माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन परीक्षण « Arthapath.com
२१ माघ २०८०, आईतवार

माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन परीक्षण



बेत्रावती / रसुवाको उत्तरगया गाउँपालिका– १ मा निर्माणाधीन माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाले प्राविधिक परीक्षण सम्पन्न गरेको छ । उक्त आयोजनाले माघ १० गते दिउँसो १२ बजेबाट परीक्षण उत्पादन सुरु गरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जडान गरिएको छ ।

परीक्षण प्रसारण सफल भएपछि माघ २६ गतेबाट आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्नेछ । १४.३ मेगावाट क्षमता रहेको मैलुङ खोला जलविद्युत् आयोजनाको सबै संरचना निर्माणका काम सम्पन्न गरेर उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

सानिमा ग्रुपअन्तर्गत निर्माण सम्पन्न भएको माथिल्लो खोला जलविद्युत् लिमिटेडले प्रवद्र्धन गरेको आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको आयोजनाका प्रमुख किशोर गौतमले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली– ३ ‘बी’ हब सबस्टेसनमा जोडिने भए पनि हब निर्माणको काम नसकिएकाले अहिले उत्पादित विद्युत् त्रिशूली थ्री ‘ए’को प्रसारणलाइनमा जडान गरी मातातीर्थसम्म पठाइएको उनले बताए ।

प्रारम्भमा दुई अर्ब ५० करोड लागत अनुमान गरिएको यो आयोजना निर्माणमा भएको ढिलाइको कारण दुई अर्ब ८० करोड रुपैयाँ लागत पुगेको छ । अहिले परीक्षण उत्पादन सुरु भएको छ । माघको अन्तिमबाट नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए)अनुसार विद्युत् बिक्री हुने आयोजना प्रमुख गौतमले बताए ।

कम्पनीले विद्युत्गृहदेखि त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन शान्तिबजारसम्म २८ वटा टावर निर्माण गरी जोडिनेछ । कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि सेयर बाँडफाँड सम्पन्न गरिसकेको छ । चार वर्षको अन्तरालमा आयोजनाको सम्पूर्ण काम सकिएको बताइएको छ ।

आयोजना सम्पन गर्न करिब दुई अर्ब ८० करोड लागत लागेको र सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबिआई बैंकले एक अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋण लगानी भएको छ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहेको आयोजना प्रमुख किशोर गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्