूर्वमन्त्री सोमप्रसाद पाण्डेका ज्वाइँ हुन् । माधव नेपालसँग पनि नातासम्बन्ध राख्ने आचार्यसँग बीमादेखि बैंकसम्मको अनुभव छ । उनी नविल बैंकको सञ्चालकदेखि युनाइटेड इन्स्योरेन्स र एनआईडीसीको सीईओसमेत भैसकेका व्यक्ति हुन् ।

अर्का प्रतिस्पर्धी राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पनि हुन् । मौद्रिक अर्थशास्त्री श्रेष्ठ अहिले लघुवित्त सुपरिवेक्षण विभागमा छन् । उनी पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा योजना आयोगका उपाध्यक्ष थिए । उनी नेकपा महासचिव विष्णु पौडेल निकट छन् । श्रेष्ठचाही अहिले गभर्नरको दौडमाभन्दा पनि आगामी वर्ष डेपुटी गभर्नर बन्न लालायित छन् । त्यसपछि अर्कोपटक गभर्नर बन्ने योजना उनी सुनाउन थालेका छन् ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्