१ करोडमा बन्यो आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा ‘मोटर बोट’, बैशाख २ गतेदेखि संचालनमा आउने « Arthapath.com
२८ चैत्र २०८०, बुधबार

१ करोडमा बन्यो आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा ‘मोटर बोट’, बैशाख २ गतेदेखि संचालनमा आउने



काठमाडौं । मोटर बोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटर बोट सञ्चालन गर्ने भएको छ । 

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटर बोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटर बोट सञ्चालनका लागि सम्झौता गरिसकेको छ । 

वैशाख २ गतेदेखि मोटर बोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए।  वैशाख २ गते उक्त मोटर बोट सेवाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सो जलाशयमा तत्काल १ करोड रुपैयाँ लगानीमा मोटर बोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए ।  नेपालकै पहिलो र ठुलो मोटर बोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटर बोट सञ्चालन गरिने बताइएको छ । मोटर बोट सञ्चालनले मस्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । 

जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटर बोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटर बोटमा आकर्षित गर्न सकिने उनको भनाइ छ ।

कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ’बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटर बोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना छ ।

यस अघि नेपालगन्जको वाटर पार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरूलाई मोटर बोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटर बोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।

कति लाग्छ शुल्क ?

मोटर बोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटर बोटमा सयर गर्न २५० रुपैयाँ प्रतिव्यक्ति,  १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

कसरी पुग्ने ?

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौँतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटर बोट स्टेसन पुगिन्छ । सो स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ ।


प्रतिक्रिया दिनुहोस्