‘कृषि तथा पशुपन्छी बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो भएको गुनासो’ « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

‘कृषि तथा पशुपन्छी बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो भएको गुनासो’



काठमाडौं । गुजरा नगरपालिकाका कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरण,मधेश प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कम्पनीहरू बीमा गर्न गाउँगाउँमा नआएको, कुनकुन वस्तुको बीमा हुन्छ भन्ने थाहा नभएको लगायतका धारणा राखेका हुन् ।

गुजरा नगरपालिकाका उपप्रमुख रत्न लामाले नागरिकका जीवन र सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गराई आर्थिक सुरक्षण गर्नका लागि ठोस निर्णय गरी नगरपालिका अगाडि बढ्ने बताएका छन् । लामाले घटना कतिबेला भई के कस्तो हानी नोक्सानी हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने भएकाले घटनाबाट हुने क्षतिको क्षतिपूर्ति बीमा कम्पनीहरूबाट पाउनका लागि सबैले बीमा गर्नुपर्ने आवश्यकता बताएका छन् ।


कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी प्रस्तुती गर्दै नगरपालिकाको सेवासँग आवद्ध गरेर घरको बीमालाई अनिवार्य गर्न नगरपालिकासँग आग्रह गरेको बताए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेका यस कार्यक्रममा गुजरा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा, बैंक तथावित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधिहरू,महिला समूह काप्रतिनिधि,बीमा अभिकर्ता, प्राविधिक, अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्