बीमा कम्पनीकाे पुँजी बढाउने म्याद सकियो: नपुर्‍याउने कम्पनीलाई कारवाही गर्दै प्राधिकरण, कस्तो छ तयारी ? « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

बीमा कम्पनीकाे पुँजी बढाउने म्याद सकियो: नपुर्‍याउने कम्पनीलाई कारवाही गर्दै प्राधिकरण, कस्तो छ तयारी ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले न्युनतम चुक्तापुँजी पुर्याउन दिइएको समय सकिएको छ । प्राधिकरणले असार मसान्तभित्र तोकिएको न्युनतम चुक्तापँजी पुर्याउन म्याद थप गरेको थियो । तर, तोकिएको समयमा चुक्तापुँजी नपुर्‍याउने जीवन तथा निर्जीवन बीमा कम्पनीलाई कारवाही गर्ने भएको छ ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी ताकेको थियो । तर, चुक्तापुँजी नपुर्‍याउने कम्पनीलाई कारवाही गर्ने तयारी प्राधिकरणले गरेको छ । पुँजी नपुर्‍याउने कम्पनीलाई कस्तो कारवाही गर्ने भन्ने सन्दर्भमा ठोस निर्णय भइसकेको छैन । तर, निश्चित बीमा प्रडक्टको कारोबारमा रोक लगाउने वा बीमा कारोबारमा सिमा तोक्ने प्राधिकरणको तयारी छ ।

यसअघि जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुने व्यवस्था थियो । तर, प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजीको सिमा १५० प्रतिशतले बढाउने निर्णय गरेको थियो । त्यसको लागि पहिलो पटक २०७९ चैत मसान्तसम्मको म्यााद दिइएको थियो । तर, त्यस अवधीमा अधिकांश कम्पनीले चुक्तापुँजी नबढाएपछि असार मसान्तसम्मको म्याद थपिएको थियो । तर, अझै पनि अधिकांश कम्पनीको चुक्तापुँजी पुगेको छैन । तर, प्राधिकरणले यसपाली म्याद थप नगरेर कारवाही गर्ने नीति ल्याउन लागको प्राधिकरणले जनाएको छ ।

‘अब कम्पनीहरुलाई पुँजी बृद्धिकै नाममा म्याद थप हुँदैन । उल्टै पुँजी नपुर्‍याउने कम्पनीलाई कारवाही गर्ने छलफलमा छौं’– प्राधिकरण स्रोतले भन्यो,– ‘त्यस्ता कम्पनीलाई कि कारोबारको सिमा तोक्ने छौ । नभए, कुनै निश्चित प्रडकको कारोबारमा रोक लगाउने छौं’

प्राधिकरणले पुँजी बढाउने नीति ल्याएपछि अधिकांश कम्पनीहरु मर्जरमा गएका छन् । तर, पनि अधिकांशको तोकिएको पुँजी पुगेको छैन । मर्जरमा गएर पनि पुँजी नपुगेकालाई राइट सेयर जारी गर्न दिइनेछ । यद्यपि, उनीहरुलाई भने कारवाही हुने छैन ।

कतिपयले बीमा कम्पनीहरुले आईपीओ, प्रिमीयम आईपीओ लगायतका आधारमा पुँजी बढाउँदैछन् । एनएलजी इन्स्योरेन्सलाई विभिन्न शर्तमा ६६ प्रतिशत राइट सेयर जारी गर्न दिइएको छ । त्यस्ता कम्पनीलाई पनि तत्काल कारवाही नगरिने प्राधिकरणको भनाई । विदेशी कम्पनीका शाखाको रूपमा सञ्चालित कम्पनी मेट लाइफ, नेशनल र दिन ओरियन्ट इन्स्योरेन्ले भने पूँजी वृद्धि गर्नु पर्दैन । तर, कतिपय कम्पनीले अझै पुँजी बढाउने बिषयमा ठोस कदम नउठाएका कम्पनीहरु भने कारवाहीमा पर्ने प्राधिकरणले जनाएको छ । प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी लगायतका कम्पनी कम्पनीको दायरामा आउन सक्ने देखिन्छ । अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने समझदारी भाँडिएपछि प्रभू इन्स्योरेन्सले चुक्तापुँजी बढाउन विदेशी साझेदार (लगानीकर्ता) भित्र्याउने प्रयास तीव्र बनाएको बुझिएको छ ।

यता, नेपाल इन्स्योरेन्स पनि पुँजी वृद्धिका लागि आफ्नो अचल सम्पत्ति बिक्री गर्ने भएको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । तोकिएको चुुक्तापुँजी पुर्याउन कम्पनीले १ अर्ब १ करोड रुपैयाँ पुँजी थप्नुुपर्छ । यो भनेको करीब ६८ प्रतिशत पूँजी बढाउनु पर्ने बाध्यता हो । नेपाल बैंकको प्रबद्र्धनमा ७६ वर्षअघि खुलेको यो कम्पनीसँग देशका विभिन्न स्थानमा अचल सम्पत्ती छ । नेपाल इन्स्योरेन्सको विरगञ्ज लगायतको प्रमुख शहरी क्षेत्रमा रहेका जग्गा बेच्न लागेको हो। यसका लागि आधिकारिक सूचना पनि प्रकाशित गरेको थियो ।

७ कम्पनीको पुग्यो चुक्तापुँजी

नेपालमा पहिला २० निर्जीवन र १९ जीवन बीमा कम्पनी थिए । मर्जर पश्चात अहिले १५ जीवन र १४ जीवन कम्पनी कामय भएका छन् । प्राधिकरणले तोकेको समय सकिन केही दिन बाँकी हुदाँ ७ कम्पनीको मात्रै चुक्तापुँजी पुगेको छ । जीवन तर्फ ३ र निर्जीवन तर्फ ४ कम्पनीको चुक्तपुँजी पुगेको छ ।

जीवन बीमातर्फ नेपाल लाइफले ८ अर्ब २० करोड रुपैयाँ, हिमालयन लाइफले ८ अर्ब २ करोड रुपैयाँ र नेशनल लाइफले ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् ।

यस्तै, निर्जीवनतर्फ आईजीआई प्रुडेन्सियलको ३ अर्ब २ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । जुन प्राधिकरणले तोकेको सिमा भन्दा माथि हो । अन्य कम्पनीको भने चुक्तापुँजी पुगेको छैन ।

मर्जर भएका कम्पनीलाई कारवाही नहुने

यद्यपि, मर्जरपछि पनि चुक्तापुँजी नपुगेका कम्पनीलाई भने कारवाही नगर्ने प्राधिकरणको योजना छ । कतिपय बीमा कम्पनी मर्जरमा गएपनि तोकिएको न्यूनतम चुक्तापुँजी पुगेको छैन, त्यस्ता कम्पनीलाई भने कारवाही नगर्ने प्राधिकणको योजना छ ।

उनीहरुलाई राइट शेयर मार्फत चुक्तापुँजी बढाउन दिने प्राधिकरणले जनाएको छ । ‘यो आर्थिक बर्षमा कम्पनीहरुले कमाएको नाफालाई बोनस सेयर मार्फत पुँजीमा रुपान्तरण गर्न दिन्छौ । थुप्रै कम्पनी मर्जमा पनि गएका छन् । कतिपयको पहिला नै धेरै पुँजी छ । त्यस्ता कम्पनीहरुलाई थप पुँजी बढाउन राइट सेयर जारी गर्न दिन्छौ’– प्राधिकरणले भन्यो–‘तर, कतिपयले पुँजी बढाउनको लागि काम नै गरेका छैनन् । त्यस्तालाई भने कारवाही गर्छाै ।’

यसअघि थपिएको थियो पटक–पटक म्याद

बीमा प्राधिकरणले यसअघि पनि बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने नीति ल्याएको थियो । पहिला जीवन बीमा कम्पनीको ५० करोड र निर्जीवन बीमा कम्पनीको २५ करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो ।

पछि २०७४ माघ १३ गते तत्कालिन बीमा समिति (हालको प्राधिकरण)ले जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । त्यसबेला भने पटक पटक म्याद थप गरिएको थियो । त्यसका लागि पहिलोपटक २०७५ असार मसान्तसम्मको म्याद दिइएको थियो । त्यस अवधिमा कम्पनीहरूले चुक्तापूँजी पुर्याउन नसकेपछि दोस्रोपटक २०७५ पुस मसान्त र तेस्रोपटक २०७६ असार मसान्तसम्मको म्याद दिएको थियो । त्यसपछि बन्ल बीमा कम्पनीहरुले चुक्तापुँजी बढाएका थिए । यसपाली पहिलाको जस्तो सहज रुपमा म्याद थप नगर्ने तर पुँजी नपुर्याउने कम्पनीलाई कारवाही प्राधिकरणको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्