तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा कुनै परिवर्तन भएको छैनः अर्थमन्त्री महत « Arthapath.com
२९ जेष्ठ २०८०, सोमबार

तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा कुनै परिवर्तन भएको छैनः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साविकमा तोरी,भटमास र सनफ्लावरको दाना तथा क्रुड आयालमा लाग्दै आएको भन्सार महसुल दरमा कुनै पनि परिवर्तन नगरिएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आर्थिक ऐन,२०७९ ले तोरी,भटमास र सनफ्लावरको दानामा ५ प्रतिशत र क्रुड आयलमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेकोमा आर्थिक ऐन,२०७९ को दफा १८ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ भाद्र २३ गतेको बैठकले तोरी, भटमास र सनफ्लावरको दाना र क्रुड आयल पैठारी हुंदा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने गरि पटके निर्णय गरेको र यस्ता पटके छुटलाई नयाँ आर्थिक ऐनले सम्बोधन नगरेमा स्वत खारेज हुने बताएका हुन् ।

सरकारको कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको फरक दर निर्धारण गर्ने नीति रहेको र सोहि नीति अनुरुप दानामा ५ प्रतिशत,क्रुड आयलमा १० प्रतिशत र तयारी तेलमा १५ प्रतिशतको फरक भन्सार दर लाग्ने व्यवस्था रहेको डा। महतले बताए ।

निकासी गर्ने प्रयोजनले पैठारी गर्ने वस्तुमा लाग्ने महसुल वापत वैंक जमानत राखि पैठारी गर्न सक्ने व्यवस्था रहेकोले चालु आर्थिक वर्षको बैशाखसम्म करिब २१ अर्ब मूल्य बरावरको क्रुड आयल प्रस्तुत सुविधा उपभोग गरी पैठारी रहेको पनि उनले बताए ।

नेपाल सरकारले आर्थिक वर्षको बीचमा प्रस्तुत वस्तुहरुमा लाग्ने महसुलमा ९० प्रतिशत छुट दिएको कारण बैशाखसम्म करिव ६ अर्ब ९५ करोड रुपैयाँ राजस्व छुट हुन गएको पनि उनले जनाए ।


प्रतिक्रिया दिनुहोस्